१२ असार, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले पदाधिकारी पदहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ ।
पदाधिकारीमा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचन भएकाले अब उपसभापति महिला, महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा ८ जनाको उम्मेदवारी परेको छ । २ महामन्त्री पदमध्ये खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने एक महामन्त्री पदमा ८ जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन आयोगले जारी गरेको पदाधिकारीको उम्मेदवारी सूची अनुसार, महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यको उम्मेदवारी परेको छ । यसअघि कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए ।
त्यस्तै, ३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।
महिलातर्फ जुली यादव, जमुना शर्मा(विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ । एक महिला उपसभापतिमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सोविता गौतम र तोसिमा कार्कीले महिला उपसभापतिमा प्रतिस्पर्धा गरेका छन् । अन्य आकांक्षीहरु पछि हटेपछि द्वीपक्षीय भिडन्त निश्चित भएको हो ।
महिला उपसभापतिका लागि इन्दिरा रानामगर र समीक्षा बास्कोटाले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरुले ब्याक भएको बुझिएको छ । उनीहरुले सोवितालाई समर्थन गर्ने स्रोतले दावी छ। तोसिमा र सोविताले पछि नहट्ने अडान लिएपछि निर्वाचन गर्नुपर्ने भएको हो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री दौडबाट कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल र जगदीश खरेल पछि हटेका थिए । रास्वपामा एक मात्र महामन्त्री निर्वाचनबाट छानिने व्यवस्था छ । शिशिर खनालपनि महामन्त्रीको दाबीबाट पछि हटेका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै परराष्ट्रमन्त्री समेत रहेका खनालले आफू पार्टीको महामन्त्री पदको दाबीबाट पछि हटेको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘सहमतिको चाहना लाई सम्मान गर्दै ,पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु । यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’
उनले पार्टीलाई थप सशक्त बनाउन आफूले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हटेको जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज मतदान हुने भएको छ । निर्वाचन आयोगले दिउँसो १ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रकाशित कार्यतालिका अुनसार, मतदान सकिएलगत्तै मतगणना गरिने छ र मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गरिने छ । पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो ।




