६ भदौ , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावललाई नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन ९ल्ःद्यब्० ले बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
एसोसिएसनका अध्यक्ष रामबहादुर यादव, पूर्वउपाध्यक्ष रामहरी दाहाल लगायत सल्लाहकार सहितका पदाधिकारीहरूले रावलसँग भेटवार्ता समेत गरेका छन् ।

सोही अवसरमा उनको नियुक्तिमा शुभकामना तथा बधाई दिएका हुन् ।
यस क्रममा पदाधिकारीहरूले लघुवित्त क्षेत्रको स्थिरता, नियमन र सुदृढीकरणमा नवनियुक्त डेपुटी गभर्नरको नेतृत्वबाट थप सहयोग मिल्ने अपेक्षा राखेका छन् ।
भेटवार्ताको क्रममा दुवैपक्षबीच लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा समेत छलफल भएको एसोसिएसनले जनाएको छ ।
रावलले विहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् ।
उनले सोही दिन पदबहाली गरेका हुन् । भदौ ३ गतेको मन्त्रिपरिषद्ले रावल डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थि ए।
उनले २०६९ सालमा उप–निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएको थियो ।
पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।




