२९ पुष , काठमाण्डौ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन अब ५१ दिन बाँकी छ। जसमा समानुपातिकतर्फ पेश गरिएका बन्दसूचीबाट विभिन्न १८ दलबाट १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार विभिन्न राजनीतिक दलका जम्मा १६४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । फिर्ता लिने दलमध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सबैभन्दा बढी ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
लोसपाबाट ११० जनाको बन्दसूची पेश भएकोमा ७० प्रतिशत अर्थात ७८ जना उम्मेदवारले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिनका लागि निवेदन दर्ता गराएको आयोगले जनाएको हो । जम्मा उम्मेदवारी फिर्ता लिएका जम्मा १६४ जनामा लोसपाबाट फिर्ता लिने ७८ जनाको संख्या जम्मा फिर्ता लिनेको झण्डै आधा संख्या हो ।
दोस्रो नम्बरमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट २१ जना उम्मेदवारले बन्दसूचीबाट उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् भने तेस्रोमा जनमत पार्टीबाट २० जना उम्मेदवारले नाम फिर्ताका लागि निवदेन दर्ता गराएका छन् ।
यस्तै नेकपा एमाले बाट ५ जना, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २–२ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन् ।
यस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जना, जनादेश पार्टी नेपाल बाट ६ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ४ जना, राष्ट्र निर्माण दल नेपालबाट ४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनका लागि सोमबारको समय तोकेको थियो । अब निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ता लिएका सम्बन्धित राजनीतिक दललाई जानकारी गराउनेछ ।
त्यसपछि सम्बन्धित राजनीतिक दलले फिर्ता लिएको ठाउँमा अरु उम्मेदवारीको नाम समावेश गर्न पाउनेछ । फिर्ता लिएका कारण रिक्त रहेको ठाउँमा सम्बन्धित राजनीतिक दलले उम्मेदवारको नाम नपठाएमा रिक्त रहनेछ । त्यसपछि निर्वाचन आयोगले माघ ४ गते बन्दसूचीको प्रारम्भिक नामावली सार्वजनिक गर्नेछ ।
बन्द सूचीबाट नाम फिर्ता लिने दलहरुमा :
लोकतान्त्रिक समाजवादी पार्टी – ७८
जनता समाजवादी पार्टी नेपाल – २१
जनमत पार्टी – २०
राष्ट्रिय प्रजातन्त्र पार्टी – १२
जनादेश पार्टी नेपाल – ६
नेकपा (एमाले) – ५
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ४
राष्ट्र निर्माण दल नेपाल – ४
उन्नत लोकतान्त्रिक पार्टी – २
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) – २
नेपाली कांग्रेस – २
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २
गतिशील लोकतान्त्रिक पार्टी – १
नागरिक उन्मुक्ति पार्टी – १
नेपाल जनता पार्टी – १
प्रगतिशील लोकतान्त्रिक पार्टी – १
संघीय लोकतान्त्रिक पार्टी – १
संयुक्त नागरिक पार्टी – १
आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदै छ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची मिलाउनका लागि केहीको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ । अन्तिम सूची सार्वजनिक हुँदा केही संख्या थप हुनसक्ने आयोगले प्रस्ट पारेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । यही १३ र १४ पुसमा बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ ।









