२५ असार, काठमाण्डौ ।
मंगलबारको रात । समय– राति ९ बजेर १८ मिनेट । अरब सागरको माथि आकाशमा एउटा विशाल बोइङ ७३७ कार्गो विमान कराँचीतर्फ अगाडि बढिरहेको थियो । अचानक, कराँची एअर ट्राफिक कन्ट्रोलको रेडियोमा एउटा सन्देश गुञ्जियो— विमानको ’नेभिगेसन सिस्टम’ अर्थात् दिशा देखाउने प्रणालीले काम गर्न छाड्यो ।
एअर ट्राफिक कन्ट्रोलरहरूले तुरुन्तै विमानलाई ट्र्याक गर्न थाले । तर, त्यसको ठीक ३ मिनेटपछि, अर्थात् ९ बजेर २१ मिनेटमा राडारमा जे देखियो, त्यसले सबैको सातो उडायो । विमान सामान्य गतिमा थिएन, यो त तीव्र गतिमा समुद्रतर्फ खसिरहेको थियो । र अचानक, यसले आफ्नो दिशा बदल्यो ।
त्यसको केही सेकेन्डमै, कराँचीभन्दा १५५ नटिकल माइल टाढा, राडारबाट त्यो विमान सधैँका लागि गायब भयो । एभिएसन इतिहासमा विमान गायब हुनु वा दुर्घटना हुनु आफैँमा एउटा दुःखद र रहस्यमयी घटना हो। शारजाहबाट पाकिस्तानको कराँचीतर्फ उडिरहेको ’केटु एअरवेज’को बोइङ ७३७ कार्गो विमान अन्ततः दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
१२ घण्टाको अथक प्रयासपछि पाकिस्तानी नौसेना र समुद्री सुरक्षा बलले समुद्रमा यसको भग्नावशेष त फेला पारे, तर विमानमा सवार ५ जना चालक दलका सदस्यहरूको अवस्था अझै अज्ञात छ । आखिर त्यो ३ मिनेटमा ककपिटभित्र के भएको थियो? नेभिगेसन सिस्टम बिग्रिने बित्तिकै विमान कसरी सिधै समुद्रमा खस्यो?
आज हामी यस घटनाको भित्री तथ्य, टाइमलाइन र अन्तराष्ट्रिय संचारमाध्यामहरुमा आएका एभिएसन विज्ञहरूको विश्लेषण प्रस्तुत गर्नेछौँ। घटनालाई गहिराइबाट बुझ्नका लागि उडानको सुरुवाती बिन्दुमा पुग्नुपर्छ । यो विमान संयुक्त अरब इमिरेट्सको शारजाह अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तानको व्यापारिक सहर कराँचीतर्फ कार्गो अर्थात् सामान लिएर उडेको थियो ।
विमान कुनै सानो एअरक्राफ्ट थिएन, यो संसारकै सबैभन्दा भरपर्दो मानिने व्यावसायिक विमान शृङ्खला ’बोइङ ७३७’को कार्गो भर्सन थियो । यो विमान पाकिस्तानको निजी हवाई सेवा कम्पनी केटु एअरवेजले सञ्चालन गरिरहेको थियो । विमानमा कुनै यात्रु थिएनन्, तर यसलाई सुरक्षित गन्तव्यमा पुर्याउन ५ जना दक्ष र अनुभवी प्राविधिक एवं क्रू मेम्बरहरू सवार थिए ।
विमानको कमान्ड सम्हाल्दै थिए— पाइलट इन कमान्ड मोहम्मद रिजवान इद्रिस । उनलाई सघाउन फस्र्ट अफिसर फैसल महमुद थिए । कार्गोको सन्तुलन र लोड व्यवस्थापनका लागि लोड मास्टर मोहम्मद तौफिक खान र विमानको प्राविधिक सुरक्षाका लागि दुई जना इन्जिनियरहरू— आरिफ सिद्दीकी र मोहम्मद हमिद पनि विमानमै सवार थिए ।
अब कुरा गरौँ त्यो भयानक रातको टाइमलाइनको । मंगलबार राति ९ः१८ बजेः विमान पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरिसकेको थियो। कराँची विमानस्थलमा अवतरण गर्न केही समय मात्र बाँकी हुँदा विमानका पाइलटले पाकिस्तान विमानस्थल प्राधिकरणलाई पहिलो संकटको जानकारी गराए ।
