२९ पुष , काठमाण्डौ ।
इरानमा आक्रमणको संकेत गर्दै अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गर्दै तुरुन्तै इरान छाड्न भनेको छ ।
इरानभर विरोध प्रदर्शन तीव्र रूपमा बढिरहेको र यो थप हिंसात्मक हुन सक्ने बताउँदै दूतावासले यसका कारण पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने जोखिम भइकोले फर्किन आग्रह गरेको हो ।
एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई सम्पर्कका वैकल्पिक उपायहरू खोज्न सुझाव दिइएको छ । साथै, यदि सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छाड्ने विकल्पबारे पनि विचार गर्न भनिएको छ ।
इरानमा रहेका अमेरिकी नागरिकहरूलाई जारी गरिएको एडभाइजरीमा भनिएको छ, ‘यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थान खोज्नुहोस् । खाना, पानी, औषधि र अन्य आवश्यक सामग्रीको भण्डारण गरेर राख्नुहोस् । प्रदर्शनहरूबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे सचेत रहनुहोस् ।’
“इरानमा विरोध प्रदर्शन बढ्दै गएको छ । यसले हिंसात्मक रूप लिन सक्छ, जसका कारण गिरफ्तारी र चोटपटक लाग्न सक्छ । सुरक्षा व्यवस्था कडा पारिएको छ,” एडभाइजरीमा भनिएको छ, “सडकहरू बन्द छन्, सार्वजनिक यातायात अवरुद्ध छ र इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ ।”
दूतावासले एयरलाइन्सहरूले इरान आउने–जाने उडानहरू सीमित वा रद्द गरिरहेको जानकारी दिँदै अमेरिकी नागरिकलाई इन्टरनेट अवरोधका लागि तयार रहन र सञ्चारका वैकल्पिक माध्यमहरूको योजना बनाउन आग्रह गरेको छ ।
इरानमा अमेरिकाको कुनै कूटनीतिक उपस्थिति छैन । अमेरिकाका लागि स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निभाउँदै आएको छ । यहाँ अमेरिकी विदेश मन्त्रालयले यूएस भर्चुअल एम्बेसी इरानमार्फत जानकारी उपलब्ध गराउँदै आएको छ ।
इरानमा करिब दुई हप्तादेखि सरकारविरुद्ध प्रदर्शन जारी छ । यसबीचमा इरान सरकारको समर्थनमा पनि ¥यालीहरू निकालिएको । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूको समस्या बढाइदिएका छन् ।
ट्रम्पले भनेका छन्, “इरानसँग व्यापार गर्ने जुनसुकै देशले अमेरिकासँग गरिने सबै प्रकारका व्यापारमा २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ ।” ट्रम्पको यो निर्णयले इरानमाथि दबाब बढ्ने आशंका गरिएको छ ।
इरानमा १५ दिनदेखि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । ट्रम्पले आफ्नो पोस्टमा उक्त शुल्क तत्काल लागु हुने स्पष्ट पारेका छन् । यसअघि, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि इरानलाई अप्रत्यक्ष रूपमा चेतावनी जारी गरेकी थिइन् ।
ह्वाइट हाउसले के दियो चेतावनी ?
अमेरिका र इरानबीच बढ्दो तनावबीच क्यारोलिन लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्पले सधैँ सबै विकल्पहरू खुला राख्नुहुन्छ । कूटनीति उहाँको पहिलो रोजाइ हो, तर आवश्यकता परेमा हवाई सैन्य हमला पनि विकल्पहरूमा सामेल छन् ।”
लेभिटले राष्ट्रपति ट्रम्पले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइन् । लेभिटका अनुसार इरानी शासकले सार्वजनिक मञ्चहरूमा दिइरहेको बयान र भित्री च्यानलहरूबाट अमेरिकी प्रशासनलाई प्राप्त भइरहेका निजी सन्देशहरू फरक छन् ।
ट्रम्प यी निजी सन्देशहरूलाई गम्भीरताका साथ जाँच्न चाहन्छन् र वार्ताको वास्तविक गुञ्जायस छ वा छैन हेर्न चाहन्छन् । इरानले वार्ताको बाटो खुला रहेको बताए पनि सार्वजनिक रूपमा भने इजरायल र अमेरिकाले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै कडा बयान दिइरहेको छ ।
