७ पुष , काठमाण्डौ ।
अघिल्लो साता सम्पन्न ११ औं महाधिवेशनमा संस्थापन र इतर समूहका दुई थरी प्यानलबीच हार र जितको टुंगो लागिसकेपछि पनि नेकपा एमालेको समूहगत द्वन्द अझै जारी छ । महाधिवेशनअघिको जस्तै अहिले पनि ओली र पोखरेल समूहबीच सार्वजनिक फोरमहरुमा तथा सामाजिक संजालहरुमा घोचपेच, आरोपप्रत्यारोप र धाकधम्कीका श्रृंखलाहरु चलिनै रहेका छन् ।
यसबीच महाधिवेशन सकिएपछि पनि ईश्वर पोखरेल समूहले छुट्टै भेला आयोजना गरेको थियो । जसमा उपमहासचिव र उपाध्यक्ष जितेका योगेश भट्टराई र गोकर्ण विष्ट पनि सहभागी भए । तर यो कुरा एमालेको संस्थापन पक्षले पटक्कै रुचाएको छैनन् ।
अध्यक्ष केपी शर्मा ओलीले पनि एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई नसोधिकन, अनुमति वा जानकारी समेत नदिकन भेला गरेको भनेर असन्तुष्टि जनाएका छन् । यद्यपि उनले यो उनीहरुले महाधिवेशनपछि पहिलो पटक गरेको र त्यो पार्टीको हितविपरित नभएको हुनसक्ने आफूले ठानेकाले, पहिलो पटकमै अनुशासनको डण्डा नचलाउने तर आइन्दा यस्ता कार्य भने बाँकी नराख्ने चेतावनी दिइसकेका छन् ।
ईश्वर समूहको भेलाले भने पार्टी विभाजनलाई नस्वीकार्ने तर ओलीसामू आत्मसमर्पण नगर्ने चेतावनी दिदै बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । यसलाई लिएर संस्थापन पक्ष आक्रोशित भएको छ ।
यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि एक टेलिभिजन अन्तर्वार्तामा देशको अवस्था यस्तै तरल रहे राजसंस्था फर्किन सक्ने भन्दै दिएको टिप्पणीले पनि ओली समूह आगो भएको छ ।
यी दुवै विषयमा एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् । उनले विद्या भण्डारीको अभिव्यक्ति सुनेर उदेक लागेको बताएका छन् । ज्ञवालीले लेखेका छन्, ‘ पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो ।
आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’ एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपतिले आगामी राजनीतिबारे कुरा गर्दै सम्भावना जे पनि हुनसक्ने बताएकी थिइन् ।
त्यस सन्दर्भमा राजतन्त्र पुनस्र्थापनाको सम्भावना पनि रहनसक्ने अभिव्यक्ति दिएकी थिइन् । यसै अभिव्यक्तिबारे टिप्पणी गरेका नेता ज्ञवालीले यो दृश्यले आँखा बिझाएको बताएका छन् ।
यसका साथै उनले एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई पनि आँखा बिझाउने दृश्यका रुपमा टिप्पणी गरेका छन् । उनले तीन महिनामा तंग्रिएको एमालेको विरासतलाई पनि लोकतन्त्र बहालीमा लगाउनु पर्नेमा पुरानै मुद्दामा जानु अनुचित हुने बताएका छन् ।
‘उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।
एकवर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो–केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न। महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।
अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैँन । तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौँ ।
तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र ऊर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?
पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ? दुई दिनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजसंस्था फर्किन सक्ने अर्थपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।
उनले एक अन्तरवार्तामा राजसंस्था नेपालको एउटा शक्तिकेन्द्रका रूपमा रहेको र भोलि पुनस्र्थापित हुन पनि सक्ने बताएकी छन् । पत्रकार ऋषि धमलालाई दिएको अन्तरवार्तामा भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सद्भाव प्रकट गरिन् ।
उनले भनिन्, ‘जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । उहाँलाई देशप्रति माया छ ।’ उहाँ नेपालको राजा हो । राजपरिवारको वरिष्ठ सदस्य हो । नेपाल एकीकरणको नेतृत्व गर्ने राष्ट्रनिर्माता भनेर पृथ्वीनारायण शाहलाई सम्मान गर्छौँ, उहाँको सन्तति हो । त्यो हिसाबले सम्मान छ । उहाँले राजगद्दी जसरी त्याग गर्नुभो । त्योप्रति पनि मेरो सम्मान छ । जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ गाडी ड्राइभ गरेर श्रीमती लिएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ ।
उनले थप भनिन् ,देश अस्थिर भइरह्यो, पार्टीहरूले कमाण्ड गर्न सकेनन् भने कमाण्ड कसैले न कसैले त गर्नुप¥यो । नेपालको विभिन्न शक्तिकेन्द्रमध्ये एउटा पूर्वराजसंस्था पनि त एउटा हो । पूर्व राजा भने यतिबेला भारत भ्रमणमा रहेका छन् ।