उनीहरूले भने, “हाम्रो नेभिगेसन प्रणालीले काम गरिरहेको छैन ।” नेभिगेसन प्रणाली भनेको विमानलाई कुन दिशामा उड्ने, उचाइ कति छ र गन्तव्य कहाँ छ भनी मार्गनिर्देशन गर्ने मुख्य कम्प्युटर हो । यस्तै, राति ९ः१९ बजेः कराँची एअर क्षेत्र नियन्त्रण केन्द्रले स्थिति गम्भीर भएको बुझेर यो विमानमाथि विशेष निगरानी सुरु गर्यो ।
उनीहरूले पाइलटलाई वैकल्पिक माध्यमबाट गाइड गर्ने प्रयास गरिरहेका थिए । राति ९ः२१ बजेः सूचना आएको ठीक ३ मिनेटपछि राडारको स्क्रिनमा एउटा डरलाग्दो दृश्य देखियो । विमान अचानक सामान्य उचाइबाट ‘फ्री फल’ जस्तै गरी द्रुत गतिमा तल ओर्लन थाल्यो । तर अचम्मको कुरा के थियो भने, तीव्र गतिमा तल झर्दै गर्दा विमानले अचानक आफ्नो दिशा परिवर्तन गर्यो ।
र राति ९ः२२ बजे, दिशा परिवर्तन गरेको केही सेकेन्डमै कराँचीबाट करिब १५५ समुद्री माइल पश्चिममा पुगेपछि विमानको राडार सिग्नल र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भयो । आकाशमा एउटा सन्नाटा छायो । सम्पर्क विच्छेद हुने बित्तिकै पाकिस्तान विमानस्थल प्राधिकरणले विमान दुर्घटना भएको आशंका गर्यो ।
तर, रातको समय र विशाल अरब सागर भएकाले तुरुन्तै सही स्थान पत्ता लगाउन कठिन थियो । बुधवार बिहानैदेखि एउटा ठुलो संयुक्त खोजी र उद्धार अभियान सुरु गरियो । यस अभियानमा पाकिस्तान नौसेना र पाकिस्तान वायुसेनाका अत्याधुनिक विमान, हेलिकप्टर र समुद्री सुरक्षा बलका जहाजहरू परिचालन गरिए।
समुद्रको छाल र मौसमको चुनौतीका बीच खोजी टोलीले लगातार १२ घण्टासम्म समुद्रको कुना–कुना छाम्यो । अन्ततः, बुधवार दिउँसोतिर खोजी टोलीलाई ठुलो सफलता मिल्यो । ओर्माराको तटभन्दा करिब ५३ समुद्री माइल दक्षिणतर्फ अरब सागरको पानीमा विमानका केही टुक्राहरू तैरिरहेको अवस्थामा भेटिए ।
पीएएले आधिकारिक रूपमा पुष्टि गर्यो कि त्यो भग्नावशेष केटु एअरवेजकै बोइङ ७३७ विमानको हो । तर, भग्नावशेष त भेटियो, सबैभन्दा ठुलो र दुःखद प्रश्न अझै बाँकी छ— विमानमा रहेका ती ५ जना क्रू मेम्बरहरू कहाँ छन् ? विमान पानीको सतहमा ठोक्किँदा कति शक्तिशाली धक्का लाग्यो होला भन्ने कुरा भग्नावशेषको अवस्थाबाट अनुमान गर्न सकिन्छ ।
नौसेनाका गोताखोरहरू र अत्याधुनिक सोनार प्रविधि प्रयोग गरेर समुद्रको गहिराइमा चालक दलका सदस्यहरूको खोजी कार्य अझै जारी राखिएको छ । एभिएसन विज्ञहरूका अनुसार यस्तो दुर्घटनामा समय निकै महत्त्वपूर्ण हुन्छ, र जति समय बित्दै जान्छ, जीवितै उद्धार गर्ने सम्भावना त्यति नै न्यून हुँदै जान्छ । तर, खोजी टोलीले आश मारेको छैन ।
अहिले संसारभरका एभिएसन विशेषज्ञहरू र दुर्घटना अनुसन्धानकर्ताहरूको ध्यान एउटै प्रश्नमा केन्द्रित छ— आखिर विमान कसरी दुर्घटनाग्रस्त भयो? विमानस्थल प्राधिकरणको प्रारम्भिक रिपोर्ट र राडारको तथ्याङ्कलाई विश्लेषण गर्दा केही प्रमुख प्राविधिक सम्भावनाहरू बाहिर आएका छन् ।