ह्वाइट हाउसकी प्रवक्ताले भनिन्, “ट्रम्प सधैँ पहिले वार्ता र कूटनीतिक बाटोलाई प्राथमिकता दिनुहुन्छ । कुनै पनि टकराव अघि सबै शान्तिपूर्ण विकल्पहरू अपनाइनुपर्छ भन्ने उहाँको विश्वास छ ।” तर, उनले यदि अमेरिकाको सुरक्षा वा हितमा खतरा उत्पन्न भएमा राष्ट्रपति कठोर निर्णय लिन पछि नहट्ने स्पष्ट पारिन् ।
यता इरानी विदेशमन्त्री अब्बास अरागचीले देशभर भइरहेका प्रदर्शनलाई ‘हिंसात्मक र रक्तपातपूर्ण’ बनाइएको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तक्षेप गर्ने वातावरण बनाउन प्रदर्शनलाई हिंसात्मक बनाइएको उनको आरोप छ ।
ट्रम्पको बारम्बारको चेतावनीका बीच विदेशमन्त्री अरागचीले सोमबार आफ्नो देश युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका हुन् । एक दिनअघि मात्र ट्रम्पले इरानी नेतृत्वले वार्ताको इच्छा देखाएको दाबी गरेका थिए ।
तेहरानमा विदेशी राजदूतहरूको सम्मेलनलाई सम्बोधन गर्दै अरागचीले भने, “इस्लामिक रिपब्लिक अफ इरान युद्ध चाहँदैन, तर, युद्धका लागि पूर्ण रूपमा तयार छ ।” उनले इरान वार्ताका लागि पनि राजी रहेको तर वार्ता निष्पक्ष, समान अधिकार र आपसी सम्मानका साथ हुनुपर्ने सर्त राखेका छन् ।
तेहरान र वासिङ्टनबीच सीधा कूटनीतिक सम्बन्ध नभएकाले सन्देश आदानप्रदानका लागि मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र अरागचीबीच एउटा सञ्चारमाध्यम खुला रहेको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले जानकारी दिए ।
समाचार संस्था एपीका अनुसार पछिल्लो दुई हप्तामा भएका प्रदर्शनका क्रममा कम्तीमा ५४४ जनाको मृत्यु भइसकेको छ । अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’का अनुसार मृतकहरूमा ४९६ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी रहेका छन् ।
हालसम्म १० हजार ६०० जनालाई हिरासतमा लिइएको छ । देशका सबै ३१ प्रान्तमा विरोध प्रदर्शनहरू भएका छन् । इरानमा इन्टरनेट र फोन लाइनहरू बन्द गरिएकाले स्वतन्त्र रूपमा मृतकको संख्या पुष्टि गर्न कठिन भइरहेको छ ।
सरकारले पनि हालसम्म कुनै आधिकारिक संख्या सार्वजनिक गरेको छैन । मृतकको संख्या बढ्दै गए पनि विदेशमन्त्री अरागचीले परिस्थिति पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका छन् । सरकारले आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन अपिल गरेको छ ।
देशभर सरकारी समर्थनमा ¥यालीहरू निकाल्ने योजना बनाइरहेको छ । विश्लेषकहरूका अनुसार सर्वोच्च नेताको सत्तामाथि आइलागेको चुनौतीबीच सरकारले शक्ति प्रदर्शनमार्फत आफ्नो वैधानिकता सिद्ध गर्ने प्रयास गरिरहेको छ ।
तर यसबीच तेहरानमा त्रासको वातावरण छाएको छ । राजधानी तेहरानका सडकहरू साँझको नमाजपछि सुनसान हुने गरेका छन् । मानिस सुरक्षाकर्मीको कारबाहीको चपेटामा पर्ने डरले त्रसित छन् । प्रहरीले जनतालाई सन्देश पठाउँदै आफ्ना बालबालिकाको ध्यान राख्न चेतावनी दिएको छ ।
प्यारामिलिट्री रिभोलुसनरी गार्डको गुप्तचर शाखाले पनि अभिभावकहरूलाई सन्देश पठाउँदै लेखेको छ, “प्रिय अभिभावकहरू, सडकमा उपस्थित हुनबाट जोगिनुहोस् र हिंसात्मक भीडमा सामेल नहुनुहोस् । आफ्ना छोराछोरीलाई आतंकवादी भाडाका सैनिकहरूसँगको सहकार्य देशद्रोह हो र यसको परिणाम भयावह हुनसक्छ भन्ने सिकाउनुहोस् ।”
उता अमेरिकाले प्रदर्शनकारीहरुमाथि दमन बढ्दै गए इरानमा आक्रमण गर्ने चेतावनी दिइनै रहेका छन् । अमेरिकाले भर्खरै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनीहरूकै देशबाट उठाएको छ । कराकसमा सैन्य हमला गरेर अमेरिकाले मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्क पु¥याएको थियो ।
