२९ मंसिर , काठमाण्डौ ।
नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको छ। आइतबार साँझ जारी कार्यतालिकाअनुसार आज बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन, १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ ।
१०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ । बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।
दउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । निर्वाचन कार्यतालिकाअनुसार, पुस १ गते ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
मतदानपछि मतगणना हुनेछ । निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथग्रहण हुने निर्वाचन कार्यतालिका छ।
महाधिवेशनका निम्ति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष प्रतिस्पर्धाका लागि प्यानल निर्माणमा लागेका छन् ।
उमेदवारी छनोटका लागि दुवै पक्ष तयारीमा जुटेका हुन् । अध्यक्ष ओली टिममा हालका उपाध्यक्षत्रय समेटिनेछन् । जसमा उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा बादल र गुरु बरालले ठाउँ पाउनेछन् ।
उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई ओलीले उपाध्यक्षको उमेदवार बनाउने गरी तयारी गरेका छन् । महासचिवमा शंकर पोखरेलकै निरन्तरता हुने लगभग पक्का भएको छ ।
नेताहरू बिष्णु रिमाल, पद्मा अर्याल र रघुवीर महासेठलाई उपमहासचिवको उमेदवार बनाउने गरी छलफलमा भएको ओलीनिकट नेताहरू बताउँछन् । हालका सचिवद्वय छविलाल विश्वकर्मा, लेखराज भट्टलाई निरन्तरता दिने तयारी ओलीको छ ।
बाँकी शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की, ज्वालाकुमारी साह, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यामलाल कँडेल लगायतको नाम सचिव पदका लागि छलफलमा छ ।
उता, वरिष्ठ उपाध्यक्ष पोखरेल समूह पनि उमेदवार छनोटको छलफलमा छ । उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उमेदवारी नदिने घोषणा गरेका छन् । हालका पदाधिकारीमध्ये महासचिवमा सुरेन्द्र पाण्डेको चर्चा छ ।
हालका सचिव गोकर्ण विष्ट उपाध्यक्ष, सचिव योगेश भट्टराई उपमहासचिव बन्ने गरी छलफल भएको नेताहरू बताउँछन् । उपाध्यक्षमा कृष्णगोपाल श्रेष्ठ, विन्दा पाण्डे, परशुमेघी गुरुङ लगायतका नेताहरूको नाम चर्चामा छ ।
सचिवमा ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, अरुण नेपाल, पुरुषोत्तम पौडेल लगायतका नाममा छलफल भइरहेको छ । पोखरेल पक्षमा अधिकांश नयाँ नेताहरूले पदाधिकारीमा उमेदवार बन्ने देखिन्छ ।
आइतबार संशोधित विधानअनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव गरी १९ पदाधिकारी छानिनेछन् । भदौ २०–२२ मा भएको विधान महाधिवेशनमा जसले पदाधिकारीको संख्या घटाउनुपर्ने, कमिटीको आकार छरितो बनाउनुपर्छ भन्ने माग गरेका थिए ।
उनैले घटाउन दबाब दिएका छन् । शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले विधान संशोधनको प्रस्ताव राखे । उनले पदाधिकारीको संख्या १९ बनाउने प्रस्ताव गरेका थिए ।
अध्यक्षमा उमेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले दबाब दिएपछि ओली प्रस्तावबाट ‘ब्याक’ भएका थिए । विधान महाधिवेशनबाट पारित प्रस्ताव संशोधन नगर्ने निर्णय सचिवालय बैठकले गरेको थियो ।
तर, आफ्नै पक्षका नेताहरूको भागबण्डा मिलाउन सकस भएपछि ओलीले दुईदिनपछि नै विधान संशोधन गराएका हुन् । आइतबार बिहान ७ः३० बजेबाट सुरु हुने भनिएको बन्द सत्रको समय सारेर केन्द्र्रीय कमिटी बैठकको अन्तिम बैठक आकस्मिक रूपमा राखियो ।
बैठकमा ओली आफैँले विधान संशोधनको प्रस्ताव राखेका राखेनन् । पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराई, विशाल भट्टराई लगायतले पार्टीमा युवाहरूको सहभागिता, सहमतिका लागि भन्दै विधान गर्नुपर्ने माग रोखका थिए ।
ओली पक्षका नेताले माग राखेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान संशोधनको प्रस्तावमा आपत्ति जनाएका थिए । उपाध्यक्षहरू ज्ञवाली, शाक्य, सचिवहरू भट्टराई, विष्ट, नेताहरू विन्दा पाण्डे, पुरुषोत्तम पौडेल लगायतले विधान संशोधन गर्न नहुने अडान लिए ।
सचिव विष्टले विधान चलाइरहने भए अध्यक्ष र महासचिव मात्रै राखौँ अरु सबै पद हटाऔँ भनेका थिए । तर, उपाध्यक्ष पाण्डे भने बोल्न पाएनन् । पाण्डेले बोल्नका लागि तीनपटक समय माग्दा पनि ओलीले बोल्ने समय दिएका थिएनन् ।
लगत्तै पाण्डेले आइतबार दिउँसो विधान संशोधनको विरोध गर्दै सामाजिक सञ्जालमा मनपरीतन्त्र भन्दै स्टाटस लेखेका थिए ।










