२५ चैत , काठमाण्डौ।
संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेपनि खाडी मुलुकहरुमा आक्रमण, त्रास र जोखिमको स्थिति कायमै छ । रोजगारीका लागि नेपालीहरु पुग्ने गरेको इजरेलसहित यूएई, साउदी लगायतका मुलुकहरुमा अझै पनि सुरक्षा चिन्ता छ ।
यसबीच ती मुलुकहरुले र त्यहाँस्थित नेपाली दुतावासहरुले पनि नागरिकहरुलाई सतर्क र सुरक्षित रहन अपिल गरिरहेका छन् । यसैक्रममा इजरायलस्थित नेपाली राजदूतावासले मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित, सतर्क र संयमित रहन आग्रह गरेको छ ।
पछिल्ला दिनहरूमा क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि दूतावासले ‘अत्यन्त जरुरी’ सूचना जारी गर्दै नेपालीहरूलाई आफू बसोबास गरिरहेकै स्थानमा सुरक्षित रूपमा बस्न र अनावश्यक आवतजावत नगर्न विशेष अनुरोध गरेको हो ।

दूतावासले जारी गरेको सूचनामा नेपाली नागरिकहरूलाई इजरायल सरकार अन्तर्गतको होम फ्रन्ट कमाण्ड तथा अन्य आधिकारिक निकायहरूले जारी गर्ने सूचना र निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न जोड दिइएको छ । युद्धजन्य अवस्था सिर्जना भएको बेला सामान्य लापरबाहीले समेत ठूलो जोखिम निम्त्याउन सक्ने भएकाले प्रत्येक व्यक्तिले व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने दूतावासको भनाइ छ ।
विशेषगरी, मोबाइलमा आकस्मिक अलर्ट सन्देश आएमा वा साइरन बजेमा कुनै पनि ढिलाइ नगरी तुरुन्तै नजिकको बम सेल्टरमा पुग्न दूतावासले सुझाव दिएको छ । दूतावासले नेपालीहरूलाई आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र तथा बैंक कार्ड जस्ता महत्त्वपूर्ण कागजातहरू सधैं आफूसँग सुरक्षित रूपमा राख्न पनि आग्रह गरेको छ, ताकि आपतकालीन अवस्थामा सहज रूपमा पहिचान र आवतजावत गर्न सकियोस् ।
साथै, पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियो वा संवेदनशील सामग्रीहरू अनावश्यक रूपमा शेयर नगर्न, अपुष्ट सूचना फैलाउन नदिन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन पनि सचेत गराइएको छ । युद्धको त्रास र अस्थिर अवस्थाका बीच मानसिक रूपमा सन्तुलित रहनु पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले दूतावासले सबै नेपालीहरूलाई संयमता अपनाउन र आफ्नो मनोबल उच्च राख्न आग्रह गरेको छ ।
त्यस्तै, आफ्ना परिवार, आफन्त र साथीभाइसँग निरन्तर सम्पर्कमा रहन तथा आफ्नो अवस्थाबारे जानकारी गराइरहन पनि सुझाव दिइएको छ। आपतकालीन अवस्थामा दूतावाससँग तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ, जसका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई सम्पर्क गर्न भनिएको छ ।
दूतावासले सार्वजनिक गरेअनुसार द्वितीय सचिव कुमार बहादुर श्रेष्ठको सम्पर्क नम्बर +९७२–५३५३६०७४८ र तृती सचिव सचिव सञ्ज कुमार शाहको सम्पर्क नम्बर +९७२–५४५५८२०७७ हो । होम फ्रन्ट कमाण्ड लगायत इजरायल सरकार एवम् इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ ।
