२६ मंसिर , काठमाण्डौ ।
नेपालमा हुने स्थानीय तहदेखि संघीय संसदको निर्वाचनहरुमा परम्परागत रुपमा बाकसमा मतदान हुँदै आएको अवस्थामा नेकपा (एमाले) ले ११औँ महाधिवेशनको निर्वाचनमा भने विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ ।
भोटिङ मेसिन नेपालकै राम, लक्ष्मण रिमाल दाजु भाइले निर्माण गरेका हुन् । ८० वटा मेसिन प्रयोग गर्ने र १० वटा मेसिन भने ब्याकपका लागि राखिने भएको छ । । यसका लागि एमालेले बिहीबार राम–लक्ष्मण इनोभेसनसँग सम्झौता गरेको छ ।
महाधिवेशनमा देशभरबाट आउने दुई हजारभन्दा बढी प्रतिनिधिहरूको सहजताका लागि ९० ओटा भोटिङ मसिन प्रयोग गर्न लागिएको हो । जसका लागि करिब ५० लाख रुपैयाँ खर्च गर्ने अनुमान छ ।
यो महाधिवेशनले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । विद्युतीय भोटिङ मसिनको प्रयोग गर्दा एक जना प्रतिनिधिलाई मतदान गर्न करिब २० मिनेट लाग्ने अनुमान गरिएको छ ।
यसअघि २०७८ मङ्सिरमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा पनि विद्युतीय भोटिङ मसिनको प्रयोग गरिएको थियो । त्यस समयमा पनि एमालेले ५० लाख रुपैयाँ भाडा तिरेर राम–लक्ष्मण इनोभेसनले उत्पादन गरेका मसिन नै प्रयोग गरेको थियो ।
यस्तै महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने नेताहरूले जानकारी दिएका छन् । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पार्टीले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ५ सय तालिमप्राप्त ड्रेस कोड सहितका स्वयंसेवक खटिने तयारी छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं स्वयंसेवक परिचालक समितिका प्रमुख भानुभक्त ढकालका अनुसार हरेक १० स्वयंसेवक अनुसार एउटा कमान्डर तोकिएको छ । जसले अतिथि, प्रतिनिधि र शुभेच्छुकको व्यवस्थापनमा सहजीकरण गर्नेछन् ।
स्वयंसेवकमा २३ जन वर्गीय सङ्गठनका पदाधिकारी र कार्यकर्तालाई आबद्ध गरिएको छ । जसमा अनेरास्ववियु, महिला सङ्घ, युवा सङ्घ, नेशनल युथ भोलेन्टियर लगायतका सहभागी छन् ।
यो सँगै राज्यका सुरक्षा निकायसँग पनि समन्वय गरिएको नेता ढकालले जानकारी दिए । उनका अनुसार शनिबार हुने सभालाई प्रभावकारी, भव्य र सुरक्षित बनाउन सरकारी निकायसँगको समन्वय चुस्त बनाइएको छ ।
नेता ढकालले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुदेखि सल्लाघारीसम्म आउजाउको सुरक्षा प्रबन्ध समेत मिलाइसकिएको जानकारी दिए । उनले नेशनल युथ भोलेन्टियर, युवा सङ्घ र भूतपूर्व सैनिक प्रहरी सङ्गठनले अध्यक्ष ओलीलाई महाधिवेशन स्थलमा आउँदा र जाँदा अगाडि–पछाडि सुरक्षा दिने बताए ।
पार्टीका शीर्ष नेता–कार्यकर्ता मात्रै नभई, महाधिवेशनको उद्घाटन सत्रमा आमन्त्रित विभिन्न दलका शीर्ष नेता, विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका आमन्त्रित व्यक्ति एवं अन्य आमन्त्रित सदस्यहरूको सुरक्षाको प्रबन्ध समेत गरिएको उनले बताए ।
‘कोही पनि निर्धक्कका साथ कार्यक्रममा सहभागी हुने वातावरण एमालेले बनाएको छ,’ ढकालले भने । महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ भने काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुनेछ ।
एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उठ्ने निश्चित भइसकेको छ भने अन्य पदाधिकारीमा पनि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । सबैभन्दा बढी सचिवका आकांक्षीहरु देखिएका छन् ।










