२५ असार, काठमाण्डौ ।
काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रमले अनेकौं प्रश्नहरु उठाएको छ । चीनका लागि पूर्वराजदूतहरुदेखि दलका नेताहरुसम्मले यसबारेमा आशंकासहित प्रश्नहरु गरेका छन् । यस्तै सरकारको ध्यानाकर्षण र खबरदारी पनि गरेका छन् । यस सन्दर्भमा चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर गम्भीर आपत्ति जनाएका छन् ।
एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सात जना पूर्व राजदूतहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
पूर्व राजदूतहरू राजेशवर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालले सधैँ दृढतापूर्वक पालना गर्दै आएको ’एक चीन नीति’ विपरीत यस्ता गतिविधि हुनु निन्दनीय रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने र गर्न नदिने प्रतिबद्धता परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणमा समेत दोहो¥याइएको थियो। के अहिले त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौँ?“
पूर्व राजदूतहरूले यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपाल र चीनबीचको दौत्य सम्बन्ध र नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्। यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत धक्का पुग्ने उनीहरूको ठहर छ ।
नेपाल सरकार र सरोकारवाला निकायहरूलाई सचेत रहन अपिल गर्दै विज्ञप्तिमा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइएको छ । यता नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै आएको दाबी गरेका छन् ।
उनले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि चलिरहेको उल्लेख गरेका छन् । उनले केही दिनअघि नेपालमा पहिलोपटक सरकारी औपचारिक अनुमतिमा दलाई लामाको जन्मोत्सव समारोहपूर्वक मनाइएको र उक्त कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको समेत सहभागिता रहेको सार्वजनिक भएको उल्लेख गर्दै त्यसलाई सामान्य घटना मान्न नसकिने बताएका छन् ।
श्रेष्ठका अनुसार यस्ता घटनाले वर्तमान सरकार नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट विचलित हुँदै कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशातर्फ अग्रसर भएको आशंकालाई बल पु¥याएको छ । उनले नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित राखेर व्यवहारमा त्यसबाट विचलन गरिए नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनता गम्भीर जोखिममा पर्ने चेतावनी दिएका छन् ।
श्रेष्ठले देशभक्त नेपाली जनताले यस्तो अवस्था स्वीकार नगर्ने र त्यसको सशक्त प्रतिरोध हुने दाबी गर्दै सरकारले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पनि नेपालको इतिहासमै पहिलो पटक दलाई लामा सम्बन्धी गतिविधि गर्न बालेन शाह सरकारले अनुमति दिएर निर्लज्जता प्रकट गरेको बताएका छन् ।
नेता खनालले प्रेस नोट जारी गर्दै नेपालको स्थापित एक चीन नीतिका विरुद्ध चीनबाट सन् १९५९ मै भागेर विदेशमा शरण लिएर बसेका पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन बालेन्द्र सरकारले अनुमति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘स्वयम्भु स्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा उक्त आयोजना गर्न दिएर नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भए देखिको सुमधुर सम्बन्धलाई खलबल्याउने राष्ट्रहित विरोधी काम गरेको छ’, पूर्व प्रधानमन्त्री खनालले भनेका छन् ।
साथै उनले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतको समेत उपस्थिति हुनु अत्यन्त गम्भीर र आपत्तिजनक भनेका छन् ।
‘पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्री षडयन्त्रमा लागिरहेका छन् भन्ने कुरामा हामी अनविज्ञ छैनौँ’, खनालले भनेका छन्, ‘नेपाली भूमिमा आएर हाम्रो भूमि छिमेकीहरुकाविरुद्व कसैलाई पनि प्रयोग गर्ने अधिकार छैन ।
बालेन सरकारको यो राष्ट्रहित विरोधी र साम्राज्यवाद परस्त नीतिलाई सम्पुर्ण नेपाली जनता कडा शब्दमा विरोध गर्दछन् ।’ आम नेपाली जनता एक चीन नीतिका पक्षमा दृढता पूर्वक उभिदैं आएको भन्दै खनालले जनवादी गणतन्त्र चीन र गणतान्त्रिक भारत दुवै छिमेकीसँग सुमधुर र रचनात्मक सम्बन्ध विकास गर्न चाहिरहेको बताएका छन् ।
देशलाई विश्व बैंक र एडिविको खर्बौंको ऋण भार बोकाउनु पश्चिमाहरूको हित अनुसार त होला तर नेपाल र नेपालीको हितमा हुन्न भन्ने कुरा बालेन सरकारलाई समयमै बुझ्न चेतावनी दिँदै खनालले नेपाली जनता मातृभूमिलाई द्वन्द्वको अखडा बनाएको देख्न नचाहने पनि बताएका छन् ।
‘आफैँले निर्वाचित गरेका सरकारहरूलाई जनताको हितविरुद्ध जाँदा नेपाली जनताले उखेलेर हटाएको कुरालाई बालेन्द्र सरकारले संस्मरण गर्नु राम्रो हुन्छ’, खनालले भनेका छन्, ‘नेपाली जनता चाहन्छन् छिमेकी चीनसँगका सम्बन्धहरू अझ प्रगाढ बनाओस् र चीनसँगको सहयोगलाई अझ गहिरो बनाओस् ! यो नै नेपाल र नेपाली जनताको तत्कालीन र दीर्घकालीन हितमा हुनेछ ।’
गत सोमबार निर्वासित तिब्बतीयन धार्मिक नेता दलाई लामाको जन्मदिनको अवसरमा स्वम्यभुमा कार्यक्रम गरिएको थियो । तिब्बती समुदायले धर्मगुरुको जन्मदिन स्वयम्भूस्थित नामग्याल स्कुलमा मनाएका हुन् । त्यसअघि आइतबार धर्मगुरु लामाको जन्मदिनमा काठमाडौँमा पनि ‘फ्री–तिब्बत’ गतिविधि हुनसक्ने आकलन गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाउने निर्णय गरेको थियो ।
जिल्ला सुरक्षा समितिले जुलुस, सभा र पोस्टर सहित प्रदर्शन गर्न रोक लगाइएको थियो । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले फ्री तिब्बत मुभमेन्ट जस्ता गतिविधि हुन नदिन कठोर ढङ्गले प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
तर नामग्याल स्कुलमा भएको कार्यक्रम औपचारिक नभएको हुनाले आफ्नो नोटिसमा नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । जन्मदिन मनाउन नामग्याल स्कुलमा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू समेत सहभागी भएको दाबी गरिएको छ ।
कार्यक्रममा बौद्ध धर्मावलम्बीहरू उपस्थित थिए । जन्मदिनको अवसरमा केक काटेर तथा सांस्कृतिक प्रस्तुति गरेर उत्सव मनाइएको आयोजकले बताएका छन् ।




