दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

२७ जेठ , काठमाण्डौ।

२०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा दाजु वीरेन्द्र वीरविक्रम शाहको सम्पूर्ण परिवारसहित १० जनाको हत्या भएको तीन दिन अर्थात् जेठ २२ गते वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह यो देशका राजा बनेका थिए। शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह ६ वर्ष ३५९ दिन राजगद्दीमा बसे।

त्यसमध्ये पहिलो पटक २०५९ साल असोज १८ गतेदेखि २५ गतेसम्म जम्मा ७ दिन यो देशको शासन सत्ता आफ्नो हातमा लिई प्रत्यक्ष शासन गरे भने दोस्रो पटक २०६१ साल माघ १९ गतेदेखि २०६३ साल वैशाख १२ गतेसम्म १ वर्ष ८३ दिन यो देशमा प्रत्यक्ष शासन गरेर २०६५ साल जेठ १५ गते सदाका लागि नेपालबाट शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै नारायणहिटीबाट बाहिरिए ।

वि.सं. १८२५ असोज १३ गतेका दिन पृथ्वीनारायण शाहले तत्कालीन कान्तिपुर अहिलेको काठमाडौं विजय गरेर आधुनिक नेपालको जग बसालेपछि २०५८ साल जेठ १९ गतेको त्यो कालोरात नै नेपालबाट शाहवंशीय राजतन्त्रको जग हल्लिएको मानिन्छ । वि.सं. २०६५ जेठ १५ गतेका दिन ऐतिहासिक संविधानसभाको पहिलो बैठकले नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ घोषणा गरेसँगै २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य भएको थियो।

तत्कालीन राजा ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा बनेका थिए। ६ वर्षभन्दा बढी राजगद्दीमा बस्दा र एक वर्षभन्दा बढी देशको सम्पूर्ण कार्यकारी, कानुनी र सैन्य सत्ता आफ्नो मुठ्ठीमा राख्दा समेत ज्ञानेन्द्र शाहले आफ्नै दाजुको परिवारको हत्यारा पत्ता लगाउने वा सर्वमान्य ठोस छानबिन गर्ने हिम्मत कहिल्यै गरेनन् ।

केवल ७ दिनमा तयार पारिएको तारानाथ रानाभाटको सतही प्रतिवेदनलाई सदर गरेर बस्ने तिनै ज्ञानेन्द्र शाह आज पनि नारायणहिटी फर्कने दाउमा छन्। तर, हिजो सत्ताको केन्द्रमा हुँदा लाचार बनेका ज्ञानेन्द्र र आज बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङको यो अचानक ब्युँतिएको हुटहुटीको साइनो के हो? यसले नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।

नेपालको इतिहासमा शासक र दलहरूको लाचारी र रहस्य लुकाउने प्रवृत्तिको फेरिस्त निकै लामो छ। नारायणहिटी मात्र होइन, अर्को एउटा यस्तै रहस्यमयी र पीडादायी घटना छ— दासढुङ्गा काण्ड। २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा एउटा जिप दुर्घटना हुन्छ। उक्त जिपमा सवार थिए— नेकपा एमालेका तत्कालीन जनप्रिय महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित।

त्रिशूली नदीमा जिप खस्दा दुवै नेताको मृत्यु हुन्छ, तर अचम्मको कुरा, जिपका चालक अमर लामा भने सामान्य घाइते मात्र हुन्छन् ,जसको पछि रहस्यमयी ढंगले हत्या हुन्छ । नेकपा एमालेले आजका दिनसम्म पनि त्यसलाई ‘दुर्घटना’ नभई ‘सुनियोजित हत्या’ भन्दै आएको छ ।

तर, विडम्बना कस्तो छ भने मदन भण्डारीकै लिगेसी र नाम भजाएर नेकपा एमालेका चार–चार जना शीर्ष नेताहरू मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली पटक–पटक यो देशको कार्यकारी प्रधानमन्त्री बने। त्यति मात्र होइन, मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी दुई–दुई पटकसम्म यो देशको सर्वोच्च ओहोदा अर्थात् राष्ट्रपति बनिन्।

तर दासढुङ्गामा भएको दुर्घटनाको वास्तविक सत्यतथ्य अहिलेसम्म लुकाइयो। मदनकी श्रीमती विद्या पहिलो पटक २०७२ साल कात्तिक १२ देखि २०७४ साल फागुन २९ सम्म र दोस्रो पटक २०७४ साल फागुन ३० देखि २०७९ साल फागुन २९ सम्म राष्ट्रको सर्वोच्च पदमा आसिन भइन्। उनलाई पनि आफ्ना श्रीमान्को हत्यारा पत्ता लगाउने जाँगर चलेन।

