अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

२७ जेठ , काठमाण्डौ।

Advertisement

इरान र संयुक्त राज्य अमेरिकाबिचको सैन्य तनाव फेरि एकाएक चुलिएर गएको छ । अमेरिकाले इरानका विभिन्न स्थानमा स्ट्राइक गर्दा इरानले पनि बदलास्वरुप सेन्टकमका २१ ठेगानाहरु र अमेरिकी विमानहरुलाई निशाना बनाइरहेको दाबी गरेको छ । इरानले हालै अमेरिकी सैन्य हेलिकप्टर अपाचे खसालेको घटना सार्वजनिक हुन नपाउँदै अर्को अमेरिकी ‘एमक्यू–९ रिपर’ ड्रोन पनि खसालेको दाबी गरेको छ ।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो । सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ । यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू–९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

Advertisement

अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो खबर आएको हो । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानीजहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको थियो ।

सेन्टकमका अनुसार, अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले होर्मुज स्ट्रेट नजिकै रहेका इरानको वायु रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेसन र निगरानी राडार केन्द्रहरूलाई ‘सटीक हतियार’ प्रयोग गरेर निसाना बनाएका थिए। यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले आफ्नो एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी सैन्य कर्मचारीहरू रहेको एयरबेसमा लामो दूरीका र ठोस इन्धनयुक्त मिसाइलहरू प्रहार गरेको घोषणा गरेको छ ।

Advertisement

विज्ञप्तिका अनुसार, आईआरजीसीले आफ्ना मिसाइलहरूले उक्त बेसमा रहेका चारवटा अत्यन्त महत्त्वपूर्ण लक्ष्यहरूलाई सटिक रूपमा नष्ट गरेको दाबी गरेको छ । नष्ट गरिएका लक्ष्यहरूमा एफ–३५ लडाकु विमान राख्ने ह्याङ्गरहरू र एउटा मुख्य कमान्ड तथा नियन्त्रण केन्द्र समावेश छन् ।

आईआरजीसीले यस मिसाइल हमलालाई आफ्नो बृहत् जवाफी कारबाहीको समापनको रूपमा प्रस्तुत गरेको छ । यस बृहत् कारबाहीअन्तर्गत मध्यपूर्व क्षेत्रभरिका विभिन्न अमेरिकी हवाई तथा नौसैनिक अखडाहरूका २१ वटा लक्ष्यहरूमा हमला गरिएको र इरानी हवाई क्षेत्रमा अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको उसको दाबी छ ।

आईआरजीसीले आफ्नो विज्ञप्तिको अन्त्यमा अमेरिकालाई कडा चेतावनी दिँदै भनेको छ– यसपछिका कुनै पनि अमेरिकी सैन्य कारबाहीको ‘निर्णायक र विनाशकारी’ जवाफ दिन आफ्ना सेनाहरू पूर्ण रूपमा तयार छन् र अब थप तनाव बढेमा त्यसको परिणामको सम्पूर्ण जिम्मेवारी वासिङ्टन (अमेरिका) ले लिनुपर्नेछ ।

इरानको राज्य नियन्त्रित सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको आईआरजीसीको विज्ञप्तिअनुसार इरानी सेनाले बहराइनमा तैनाथ अमेरिकी पाँचौँ नौसैनिक फ्लिटका साथै कुवेतको अली अल सालेम सैन्य बेसमा ड्रोन आक्रमण गरेको हो । यसका साथै जोर्डनको अजराकमा रहेको वायुसेनाको अखडालाई लक्षित गरी लामो दुरीको मिसाइल प्रहार गरिएको इरानले जनाएको छ ।

यो भर्खरैको सैन्य टकराव मंगलबार अमेरिकी अपाचे हेलिकप्टर खसालिएको घटनाबाट सुरु भएको हो । सो घटनामा इरानको हात रहेको आरोप लगाउँदै अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा पर्ने इरानको क्युशम टापु र तटीय क्षेत्रका बन्दरगाहहरूमा आक्रमण गरेको थियो ।

अमेरिकी सेनाको सोही आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो ठुलो कदम चालेको हो । अमेरिकी हमलाका कारण इरानको सिरिक सहरमा रहेको एउटा दूरसञ्चार टावरमा क्षति पुगेको र दुईवटा पानीका ट्याङ्की ध्वस्त भएको इरानी पक्षले बताएको छ । आईआरजीसीले आफ्ना सैन्य दस्ताहरू अमेरिकी सेनाको जुनसुकै कदमको ‘निर्णायक’ जवाफ दिन पूर्ण रूपमा तयार अवस्थामा रहेको चेतावनी दिएको छ ।

आगामी दिनमा परिस्थिति अझ बिग्रिएमा र तनाव बढेमा त्यसको सम्पूर्ण जिम्मेवारी वासिङ्टनले लिनुपर्ने इरानको भनाइ छ । यस विषयमा अमेरिकाको तर्फबाट भने अहिलेसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया आइसकेको छैन ।यसैबिच, जोर्डनको सेनाले इरानको तर्फबाट अजराकतर्फ प्रहार गरिएका पाँचवटा मिसाइलहरूलाई आकाशमै सफलतापूर्वक विफल पारिदिएको दाबी गरेको छ ।

जोर्डन सैन्य स्रोतका अनुसार यस सैन्य कारबाहीका क्रममा क्षेप्यास्त्रका टुक्राहरू आकाशबाट खसे पनि मानवीय क्षति वा कुनै भौतिक नोक्सानी भने भएको छैन । इरानको यो आक्रमणसँगै बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य इलाकाहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए ।

कुवेतको सेनाले आफ्नो आकाशमा देखिएका ‘हवाई लक्ष्यहरू’ लाई निस्तेज पार्ने काम भइरहेको बताए पनि यसबारे थप विवरण सार्वजनिक गरेको छैन । यस विषयमा अमेरिकास्थित क्विन्सी इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टका कार्यकारी उपाध्यक्ष त्रिता पार्सीले अल जजिरासँग कुरा गर्दै इरानले अमेरिकी आक्रमणको बदला निकै कडा र तीव्र गतिमा दिन खोजेको विश्लेषण गरेका छन् ।

पार्सीले भने, ‘यदि इरानले यसरी तुरुन्तै जवाफ नदिएको भए अमेरिकाले इरानमाथि जतिबेला पनि सजिलै आक्रमण गर्न सक्छ भन्ने भाष्य स्थापित हुने थियो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top