पहिलो र सबैभन्दा बलियो कडी भनेको राति ९ः१८ बजे पाइलटले दिएको ’नेभिगेसन सिस्टम फेलियर’ को सूचना हो। रातीको समयमा समुद्रमाथि उड्दा बाहिर पूर्ण रूपमा अन्धकार हुन्छ । यस्तो बेला पाइलटहरू बाहिर हेरेर होइन, विमानको आर्टिफिसियल होराइजन र नेभिगेसन उपकरणको भरमा उड्छन् ।
यदि नेभिगेसन प्रणाली पूर्ण रूपमा फेल भयो र ब्याकअप प्रणालीले पनि काम गरेन भने पाइलटहरू स्पेसियल डिसओरियन्टेसनको सिकार हुन सक्छन् । यो यस्तो अवस्था हो जहाँ पाइलटलाई विमान सुल्टो उडिरहेको छ कि उल्टो, वा यो माथि गइरहेको छ कि तल, थाहै हुँदैन। यसै भ्रमका कारण पाइलटले अनजानमै विमानलाई समुद्रतर्फ मोडेको हुन सक्छ ।
अर्को कन्ट्रोल सफेसमा खराबी वा मेकानिकल फेलियर । राडार डेटाले देखाएअनुसार राति ९ः२१ बजे विमान तीव्र गतिमा तल झर्दै गर्दा यसले अचानक आफ्नो दिशा परिवर्तन गरेको थियो । यसले दुईवटा कुरा संकेत गर्छ। कि त पाइलटहरूले अन्तिम समयमा विमानलाई जोगाउन कडा कसरत गरिरहेका थिए र विमान उनीहरूको नियन्त्रण बाहिर गइसकेको थियो, वा विमानको रुडर वा एलेभेटर जस्ता नियन्त्रण गर्ने भागहरूमा अचानक मेकानिकल गढबढी आयो, जसले विमानलाई अचानक पल्टाइदियो ।
तेस्रो, कार्गो सिफ्टिङको खतरा । यो एउटा कार्गो विमान भएकाले यसमा भारी सामानहरू लोड गरिएको थियो । कार्गो उडानहरूमा एउटा ठुलो जोखिम हुन्छ— ’कार्गो सिफ्टिङ’। यदि विमानभित्र राखिएका भारी सामानहरू बलियो गरी बाँधिएका थिएनन् र उडानका क्रममा अचानक ती सामानहरू पछाडितर्फ सरे भने विमानको सेन्टर अफ ग्र्याभिटी अर्थात् सन्तुलन बिग्रिन्छ ।
यस्तो हुँदा विमानको नाक अचानक माथि उठ्छ र विमान स्टाल भएर सोझै नियन्त्रण बाहिर गई जमिन वा समुद्रमा खस्छ । के नेभिगेसन बिग्रिएपछि पाइलटले विमान सम्हाल्न खोज्दा कार्गो सरेको थियो? यो अनुसन्धानको विषय हो ।
यी सबै अनुमानहरू मात्र हुन् । वास्तविक सत्य तब मात्र बाहिर आउनेछ, जब दुर्घटनाग्रस्त बोइङ ७३७ को ब्ल्याक बक्स फेला पर्नेछ ।
ब्ल्याक बक्स अन्तर्गत पर्ने फ्लाइट डाटा रेकर्डरले विमानको गति, उचाइ र प्राविधिक अवस्थाको रेकर्ड राख्छ भने ककपिट भ्वाइस रेकर्डरले पाइलटहरू बीच भएको अन्तिम कुराकानी र एटीसीसँगको संवादलाई सुरक्षित राख्छ । अहिले नौसेनाको मुख्य लक्ष्य समुद्रको गहिराइबाट यो ब्ल्याक बक्स निकाल्नु पनि हो ।
शारजाहबाट कराँची तर्फको यो उडान केवल केही घण्टाको थियो, तर यसले ५ वटा परिवारको खुसी क्षणभरमै खोसेको छ । विमानको भग्नावशेष भेटिनुले दुर्घटनाको पुष्टि त गरेको छ, तर खोजी टोली र ती परिवारहरू अझै पनि कुनै चमत्कारको पर्खाइमा छन् ।
एभिएसन क्षेत्रमा सुरक्षाका जतिसुकै ठुला दाबी गरिए पनि प्रविधि र प्रकृतिको अगाडि कहिलेकाहीँ मानिस लाचार बन्न पुग्छ । त्यसकै पछिल्लो उदाहरण बनेको छ पाकिस्तानको यो विमान दुर्घटना ।