इजरायलमा हाल हजारौँ नेपालीहरू विभिन्न क्षेत्रमा कार्यरत रहेका छन्, विशेषगरी केयरगिभरका रूपमा वृद्ध तथा अशक्त व्यक्तिहरूको हेरचाहमा संलग्न छन्। बढ्दो तनावका कारण धेरै नेपालीहरू घरभित्रै सीमित हुन बाध्य भएका छन् भने कतिपय स्थानहरूमा दैनिक कामकाज प्रभावित भएको छ ।
साइरन बज्ने, आकस्मिक रूपमा बम सेल्टरमा जानुपर्ने अवस्था र अनिश्चित सुरक्षाका कारण उनीहरूमा मानसिक तनाव, त्रास र असुरक्षाको भावना समेत बढ्दै गएको छ । यस अवस्थाले नेपालमा रहेका परिवारजनहरूमा पनि गहिरो चिन्ता थपिएको छ।
वैदेशिक रोजगारीमार्फत आउने आम्दानी (रेमिट्यान्स) मा समेत असर पर्न सक्ने सम्भावना देखिएको छ भने अवस्था थप जटिल बनेमा नेपाल सरकार माथि उद्धार तथा सुरक्षित स्थानान्तरणको दबाब बढ्न सक्ने अनुमान गरिएको छ। इजरायलको वर्तमान अवस्था संवेदनशील र जोखिमपूर्ण बन्दै गइरहेको सन्दर्भमा दूतावासले जारी गरेको यो सूचना नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यस्तो परिस्थितिमा आधिकारिक निर्देशनहरूको पूर्ण पालना गर्नु र व्यक्तिगत सुरक्षामा उच्च सतर्कता अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हुने देखिन्छ । यता युद्धविराम घोषणा भए पनि अमेरिकी खाडी सहयोगी राष्ट्रहरूमा आक्रमण जारी रहेको संकेत देखिएको अल जजिराले जनाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणको सामना भइरहेको छ, र हवाई रक्षा प्रणालीले ती आक्रमणलाई रोक्ने प्रयास गरिरहेको छ । यसैबीच, साउदी अरबले रियादसहित देशका पूर्वी क्षेत्रमा आपतकालीन सतर्कता जारी गरेको छ ।
सम्भावित खतराबारे चेतावनी दिँदै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यता इरान र अमेरिकाबिच भएको दुई हप्ते युद्धविरामको विषयमा इजरायलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई समर्थन गरेको छ । इजरायलले इरानमाथि हुने भनिएका आक्रमणहरू तत्कालका लागि स्थगित गर्ने ट्रम्पको निर्णयको स्वागत गरे पनि यसका लागि सर्तहरू अघि सारेको छ ।
इजरायली सरकारद्वारा जारी विज्ञप्ति अनुसार इरानले तत्काल समुद्रको जलमार्ग खुला गर्नुपर्ने र अमेरिका, इजरायल लगायत यस क्षेत्रका अन्य देशहरूमाथि गरिरहेका सबै प्रकारका आक्रमणहरू रोक्नुपर्ने सर्त राखिएको छ। इजरायलले इरानबाट हुने आणविक खतरा, मिसाइल आक्रमण र आतङ्कवादी गतिविधिलाई सदाका लागि अन्त्य गर्ने अमेरिकी प्रयासमा आफ्नो पूर्ण साथ रहने स्पष्ट पारेको छ ।
अमेरिकाले इजरायललाई आगामी वार्ताहरूमा यी सबै सुरक्षा चासोहरूलाई सम्बोधन गर्ने र इरानको खतराविरुद्ध प्रतिबद्ध रहने आश्वासन दिएको कुरा पनि इजरायलले उल्लेख गरेको छ । अमेरिका, इजरायल र यस क्षेत्रका अरब मित्र राष्ट्रहरूको साझा सुरक्षा नै अबको वार्ताको मुख्य एजेन्डा हुने इजरायलको बुझाइ छ ।
यद्यपि, यो युद्धविरामको दायरालाई लिएर भने गम्भीर विवाद देखिएको छ। इजरायलले यो दुई हप्ते युद्धविराममा लेबनान समावेश नभएको प्रस्ट पारेको छ। यसको अर्थ लेबनानमा भइरहेका सैन्य कारबाहीहरूमा कुनै रोक लाग्ने छैन । यो घोषणाले अन्तर्राष्ट्रिय क्षेत्रमा ठुलो अन्योल सिर्जना गरिदिएको छ, किनकि यसअघि पाकिस्तान र इरानले यो सम्झौतामा लेबनान पनि समेटिएको दाबी गरेका थिए ।

