२५ जेठ , काठमाण्डौ।
नेपालले एसियन गेम्स छनोटको उपाधिका लागि आज हङकङसँग खेल्दैछ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो । नेपालले भने ओमानलाई ८ विकेटले पाखा लगाएको थियो ।
उक्त खेलमा नेपालको धारिलो बलिङसामु ओमानको ब्याटिङ लाइनअप ध्वस्त भएको थियो र टोली ९४ रनमै समेटिएको थियो । ओमानले दिएको उक्त सामान्य लक्ष्यलाई नेपालले विस्फोटक ब्याटिङ अर्डरले मात्र ९.२ ओभरमा पूरा गरेको थियो । अर्कातर्फ हङकङले सेमिफाइनलमा मलेसियाको चुनौतीलाई ६ विकेटले पन्छाउँदै फइनलमा स्थान सुरक्षित गरेका हो ।
मलेसियाले दिएको ११५ रनको लक्ष्यलाई उसले १० बल बाँकी छँदै सफतापूर्वक पछ्याएको थियो । अब आजको फाइनल खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यी दुईबीचको खेल सवा १२ बजे सिंगापुरमा हँुदैछ ।
खेलमा नेपालको बहुआयामि बलिङ आक्रामक रुपले हङकङलाई सुरुवातमै दबाबमा राख्ने रणनीतिका साथ मैदानमा उत्रनेछ । विशेष गरी नेपालका स्पिनर र पेसरको संयुक्त आक्रमण हङकङका ब्याटरका लागि चुनौतीपूर्ण बन्न सक्छ। यसैगरी पावरप्लेको समयमा नेपालका प्रारम्भिक ब्याटरहरुले आक्रामक सुरुवात गर्ने रणनीति बुन्दा हङकङले भने अनुशासित बलिङ र फिल्डिङमार्फत नेपाललाई रोक्ने प्रयास गर्नेछन् ।
नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन् । जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको छ । दुई खेल नतिजाविहीन सकिएको छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदान उत्रनेछ ।
नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् । अब आज हङकङ र नेपाल अपराजित रुपमा फाइनल पुगेकाले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । दुवै देश यसअघि नै आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि भने छनोट भइसकेका छन् ।
नेपाल र हङकङबीचको क्रिकेट इतिहास निकै रोचक र लामो छ। नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी २० विश्वकपमा हङकङविरुद्ध खेल्दै नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेको थियो । यी दुई टोलीबीचको अन्तिम भेट सन् २०२५ मा हङकङमा नै भएको थियो ।
सो खेल नतिजाबिहिन रुपमा सकिएको थियो । नेपाल र हङकङबीचको नतिजा आएको पछिल्लो खेल सन् २०२४ को एसीसी प्रिमियर कपमा भएको थियो । जहाँ हङकङले नेपाललाई ४ विकेटले स्तब्ध पारेको थियो ।नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा पूरा गरेको थियो ।
उक्त खेलमा नेपालविरुद्ध अंशुमन रथले अविजित ६५ रनको विजयी इनिङ्स खेलेका थिए । अनुभवी ब्याटर अंशुमन अहिले पनि हङकङको टोलीमा छन् र उत्कृष्ट लयमा देखिएका छन् । त्यसैले नेपाली बलरहरूका लागि आज उनलाई सस्तैमा समेट्नु मुख्य चुनौती हुनेछ ।
दुवै टोली उत्तिकै बलिया देखिन्छन् र दुई बीचको विगत हेर्दा पनि कुनै टोलीलाई कमजोर देखाउँदैन । तर, पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको र सेमिफाइनलमा ओमानविरुद्ध सानदार प्रदर्शन गरेको नेपाली टोलीको मनोबल उच्च छ । प्रिमियर कपको हारको बदला लिँदै उपाधि घर भित्र्याउने सुनौलो अवसर आज नेपाललाई छ ।
यदि नेपालले आफ्नो ब्याटिङ र बलिङमा सन्तुलन कायम राख्न सकेमा हङकङलाई पन्छाउँदै उपाधि जित्ने सम्भावना बलियो देखिन्छ । हङकङविरुद्धको खेल दीपेन्द्रको ट्वान्टी २० अन्तर्राष्ट्रिय करियरको १००औं खेल हुनेछ । दीपेन्द्रले सन् २०१८ जुलाई २९ मा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी २० आई खेलेका थिए ।
१०० खेलको आकडा छुदै गर्दा दीपेन्द्र टिम सदस्य, उपकप्तान हुदै हाल नेपाली ट्वान्टी २० टिमको कप्तानसमेत बनिसकेका छन् । उनले खेले ९९ खेलमा ८५ इनिङमा ब्याटिङ गरेर २ हजार २११ रन बनाउँदा ७२ इनिङमा बलिङ गरेर ६२ विकेट लिएका छन् ।
दीपेन्द्रले ८५ इनिङमा ब्याटिङ गर्दा १ पटक मात्र शुन्य रनमा आउट भएका छन् । ट्वान्टी २० मा नेपालका लागि २ हजार रन सहित ५० माथिको विकेट लिने दीपेन्द्र पहिलो क्रिकेटर हुन् । दीपेन्द्र पछि सोमपाल कामीले नेपालका लागि सर्वाधिक ९१ ट्वान्टी आई खेल खेलेका छन् । ट्वान्टी २० मा नेपालका लागि दीपेन्द्र २ हजार रन पूरा गर्ने पहिलो क्रिकेटर हुन् । भर्खरै मात्र ओपनर कुशल भुर्तेलले पनि २ हजार रन पूरा गरेका थिए ।