रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

२४ जेठ ८३, सोमबार

२५ जेठ , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइराखेको छ । एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताए ।

पार्टी स्थापनाको ४ वर्ष पुग्दै लाग्दा पहिलो पटक जिल्ला अधिवेशन गरेको रास्वपाले कहीं सर्वसम्मत नेतृत्व चयन गर्न सक्यो भने कहीं निर्वाचन भएको छ। केही ठाउँमा भने नेतृत्व चयनकै विषयलाई लिएर झडप समेत भएको देखियो। अझ त्यो पनि रोचक, रास्वपाको केन्द्रीय गुट जिल्ला तहमै देखिएको छ।

Advertisement

रास्वपा प्यूठानको प्रथम जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि दुई समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। बहालवाला जिल्ला सभापति विकास पोख्रेल र माण्डवी गाउँपालिकाका निवर्तमान अध्यक्ष बमबहादुर सुनारको नेतृत्वमा दुई समूहले मनोनयन दर्ता गराए।

   

Advertisement

पोख्रेल पार्टी सभापति रवि लामिछाने र सुनार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह समूहको प्रतिनिधिका रुपमा प्यानल तयार गरेको प्रतिनिधिहरूले बताइरहेका सुनिन्छन्। रास्वपा जिल्ला अधिवेशनमा पद नमिल्दा केही रोचक घटनाहरू पनि भएको देखियो। जस्तो कि, सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल नै भयो।

जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि विवाद सुरु भएको थियो। प्रतिनिधिबाट हटाएको विरोधमा केही युवा धर्नामा बसेका थिए। उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि विवाद भयो। सोही क्रममा दुई पक्षबीच हात हालाहाल भयो।

जिल्ला सभापतिमा सागर दाहाल, मोहन निरौला, चक्रबहादुर विष्ट र कृष्ण रौनियार चुनावी प्रतिस्पर्धामा रहँदा सागर दाहालले बाजी मारे। त्यसैले होला, पूर्वगृहमन्त्री तथा रास्वपा गोरखा १ का सांसद सुधन गुरूङले अधिवेशनहरूमा हानाहान नगर्न आग्रह गरे।

‘दुई–तीन वटा ठाउँमा मैले देखिरहेको छु कि हानाहान परिरहेको छ, त्यो भनेको पुरानो राजनीतिक संस्कार हो, यो कुरालाई हामी तोड्नुपर्नेछ,’ आज गृहजिल्ला गोरखामा उनले भने। अधिवेशनमा महिलाको नेतृत्व नभएको भन्दै प्रश्न उठिरहेका बेला शनिबार भएको अधिवेशनले बर्दियाकी शान्ता बुढा क्षेत्रीलाई रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति बनाएको छ।

कार्यवाहक सभापतिको भूमिका रहेकी बुढा क्षेत्रीले सभापति पदमा १५८ मत प्राप्त गरेकी थिइन्। बुढा क्षेत्रीसँग सभापतिमा प्रतिस्पर्धा गरेका अर्का उम्मेदवार उदयबहादुर खत्रीले ४६ मत ल्याए। संस्थापक सभापति विपीन पौडेलको हृदयघातबाट निधन भएपछि कार्यवाहक सभापतिको भूमिकामा बुढा क्षेत्री थिइन्।

संस्थापक सभापति पौडलको गत साउनमा चेन्नइबाट सिंगापुर पुगेको बेला ह्दयघातबाट निधन भएको थियो। यसक्रममा अर्को घटना कास्कीमा देखियो। त्यहाँ सभापतिमा यदुनाथ अधिकारी १ मतले निर्वाचित भए। अधिकारीले ११५ मत ल्याउँदा प्रतिष्पर्धी एकराज न्यौपानेले ११४ मत पाए। कुल २३३ मत खसेको थियो।

जसमध्ये ४ जनाले कसैलाई पनि मत दिएनन्। बाँकी २९० मत सबै खस्यो। यदुनाथ यसअघि पनि कास्की सभापति थिए। उनी माओवादी, एमालेलगायत पार्टी हुँदै रास्वपाको जिल्ला सभापति चयन भएका थिए। यदुनाथ पोखराका घरजग्गा, पानी, रिसोर्टलगायत चलाइरहेका व्यवसायी हुन्।

