१२ कार्तिक , काठमाण्डौ ।
देशको हालको राजनीतिक अवस्थाबारे साझा समझदारी कायम गर्न आज प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी आन्दोलनका अगुवाबिच त्रिपक्षीय बैठक बस्दै छ ।
प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल र जेनजीका अगुवाहरूलाई एउटै मञ्चमा ल्याएर छलफल गर्ने तयारी गरेकी हुन् । बैठकमार्फत देशमा देखिएको अस्थिरता अन्त्य गर्ने, आगामी निर्वाचन सफल पार्ने र परिवर्तनलाई संस्थागत गर्ने विषयमा साझा दृष्टिकोण खोजिनेछ ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठक आज साँझ ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा जेनजीका तर्फबाट करिब ८–९ समूहका प्रमुख नेताहरूलाई निमन्त्रणा गरिएको बुझिएको छ ।
त्यस्तै, राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेता तथा नीति निर्माता सहभागी हुनेछन् । सरकारको तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री, अर्थमन्त्री, र कानुन मन्त्रीको उपस्थिति रहने अनुमान गरिएको छ ।
बैठकबाट आगामी सङ्क्रमणकालीन सरकारको खाका र चुनावी व्यवस्थाबारे पनि प्रारम्भिक सहमति निकाल्ने तयारी गरिएको बताइएको छ । अर्को तर्फ प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनुवाइ सुरु हुदैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि परेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन बदर, र पुनः स्थापनासम्बन्धी आदेशको माग गर्दै दायर भएका सबै रिट एकै पटक सुनुवाइका लागि पेस गरिएका हुन् ।
यी रिटहरूमा हालकी प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरिएको छ । जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक व्यवस्थामा प्रधानमन्त्रीको अधिकार, संविधानको व्याख्या, र सङ्क्रमणकालीन सरकारको वैधताबारे पनि प्रश्न उठाइएको छ ।
अदालतले प्रारम्भिक सुनुवाइपछि रिटहरूलाई एउटै इजलासमा संयुक्त रूपमा हेर्ने वा अलग–अलग रूपमा सुनुवाइ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । राजनीतिक वृत्तमा आजको सुनुवाइलाई हालको राजनीतिक दिशा निर्धारणमा महत्त्वपूर्ण मानिएको छ ।










