१९ पुष , काठमाण्डौ ।
शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए ।
उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका छन् ।
घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पु¥याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए ।
उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो ।
जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पु¥याएको थियो । भाग्यवश जहाजका दुवै पँखेटामा कुनै क्षति पुगेन। पँखेटामा इन्धन भण्डारण हुने भएकाले त्यहाँ क्षति नपुग्दा आगलागी हुनबाट जोगिएको र ठूलो दुर्घटना टरेको विमानस्थल स्रोतले जनाएको छ।
दुर्घटनाग्रस्त जहाजका यात्रु अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले अवतरणको क्षण निकै भयावह रहेको बताए। उनले भने, ‘ल्यान्ड गर्दा स्पिड रोकिएन। जहाज उबडखाबड हुँदै पल्टियो। सबै आत्तियौं। अगाडिको एक युवकले दौडिएर आएर ढोका लात्ताले फुटाएपछि हामी त्यहीँबाट हाम फाल्यौं।’
उनका अनुसार पाँचथरका उमेश मोक्तानको साहसिक कदमले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। घटनापछि भद्रपुर विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
दुर्घटनाका कारण काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाज पनि विमानस्थलमै रोकिएको थियो । बुद्ध एयरले घटनालगत्तै विज्ञप्ति जारी गर्दै प्राविधिक टोली भद्रपुर पठाउने तयारी गरेको जनाएको छ । घटनाबारे विस्तृत छानबिन भइरहेको छ।








