१८ असार , काठमाण्डौ।
भेनेजुएलामा विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको छ । भूकम्पमा परी हालसम्म २ हजार २९५ जनाले ज्यान गुमाएका छन् भने ११ हजारभन्दा बढी मानिसहरू घाइते भएका छन् । यसैबीच, उद्धारका लागि मेक्सिकोको प्रख्यात उद्धार टोली टोपोस सहयोगका लागि भेनेजुएला पुग्दैछ ।
यो टोली भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार गर्ने कार्यमा आफ्नो विशेषज्ञताका लागि परिचित छ । सन् १९८५ मा मेक्सिकोमा गएको विनाशकारी भूकम्पपछि टोपोसको स्थापना भएको थियो । टोपोसका सदस्यहरुले उद्धारको क्रममा भग्नावशेषमुनिबाट आउने अति मन्द आवाज पत्ता लगाउन थर्मल क्यामेरा र संवेदनशील माइक्रोफोनजस्ता आधुनिक उपकरणहरूको प्रयोग गर्छन् ।
भूकम्प गएको करिब एक हप्ता बितिसक्दा पनि भेनेजुएलाको अवस्था अझै पनि दयनीय छ । यहाँको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित छ । यहाँको धेरै ठूला व्यावसायिक भवनहरू र घरहरू भग्नावशेषमा परिणत भएको छ । अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजीमा दिनरात खटिरहेका छन् ।
भेनेजुएलामा गत बुधबार गएको भूकम्पमा परेर च्यापिएका एक तीन वर्षका बालकको छ दिनपछि सकुसल उद्धार गरिएको छ । बेलायती विश्व समाचार च्यानल बीबीसीका अनुसार भेनेजुएलाका ला गुएरा राज्यबाट ती बालकको उद्धार गरिएको हो । अन्तरिम राष्ट्रपति डुल्सी रोद्रिगेजले बालक उद्धारको घटनाले आशाको किरण जोगाएको बताएकी छिन् ।
भेनेजुएलाको ला गुएरा राज्यस्थित प्रयोगविहीन कक्षाकोठामा स्थापना गरिएको कमान्ड सेन्टर अहिले अत्यन्त व्यस्त छ। रेडियो उपकरणहरू निरन्तर सक्रिय भइरहेका छन् भने स्वास्थ्यकर्मीहरू आफ्नो दैनिक जिम्मेवारीका लागि उपस्थित भइरहेका छन्।
हेर्दा सैन्य ब्यारेकमा वरिष्ठ अधिकारीहरूको नेतृत्वमा सञ्चालन भइरहेको संरचनाजस्तो देखिए पनि यो व्यवस्थापन वास्तवमा गत साता गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकहरूका लागि स्थानीय ‘रिपब्लिक अफ पनामा’ विद्यालयमा सञ्चालन गरिएको अस्थायी आश्रयस्थलको हो।
यसको नेतृत्व भने २० देखि २७ वर्ष उमेर समूहका युवाहरूले गरिरहेका छन्। यी युवाहरूको जिम्मेवारी ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पबाट प्रभावित नागरिकहरूको व्यवस्थापन गर्नु हो। एक मिनेटभन्दा कम अन्तरमा आएका ती भूकम्पका कारण हालसम्म २२ सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
करिब एक दर्जन स्वयंसेवकहरू, जो भेनेजुएलाको समाजवादी पार्टीको युवा संगठनसँग आबद्ध छन्, उनीहरूले आश्रयस्थलमा बसोबास गरिरहेका व्यक्तिहरूको विवरण अभिलेखीकरण गर्न विशेष सफ्टवेयरसमेत विकास गरेका छन्। आश्रयस्थलमा रहेका अधिकांश व्यक्तिहरूले भूकम्पका कारण आफ्ना आफन्त, घर वा दुवै गुमाएका छन्।
यी स्वयंसेवकहरू आफैं पनि भूकम्पपछि घरविहीन बनेका छन्। उनीहरूले २४ घण्टा पालैपालो काम गर्ने व्यवस्था गरेका छन् र आश्रयस्थलमा रहेका अन्य पीडितहरूझैँ वाणिज्य मन्त्रालयले उपलब्ध गराएका धातुका ओछ्यानमा बस्दै आएका छन्।
यस आश्रयस्थलमा बसिरहेका ३ सय ५० भन्दा बढी व्यक्तिको विस्तृत विवरण दर्ता गरिएको छ। विद्यालयका प्रत्येक कक्षाकोठामा औसतमा तीन परिवार बसिरहेका छन्। विकसित सफ्टवेयरमार्फत उनीहरूको अघिल्लो ठेगाना, स्वास्थ्य अवस्था, चोटपटकको विवरण तथा कसले खाना खाइसकेको छ वा छैन भन्ने जानकारीसमेत राखिएको छ।
२५ वर्षीय स्वयंसेवक ड्यानियल रिभासले भने, “हामी टाइटानिक जहाजजस्तै हौं। जहाज डुबे हामी पनि त्यससँगै डुब्छौं।” उनले यो भनिरहँदा उनका सहकर्मीहरू विद्यालयको प्रवेशद्वारमा आफ्ना आफन्त खोजिरहेका व्यक्तिका लागि अभिलेखमा हराइरहेका व्यक्तिहरूको विवरण खोजिरहेका थिए।
आश्रयस्थलमा बस्ने नागरिकहरूका लागि स्नानगृह, स्वास्थ्य केन्द्र, कपडा धुने सुविधा र भोजनालयको व्यवस्था गरिएको छ। बालबालिकाहरू विद्यालयको भ¥याङ र बास्केटबल मैदानमा खेलिरहेका देखिन्छन्। ला गुएरा राज्यमा स्थापना गरिएका नौवटा अस्थायी आश्रयस्थल फरक–फरक टोलीहरूले सञ्चालन गरिरहेका छन्।
सरकारी तथ्यांकअनुसार गत साताको भूकम्पमा हालसम्म २ हजार २ सय ९५ जनाको मृत्यु भएको छ। यद्यपि, गैरसरकारी तथा अनौपचारिक रूपमा प्रयोग भइरहेको बेपत्ता व्यक्तिहरूको सूचीमा ४० हजार ५ सय ६७ जना रहेका छन्। यसैबीच, संयुक्त राष्ट्रसंघका एक विशेष दूतले भेनेजुएलाका लागि १० हजार शव राख्ने झोला खरिद प्रक्रियामा रहेको जानकारी दिएका छन्, जसले मृतकको वास्तविक संख्या अझै धेरै हुन सक्ने संकेत गरेको छ।
प्रभावित नागरिकहरूले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजको सरकारमाथि उद्धार तथा राहत कार्य ढिलो र अपर्याप्त भएको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले पनि जारी गरेको वक्तव्यमा “हाल सञ्चालन भइरहेको राहत तथा उद्धार कार्य मानवीय आवश्यकताको स्तरअनुसार पर्याप्त नरहेको” जनाएको छ।
राष्ट्रपति रोड्रिग्वेजले सामाजिक सञ्जाल एक्समार्फत सरकार प्रभावित नागरिकहरूको सहयोग तथा पुनःस्थापना कार्यमा निरन्तर सक्रिय रहेको बताएकी छन्। उनले लेखेकी छन्, “मलाई थाहा छ, धेरै भेनेजुएली नागरिक पीडा र निराशाबाट गुज्रिरहेका छन्। म उनीहरूको भावनालाई गहिरो रूपमा महसुस गर्छु।”




