२५ असार, काठमाण्डौ ।
अली खामेनीसहित इरानका शीर्ष नेताहरुलाई बमबारीमा एकै पटक सिध्याएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, अहिले भने आफ्नो सुरक्षालाई लिएर त्रासमा देखिएका छन् । उनले आफ्नो जीवन हरेक क्षण खतरामा रहेको बताएका छन् । इरानबाट आफ्नो ज्यान खतरामा रहेको उनको भनाइ छ ।
एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष स्थानमा रहेको दाबी गरे । वास्तवमा पत्रकारहरूलाई उडानको समयमा झ्यालको पर्दा बन्द राख्न भनिएको थियो । यसबारे सोध्दा ट्रम्पले भने, ‘यो खतरनाक उडान हुन सक्छ ।
यी इरानीहरू खतरनाक मानिसहरू हुन् । म सधैं खतरामा हुन्छु । मेरो नाम उनीहरूको सूचीको शीर्षमा छ।’ ट्रम्पले पत्रकारहरूलाई ठट्टा गर्दै भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि हुन्छ । सायद कुनै दिन तपाईंले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।’
यता गएराति मात्र अमेरिकाले शान्ति सम्झौता भएयता इरानमा लगातार दोस्रोपटक हवाई हमला गरेको छ । ट्रम्पले भनेलगत्तै अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानमा हवाई हमला गरेको हो । इरानका कोनारक र चाबहारलगायत धेरै सहरमा अमेरिकी सैन्य हवाई आक्रमण जारी छ ।
इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानको इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तका उपगभर्नर र इरानसहरका गभर्नरले स्थानीय समयअनुसार बुधबार राति १२ः३० बजेतिर सहरभरि चारवटा ठुला विस्फोट सुनिएको बताएका छन् ।
इरानको एकमात्र समुद्री बन्दरगाह र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार केन्द्र सञ्चालन गर्ने चाबहार फ्रि जोन अर्गनाइजेसनका प्रमुखले चाबहारका क्षेत्रमा अमेरिकाको आक्रमणपछि अधिकारीहरूले गोदामका सवारीसाधन हटाउन थालेको बताएका छन् ।
मध्यरातसम्ममा गोदामबाट लगभग ३०० सवारीसाधन हटाइएका छन् । बाँकी १०० सवारीसाधन हटाउने यो बिहानसम्म जारी रहने बताइएको छ । यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डामा हवाई आक्रमण गरेको थियो । अमेरिकी केन्द्रीय कमान्ड ९सेन्टकम० का अनुसार होर्मुज स्ट्रेटमा जहाजहरूमा भएको आक्रमणको बदलामा यो हमला गरिएको हो ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनका क्रममा बुधबार राति इरानविरुद्ध अर्को ठुलो आक्रमण गरिने बताएका थिए । यसअघि उनले द्वन्द्व अन्त्यका लागि इरानसँग गरिएको समझदारी ‘समाप्त’ भएको घोषणा गरेका थिए । नयाँ आक्रमणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यो हिजो इरानले होर्मुज जलडमरूमा जहाजहरूलाई बम प्रहार गरेको बदलास्वरूप गरिएको हो । यदि यस्तो फेरि भयो भने त्यसको परिणाम अझ भयावह हुनेछ ।’
इरानले तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन । तर यसअघि वरिष्ठ इरानी अधिकारीहरूले अमेरिकाबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल जवाफी कारबाही’ गरिने चेतावनी दिएका थिए । अमेरिकी सेनाको केन्द्रीय कमान्ड ९सेन्टकम० ले जारी गरेको विज्ञप्तिमा यी आक्रमणहरू ‘होर्मुज जलडमरूमा स्वतन्त्र जलयात्रामाथि खतरा उत्पन्न गर्ने तेहरानको क्षमता थप कमजोर बनाउन’ गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महत्त्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र रूपमा आवतजावत गरिरहेका व्यावसायिक जहाज र नागरिक चालक दलमाथि हालै इरानले गरेको अनुचित आक्रामक गतिविधिको जिम्मेवारी अमेरिकाले इरानलाई वहन गराइरहेको छ ।’
इरानी सरकारी टेलिभिजनका अनुसार बन्दर अब्बासमा आठ वटा विस्फोट भएका छन् । साथै सिरिक र जास्क बन्दरगाहमा दुई–दुई वटा क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ । त्यसैगरी, अबु मुसा टापुमा पनि दुई वटा प्रक्षेप्यास्त्र खसेको बताइएको छ । उक्त टापुको स्वामित्वलाई लिएर लामो समयदेखि इरान र संयुक्त अरब इमिरेट्सबीच विवाद रहँदै आएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ । अमेरिकी आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन । यद्यपि इरानी सञ्चारमाध्यमहरूले चाबहारमा विद्युत् आपूर्ति अवरुद्ध भएको तथा बुशेहरस्थित इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को एक ब्यारेकमा आगलागी भएको बताएका छन् ।
