२० मंसिर, काठमाण्डौ ।
काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले ११ः१५ मा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दैछन् ।
त्यसैगरि दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ । सुदूरपश्चिम अपराजित टिम हो । ६ खेलबाट १२ अङ्क जोड्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन ।
आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ । विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा खेल्नेछ ।
अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् । दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ ।
दुवै टोलीको छ खेलबाट चार÷चार अङ्क मात्रै रहेको छ । प्रतियोगिताबाट बाहिरिसककेकाले यो खेलमा सम्बन्धित टिमले सुखद नतिजा सहित प्रतियोगिता अन्त गर्ने अवसरका रुपमा मात्र लिन सक्ने छन् ।
प्रतियोगितामा भोली समूहरणको अन्तिम खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने छन् । साविक च्याम्पियन जनकपुरका लागि यो संस्करण विर्सन लायक रह्यो । यो खेल जितेर जनकपुर कम्तिमा अङ्क तालिकाको पुछार छोड्न चाहन्छ ।
यससंगै अब समूहचरणका अन्तिम तीन खेल बाँकी रहँदा ‘प्लेअफ’ पुग्ने सबै ४ टिमको तय भइसकेकाले अन्तिम तीन खेलमा ‘प्लेअफ’ को रोमाञ्चक्ता नहुँदा स्वभाविक रुपमा उत्साह कम हुने छ। विराटनगर आजको खेल जितेर क्वालिफायर पुग्ने ध्याउनमा छ ।
सुदुरपश्चिम भने आफ्नो अपराजित यात्र कायम राख्ने प्रयास गर्ने छ । उसले यसअघिनै क्वालिफायरमा स्थान बनाइसकेको छ । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम र सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगरको खेललाई रोचक रुपमा हेरिएको छ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ ।
मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ । एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ ।
यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ ।










