३० पुष , काठमाण्डौ।
सिन्धुलीमा नेपाल एसबीआई बैंकको शाखा लुटिएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखामा मंगलबार साँझमा नकाबधारी समूहले लुटपाट गरेको हो ।
नकाब लगाएर आएको ६–७ जनाको एउटा समूहले बैंकका सुरक्षा गार्डमाथि प्रहार गरी र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
मंगलबार राति यो समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ ।
स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ । यो साँझ ७ बजेतिरको घटना हो । लुटेरा समूहले बैंकमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेका छन् भने अन्य कर्मचारीहरूको हात बाँधेर बैंकभित्रको रकम लुटेका हुन् ।
लुटेरालाई प्रतिवाद गर्न खोज्ने सुरक्षा गार्डको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घ्याङलेख काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम स्थानीय तह हो । यो डकैती घटनाले बैंकिङ क्षेत्रमा ठूलो हलचल मच्चाएको छ ।
बैंकका आन्तरिक स्रोतहरूबाट प्राप्त जानकारीअनुसार, लुटेराहरूले कुल ३ करोड १० लाखबढी रुपैयाँ लुटेर लगेका थिए, जसमा नगदका साथै अन्य मूल्यवान वस्तुहरू पनि समावेश हुन सक्ने अनुमान गरिएको छ ।
यो आँकडा प्रहरीको प्रारम्भिक सूचनासँग मेल खाए पनि, बैंकका भित्री व्यक्तिहरूले यो रकमलाई अझ यथार्थपरक रूपमा पुष्टि गरेका छन्, जसले घटनाको गम्भीरतालाई थप उजागर गरेको छ ।
बैंकका कर्मचारीहरूका अनुसार, लुटपाटको समयमा सुरक्षागार्ड र स्टाफलाई हतियार देखाएर नियन्त्रणमा लिइएको थियो, जसले गर्दा उनीहरूले क्यास काउन्टरबाट ठूलो परिमाणको नगद सजिलै लुट्न सफल भए ।
लुटिएको रकममध्ये एक बोरा नजिकैको जंगलमा फेला परेको हो । डकैतीमा संलग्न समूहले प्रयोग गरेको बिएडी ०३९८ नम्बरको गाडी गाउँपालिकाको वडा नम्बर १ को टुनिभञ्ज्याङबाट बरामद भएको छ, जसमा लुटिएको केही रकम पनि फेला परेको बताइएको छ ।
यो गाडीसँगै एक संदिग्ध व्यक्तिलाई पहिला नियन्त्रणमा लिइएको हो । उनी बैंक लुटपाटमा प्रयोग भएको टाटा सुमो गाडीका चालक भएका बताइएको छ । बाँकी लुटेराहरू जंगलतर्फ भागेकामा ४ जना पक्राउ परेका हुन्, अन्यको पनि खोजीका लागि प्रहरीको विशेष टोली खटिएको छ ।
रोचक त के भने इलाका प्रहरी कार्यालयबाट मात्र २५० मिटर जतिको दूरीमा रहेको बैंक लुटेराहरुले लुट्न सफल भएका थिए । बैंक लुटिएको डेढघण्टापछि मात्र जिल्ला प्रहरी कार्यालयलाई खबर गरिनुलाई कतिपयले शंकास्पद नजरले हेरेका छन् ।
लुटेराहरु चढेर आएको गाडी तथा त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई ती चालकले आफूलाई बिवाहका लागि भन्दै गाडी भाडामा लिएको र बैंक लुट्न प्रयोग गरेको बयान दिएका छन् ।
उनको बयान तथा पूरै घटनाको विषयमा मिहीन अनुसन्धान थालिएको एसपी सुवेदीले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य समेत तीव्र पारिएको छ ।