इरानी विद्यार्थी समाचार एजेन्सीका अनुसार चाबहारमा काटिएका तीनमध्ये दुई वटा विद्युत् प्रसारण लाइन छिट्टै पुनः सञ्चालनमा आएका छन् भने तेस्रो लाइन पनि चाँडै सञ्चालनमा आउनेछ । यसअघि मंगलबारको आक्रमणको इरानले पनि जवाफ फर्र्काएको थियो । उसले यसक्षेत्रमा रहेका अमेरिकाका ८५ वटा सैन्य ठेगानामा क्षति पुर्याइएको दाबी गरेकोे छ ।
अब बुधबारको यो नयाँ हमलाको पनि इरानले जवाफ दिने सम्भावना छ । यता बुधबार साँझ एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले ‘केहीबेरअघि मात्रै सम्पर्क गरेर अत्यन्तै आतुरताका साथ सम्झौता गर्न चाहेको’ बताएका थिए । उनले भने, ‘मलाई थाहा छैन उनीहरू सम्झौता गर्न योग्य छन् कि छैनन् ।
उनीहरूले सम्झौताको पालना गर्छन् कि गर्दैनन् भन्ने नै मुख्य समस्या हो ।’ मंगलबार भने अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यमा तीन वटा तेल ट्यांकरमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप ‘शक्तिशाली’ हवाई आक्रमण गरेको जनाएको थियो । त्यसको जवाफमा बुधबार इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको थियो ।
जुन १७ मा अमेरिका र इरानबीच समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर भएपछि मंगलबारदेखि बुधबारसम्म भएको यो आक्रमण–प्रत्याक्रमण दुवै देशबीचको सबैभन्दा गम्भीर सैन्य भिडन्त मानिएको छ । अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारी पत्रमा ६० दिनको युद्धविराम, त्यस अवधिमा वार्तालाई निरन्तरता दिने, होर्मुज जलडमरूमध्यबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा अमेरिकाले इरानमाथिका प्रतिबन्ध हटाउने विषय समावेश थिए।
वार्ताका लागि तय गरिएको ६० दिने अवधि अझै समाप्त भएको छैन । तर ट्रम्पले थप वार्तालाई ‘समयको बर्बादी’ भएको टिप्पणी गरिसकेका छन् । समझदारी पत्रमा हस्ताक्षर भएयता पनि यो पहिलो सैन्य कारबाही भने होइन । जुन २६ मा होर्मुज जलडमरूमध्यमा इरानी प्रक्षेप्यास्त्रले एउटा मालवाहक जहाजमा प्रहार गरेपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको थियो ।
त्यसपछि जुन २७ मा एउटा तेल ट्यांकरमाथिको आक्रमणपछि अमेरिकाले पुनः हवाई कारबाही गरेको थियो । यद्यपि त्यसै महिनाको अन्त्यतिर दुवै पक्ष तनाव कम गर्न सहमत भएका थिए । तर अहिले भने तनाव चुलिएको हो । यसैबीच अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले भने ट्रम्पको यस कदमबारे टिप्पणी गर्दै भनेका छन्, “इरानसँगको यो लापरवाह युद्धलाई पुनः ब्युँताउँदा अमेरिका बलियो हुनेछैन । यसले थप ज्यान लिनेछ र करदाताहरूको पैसा मात्र बर्बाद गर्नेछ।”
एक्समा एक पोस्ट थप्दै स्यान्डर्सले भने, “झुटको जगमा अमेरिकालाई युद्धमा होमेपछि, ट्रम्पले एक महिनाभन्दा कम समयमै इरानसँगको युद्धविराम ‘सकिएको’ घोषणा गरेका छन्।” उता यसअघि अंकारामा आयोजित नेटो शिखर सम्मेलनमा ट्रम्पले अमेरिकाले “सायद आज राति पनि इरानमाथि कडा प्रहार गर्ने” बताएका थिए, र पछि थपे कि यी पछिल्ला आक्रमणहरू “दीर्घकालीन” सैन्य कारबाहीमा परिणत हुने छैनन्।
“जे हुनु छ, त्यो निकै तीव्र गतिमा हुनेछ,” ट्रम्पले भने, यद्यपि उनले अमेरिकी सेनाले “यो काम पूर्ण रूपमा सिध्याउन” सक्ने संकेत पनि गरेका थिए । “उनीहरूले निकै नराम्रो व्यवहार गरिरहेका छन्,” उनले इरानमाथि जहाजहरूमा ड्रोन र मिसाइल प्रहार गरेको आरोप लगाउँदै भने ।
यता युद्धको स्थायी अन्त्यका लागि भइरहेको वार्ताका प्रमुख वार्ताकार एवं इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले एक्समा लेखेका छन्, “धम्की र जबर्जस्ती असुलीको युग अब सकिएको छ। यसले कतै पु¥याउँदैन। हामी झुक्ने छैनौँ।”