आफ्नै दलका सर्वमान्य नेता र आफ्नै श्रीमान्को हत्यारा पत्ता लगाउन राष्ट्रपतिको दुई कार्यकाल र एमालेको पटक–पटकको सरकार हुँदा समेत कसैलाई ‘जाँगर’ चलेन। सत्य कुरा कहिल्यै बाहिर आएन। यही ऐतिहासिक लाचारीका बीच, पहिलो पटक जम्मा २७ दिन गृहमन्त्री बनेर शंकास्पद सम्पत्ति सम्बन्ध र राष्ट्रिय मानव अधिकार आयोगको छानबिनको घेरामा परेपछि राजीनामा दिन बाध्य भएका सुधन गुरुङ डेढ महिनापछि पुनः गृह प्रशासनको बागडोर सम्हाल्न आइपुगे।

गुरुङले पदभार ग्रहण गरेकै दिन २०५८ जेठ १९ को नारायणहिटी हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरे। यसले एउटा गम्भीर प्रश्न उब्जाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको यो सरकारका गृहमन्त्रीलाई २५ वर्षपछि यो फाइल खोल्ने हुटहुटी कहाँबाट कसले चलाएको हो? के यसमा प्रधानमन्त्री बालेन्द्र शाहको पनि विशेष चासो र रणनीति लुकेको छ कि छैन?

पछिल्लो समय सडक र सदनमा राजतन्त्रको पक्षमा बढ्दै गएको जनलहरलाई रोक्न र दलहरूको साख बचाउन कतै यो ‘बालेन–सुधन’ को संयुक्त कार्ड त होइन भन्ने आशंका पनि गरिएको छ। १९ जेठ २०५८ को त्यो कालो शुक्रबार राति करिब ९ बजे नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा पारिवारिक जमघट भइरहेका बेला अचानक चलेको गोलीले राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित राजपरिवारका १० जनाको वंशनाश गरेको थियो।

त्यस बेलाको शोकाकुल र त्रसित माहौलका बीच तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले घटनाको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा समिति गठन गरेको थियो, जसमा तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य थिए भने प्रतिपक्षी दलका नेता माधवकुमार नेपालले बस्न अस्वीकार गरेका थिए।

समितिले केवल एक हप्तामा प्रतिवेदन बुझाउँदै युवराज दीपेन्द्रले दुई पेग ह्विस्की र नाम नखुलेको कालो पदार्थ सेवन गरी मातिएको अवस्थामा सबैको हत्या गरेर आफैँलाई गोली हानी आत्महत्या गरेको निष्कर्ष निकाल्यो। तर, वीरेन्द्रका दुई नातिनीबाहेक सबैको हत्या हुनु, र घटनाको दिन पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रकी श्रीमती कोमल (घाइते) र छोरा पारस सुरक्षित रहनुले आम नागरिकको शंकाको केन्द्रमा ज्ञानेन्द्र नै रहे।

बहुसंख्यक जनताले दीपेन्द्रले यसरी आफ्नै मातापिता र भाइबहिनीको क्रूर हत्या गरे भन्ने कुरा पत्याउनै सकेनन्। लामो समय बितिसकेकाले धेरै तथ्यहरू लोप भइसकेका छन्, भौतिक संरचना बदलिएका छन् र कतिपय पात्रहरूको निधन भइसकेको छ। यद्यपि, अपराधशास्त्र र फरेन्सिक विज्ञानको दृष्टिकोणबाट हेर्दा यदि सरकारले लोकप्रियताको सस्तो खेल नखेली दृढ इच्छाशक्ति देखाउने हो भने अनुसन्धानका केही बलिया आधारहरू अझै बाँकी छन्।

यो घटनाको सबैभन्दा ठूलो कानुनी कमजोरी भनेकै मृतकहरूको शव परीक्षण नगरिनु हो। तर, राजा वीरेन्द्रदेखि दीपेन्द्रसम्म सबैको उपचार सैनिक अस्पताल छाउनीमा भएकाले त्यहाँ चिकित्सकहरूले निश्चित रूपमा मेडिकल रिपोर्ट र घाउ–चोटको स्थिति तयार पारेका थिए। ती रिपोर्टहरू सुरक्षित फेला परेको खण्डमा आधुनिक चिकित्सकीय फरेन्सिक विज्ञहरूको टोलीबाट त्यसको विश्लेषण गराई अकाट्य प्रमाण संकलन गर्न सकिने बाटो खुला छ।

ज्ञानेन्द्र राजा भएपछि मूल घटनास्थल ‘त्रिभुवन सदन’ भत्काउन लगाए, जसको कारण भौतिक प्रमाण नष्ट भयो (यद्यपि पछि सरकारले यसको पुनर्निर्माण ग¥यो)। तर, तत्कालीन समयमा छानबिन समितिका लागि नेपाल प्रहरीका फरेन्सिक फोटोग्राफर शेरबहादुर कार्कीले घटनास्थलको विस्तृत भिडियो र तस्बिरहरू खिचेका थिए। भुइँभरिको रगत र गोलीका खोकाहरूको त्यो बीभत्स दृश्य अझै पनि आफ्नो स्मृतिमा ऐंठन बन्ने कार्की बताउँछन्।