रास्वपाको सिन्धुपाल्चोक अधिवेशन भने स्थगित गरिएको छ। रास्वपाले सिन्धुपाल्चोकमा अधिवेशन सुरु भएको र विविध कारणले स्थगित गरेको भनेको छ। स्थगित गर्नु परेको ‘विविध कारण’बारे भने रास्वपाले खुलाएको छैन। यस्तोमा कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षी वीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको जानकारी गराए।

तामाङका अनुसार सभापति पदका लागि पाँच जना आकांक्षी छन्। अधिवेशन गराउनका लागि पार्टीले खटाएका निर्वाचन समितिका सदस्य विरामी परेर काठमाडौं फर्केका थिए। उता, महोत्तरीमा पनि बन्द सत्र निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा सहमतिको प्रयास जारी रहेता पनि विवाद भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द सत्र स्थगित गरिएको छ।

सिराहामा पनि जिल्ला अधिवेशनमा कति प्रतिनिधि सहभागी हुने हो रु टुंगो नलाग्दै अधिवेशन हुन थालेपछि विवाद निम्तिएको छ। १७ वटा पालिकामध्ये ३ वटामा पालिका अधिवेशन विवादका कारण सम्पन्न हुन सकेको छैन। १६४ वटा वडामध्ये १८ वटा वडामा अधिवेशन भएको छैन।

जिल्ला सभापति हरि मैनालीका अनुसार भगवानपुर गाउँपालिकामा विवादका कारण अधिवेशन सम्पन्न हुन सकेन। त्यहाँका प्रतिनिधिहरु सहभागी हुन पाउँदैनन्। यहीकारण विवाद छ। २०० सदस्यतामा ३ जना प्रतिनिधि त्यसमा १ महिला अनिवार्य गरेको छ। २ सय भन्दा बढी सदस्य भएमा थप १ जना र ४ सय भन्दा बढी सदस्य भए ४–५ जना मिलाएर प्रतिनिधि बनाउने गरेको सभापति मैनालीले सुनाए।

जिल्ला अधिवेशन हुँदै गर्दा सभापत रविले लामिछानेले सामाजिक सञ्जालमार्फ सक्षम राजनीतिक शक्ति बन्नका लागि पार्टीलाई अझै फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने बताएका थिए। युगले दिएको अभिभारा पूरा गर्न पछिल्लो जनमतलाई अझै विस्तार गर्न राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउन उनको आग्रह थियो।

पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको र संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु पार्टीको संस्कार रहेको उनले स्मरण गराए। तर कतिपय ठाउँहरूमा सभापति लामिछानेको आग्रह निरर्थक सावित भयो। हुन त नयाँ र सत्तारुढ दल भएकाले रास्वपाप्रति कार्यकर्ताको हानाथाप हुनु स्वाभाविकै हो।

जिल्ला अधिवेशन हुँदैगर्दा केही उदाहरणीय नेतृत्व पनि रास्वपाले उत्पादन गर्न सक्यो। रास्वपा नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भए। प्रतिस्पर्धीलाई झन्डै सात गुणा मतले पछि पार्दै उनी जिल्ला सभापति चुनिए। कुल ३२५ मत खसेकोमध्ये गजुरेलले २५७ मत ल्याएर सभापति निर्वाचित भए।

प्रतिस्पर्धी शरण महतले ३७ र राजु लामिछानेले २८ मत मात्रै पाए। २०५७ सालमा जन्मिएका गजुरेलले २१ वर्षकै उमेरमा जिल्ला कमिटीको तदर्थ नेतृत्व सम्हालेका थिए। २०७९ सालमा पार्टी स्थापना भएकै वर्ष उनले जिल्लाको नेतृत्व गरे। ’त्यति बेला अनुभवको कमी थियो। अहिले रास्वपा बृहत् भइसकेको छ। संघीय संसदका दुवै सिट जितेका छौं। अब यो उपलब्धिलाई स्थानीय तहसम्म लैजान्छौं। स्थानीय तह निर्वाचनमा पार्टीलाई अझ उचाइमा पु¥याउँछौ,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top