दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

१७ कार्तिक , काठमाण्डौ ।

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले सोमबार साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो ।

विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।

उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विभागले सबैलाई आग्रह गरेको छ । राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले ध्यानाकर्षण गराएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.