ट्रम्पले इरानमा पनि त्यसरी नै सैन्य कारबाही गर्ने सक्ने बारे छलफल भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले त्यसो गरे मध्यपूर्वको क्षेत्रीय सन्तुलन अझै खलबलिने छ ।
इरानले इजराइल र मध्यपूर्वका अन्य देशमा रहेको अमेरिकी सैन्य संरचनामा हमला गर्न सक्नेछ । केही अधिकारीहरूले त्यस्तो चेतावनी पनि दिइसकेका छन् । दोस्रो विकल्प इरानमा गोप्य साइबर हमला, तेस्रो विकल्पमा उसलाई अझै कडा प्रतिबन्ध लगाउने र चौथो विकल्पमा सरकारविरोधी समूहलाई अनलाइन सहयोग गर्ने सम्मका छलफल भएको भनिएको छ ।
ट्रम्पले तीमध्ये तेस्रो विकल्प अहिले कार्यान्वयनमा ल्याएका हुन् । ’यद्यपि हामीसँग धेरै र निकै कडा विकल्पहरू छन्,’ ट्रम्पले एयरफोर्स वानमा पत्रकारहरूसँग भनेका छन् । अमेरिकी सम्भावित हमलालाई लिएर इरान पनि सतर्क रहेको त्यहाँका स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ ।
इरानभित्रै अमेरिका र इजराइलको विरोधमा सोमबार शान्तिपूर्ण ¥याली आह्वान भएको छ । इरानमा डिसेम्बर २८ देखि प्रदर्शन सुरू भएको थियो । प्रदर्शन हिंसात्मक र तीव्र बन्दै गएपछि देशभर इन्टरनेट सेवा अवरूद्ध छ । यसले सूचनाको प्रवाह कठिन बनेको छ।
ट्रम्पले इलन मस्कसँग स्टारलिङ्कमार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्नेबारे छलफल गर्ने बताएको रोयटर्सले लेखेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन् ।
यता अमेरिकाले छिट्टै इरानमाथि हमला गर्न सक्ने अड्कलबाजी सुरु भएको छ । ट्रम्पलाई हालै इरानमाथि सैन्य आक्रमणका विकल्पहरू, जसमा तेहरानका गैर–सैन्य स्थलहरूमा हमला गर्ने विषय समावेश छन्, त्यसबारे ब्रिफिङ दिइएको छ ।
ट्रम्पको इरानप्रतिको कडा चेतावनीले सैन्य कारबाहीको सम्भावना बढाएको छ । तर, इरानमा सैन्य कारबाही गर्नु भेनेजुएला जस्तो सजिलो नहुने विज्ञहरू बताउँछन् । अमेरिकी अधिकारीहरूका अनुसार, प्रदर्शन दबाउन हिंसा प्रयोग गर्ने इरानी सेनालाई निसाना बनाउन सकिन्छ, तर यसले अमेरिकी सैनिकहरूलाई पनि उत्तिकै खतरा हुनेछ ।
अमेरिकाले हमला गरेमा अमेरिकी सैन्य अखडा, जहाज र इजरायलमाथि जवाफी हमला गर्ने इरानले चेतावनी दिएको छ । विज्ञहरूका अनुसार, इरानले कतारमा रहेको अमेरिकी ‘अल उदेद बेस’ र इजरायलमाथि मिसाइल वा इरानसँग ब्यालिस्टिक मिसाइल र हिजबुल्लाह तथा हूती जस्ता प्रोक्सी समूहहरू छन्, जसले क्षेत्रमा अस्थिरता पैदा गर्न सक्छन् ।
मध्यपूर्वमा अमेरिकाका १९ वटा सैन्य अखडाहरू छन्, जो इरानको निसानामा पर्न सक्छन् । विश्वको २० प्रतिशत तेल ढुवानी हुने ‘स्ट्रेट अफ हर्मुज’ इरानले बन्द गरिदिन सक्छ । यसले विश्वभर तेलको मूल्य बढाउनेछ, जसले अमेरिका, इजरायल र भारत लगायतका देशको अर्थतन्त्रमा ठूलो असर पार्नेछ ।
यो युद्धले लाखौँ मानिसको ज्यान जान सक्ने र दोस्रो विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट निम्तिन सक्ने खतरा छ । अमेरिकालाई ट्रिलियन डलरको आर्थिक हानि र दीर्घकालीन अस्थिरताको सामना गर्नुपर्ने हुन सक्छ ।
अमेरिका र इरानबीच कहिल्यै खुला युद्ध नभए पनि केही प्रमुख सैन्य र गुप्त कारबाहीहरू भएका छन् । सन् १९५३ मा सीआईएद्वारा समर्थित ‘कू’ भएको थियो जसले प्रधानमन्त्री मोहम्मद मोसादेकलाई सत्ताच्युत गरेको थियो ।
त्यस्तै, सन् १९८०–८८ मा इरान–इराक युद्धमा अमेरिकाले इराकलाई समर्थन ग¥यो र सन् १९८८ मा भूलवश इरानी यात्रुबाहक विमान खसाल्दा २९० जनाको मृत्यु भएको थियो ।
यसैगरी सन् २०२० मा अमेरिकी ड्रोन हमलामा इरानी जनरल कासिम सुलेमानी मारिएका थिए । सन् २०२५ मा इजरायलसँगको युद्धको हिस्साका रूपमा इरानको परमाणु केन्द्रहरूमा अपरेसन मिडनाइट ह्यामर आक्रमण गरेको थियो ।