चार दिनसम्म खिचिएका ती तस्बिर र भिडियोका रिलहरू तत्कालीन सदस्य तारानाथ रानाभाटले बुझेका थिए। ब्यालेस्टिक विज्ञ प्रकाशजंग कार्की र फिंगरप्रिन्ट टोलीले संकलन गरेका ती सामग्रीहरू राज्यको अभिलेखमा सुरक्षित भएमा आधुनिक डिजिटल प्रविधिबाट तिनको पुनरावलोकन सम्भव छ।

प्रतिवेदन अनुसार घटनास्थलमा प्रयोग भएका हतियारहरू फेला परेका थिए। तत्कालीन समितिले औँठाछापको ‘रिज क्यारेक्टरिस्टिक्स’ स्पष्ट नभएको भन्दै जसरी विषयलाई टा¥यो, आधुनिक फरेन्सिक ल्याबमा ती हतियार र खोकाको पुनः ब्यालेस्टिक जाँच गर्ने हो भने सत्यको नजिक पुग्न सकिन्छ।

घटनाका प्रत्यक्षदर्शी, उपचारमा संलग्न चिकित्सक, सुरक्षाकर्मी र शाही नातेदारहरूमध्ये अधिकांश अझै जीवितै छन्। यी सबै जीवित पात्रहरूसँग पूरक प्रश्नहरू तयार पारी पुनः बयान लिने बलियो कानुनी आधार सरकारसँग छ। यो अनुसन्धानको सबैभन्दा जटिल मोड भनेकै यसको दायरामा आउने पात्रहरू हुन्।

दरबार हत्याकाण्डलाई धेरैले नेपालको राजतन्त्र अन्त्य गर्न रचिएको देशी–विदेशी शक्तिको खेल र वंशनाशको जगमा दरबारभित्रकै संलग्नताको पाटोलाई पनि औँल्याएका छन्। यसका लागि सरकारले हिम्मत गर्न सक्नुपर्छ। दोस्रो घेरामा नेपाली सेना आउँछ। दुई हजारभन्दा बढी अत्याधुनिक सैनिकको कडा सुरक्षा घेराभित्र रहेको नारायणहिटीभित्र राजपरिवारको कत्लेआम हुँदा सेनाको कमाण्ड र भूमिका के थियो भन्ने प्रश्नको जवाफ सेनाले दिनुपर्ने हुन्छ।

त्यसबाहेक, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (दिवंगत) र तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेल (हाल राष्ट्रपति) को भूमिका पनि स्वाभाविक रूपमा जोडिएर आउँछ। अन्य पात्रहरू समेत अहिले जीवित छन्, त्यसतर्फ अनुसन्धान बढाउन सक्नुपर्छ।“२५ वर्षपछि दरबार हत्याकाण्डको किन अनुसन्धान गर्ने कुरा आयो? यो ख्यालख्यालमा गर्ने कुरा होइन। त्यो कुरा आम नागरिकलाई सरकारले भन्नुपर्छ, अँध्यारोमा राखेर अनुसन्धान गर्न मिल्दैन। नागरिकलाई अलमल्याउने, हल्लाखल्ला गर्ने वा विषयान्तर गर्ने रणनीतिमा यो छानबिन ल्याइएको हो भने यसले गम्भीर खतरा निम्त्याउँछ।” यसतर्फ गृहमन्त्री र सरकार सचेत हुनु आवश्यक छ।

नारायणहिटी दरबार हत्याकाण्ड नेपालको इतिहासको यस्तो ‘टर्निङ प्वाइन्ट’ हो, जसले २५० वर्ष पुरानो राजतन्त्रको अन्त्य र गणतन्त्रको जग बसाल्यो। २५ वर्षपछि नयाँ राजनीतिक संरचना र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारका गृहमन्त्री सुधन गुरुङले यसको अनुसन्धान ब्युँताउने निर्णय गर्नुले देशमा नयाँ तरंग त ल्याएको छ, तर पूर्वतयारी बिनाको ‘लोकरिझ्याइँ’ शैलीले यसको निष्पक्षतामाथि कतिपयले शंका गर्न थालेका छन् ।

यदि सरकारले वीरेन्द्रको नारायणहिटी काण्डलाई केवल सेन्टिमेन्ट बटुल्ने ‘पपुलिस्ट कार्ड’ मात्र बनाउने हो भने यसले जनताको आक्रोशलाई झन् बढाउनेछ। के बालेन शाह र सुधन गुरुङ इतिहासको यो सबैभन्दा ठूलो रहस्यको पर्दाफास गरेर नयाँ इतिहास रच्न तयार भएका हुन् त ? यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top