तीन वर्षपछि काठमाडौँमा दोहोरिएको दर्दनाक घटना

२६ असार , काठमाण्डौ ।

तीन वर्षअघि अर्थात् २०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले सङ्घीय संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गरे। त्यतिबेला काठमाडौँ महानगरको मेयर थिए बालेन्द्र शाह। प्रेमप्रसाद आचार्यको घटनापछि तत्कालीन मेयर शाहले आक्रोश पोखेका मात्रै थिएनन्, राज्यको चरम असफलता भएको भन्दै कडा टिप्पणी गरेका थिए। ‘सबैभन्दा ठुलो कारण राज्य हो र सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो’, प्रेमप्रसादको घटनापछि बालेनले फेसबुकमा लेखेका थिए।

अहिले तिनै बालेन मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) पदमा आसीन छन्। उनै बालेन नेतृत्वको सरकार रहेका बेला काठमाडौं महानगर प्रहरीको कार्यशैलीका कारण युवा गणेश नेपालीले आफैँमाथि आगो लगाएर आत्मदाह गरे। बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको त्यो घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ।

Advertisement

जहाँ एक २५ वर्षे युवा (गणेश नेपाली) ले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे। उनको उपचारको क्रममा आज मृत्यु भएको छ। गणेशको निधनपछि आज प्रतिनिधिसभा बैठकमा समेत ३ वर्षअघिको बालेनको स्टाटसलाई धेरै सांसद्हरुले स्मरण गराएका छन् ।

तीन वर्षपहिला आजकै जस्तो घटनामा बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा लेखेका थिए, ‘एक जना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्।

Advertisement

एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो। र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ।

राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन्। नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चारमाध्यमका रूपमा हामी सबै असफल भइरहेका छौँ। नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन। हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन।

जनप्रतिनिधिका रुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन। प्यारो नभइिएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शङ्कामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ। सत्ताका अगुवाका रुपमा त्यो सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्ता स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ।

सञ्चारमाध्यमका रुपमा कसैको व्यवसाय प्रवद्र्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार पार्ने बारेमा रुचि छैन। कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ। एकैपल्ट यति धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्।

त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो। उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौँ महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुँदैछन्।

नागरिक तहदेखि सङ्घीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपिल गर्दछु। सबैले नियमको पालना गरौँ। सबैले नियमभित्र रहेर व्यवहार गरौँ। फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ।’ आज तिनै बालेन्द्र शाह देशको शक्तिशाली प्रधानमन्त्री पदमा आसीन छन्। अब प्रधानमन्त्रीले के लेख्छन् वा गर्छन् भन्ने चासो सबैमा छ।

देशमा रोजगारी नपाएपछि विगत दुई वर्षदेखि काठमाडौँमा पठाओ चलाएर परिवार पाल्दै आएका उनलाई बिहीबार महानगरको नगर प्रहरीले सडक छेउमा पार्किङ गरेकै भरमा मोटरसाइकल लक गरेको बताइन्छ। त्यसपछि उनले अप्रिय निर्णय गर्न बाध्य भएका थिए।

समय बदलियो, सत्ताको नेतृत्व बदलियो र हिजो सडकबाट प्रश्न गर्ने आवाजहरू आज सिंहदरबारको निर्णय गर्ने कुर्सीमा पुगे। तर, यो देशका गरिब र श्रमजीवी युवाहरूको नियति भने कति पनि बदलिएन। हिजो जसको चित्कार सुनेर राज्यलाई ’चरम असफल’ घोषणा गरिएको थियो, आज तिनै अभियन्ता मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) हुँदा अर्का एक युवाले काठमाडौँकै सडकमा आफैँलाई आगो लगाएर ज्यान गुमाउनुपरेको छ ।

यो घटनाको छानविनका लागि सरकारले डीआईजीको नेतृत्वमा छानविन समिति बनाएको छ । गृहमन्त्री सुधन गुरुङले यो प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका हुन् । गुरुङका अनुसार उक्त समितिमा डिआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

अहिलेसम्म उक्त घटनाका सम्बन्धमा सोधपुछ गर्न महानगर प्रहरी बलका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । अब सबैको नजर सरकारले गठन गरेको छानबिन समितिमाथि छ। डीआईजीको नेतृत्वमा बनेको समितिले घटनाको वास्तविक कारण, जिम्मेवार पक्ष र सुधारका उपाय केलाउने अपेक्षा गरिएको छ।

तर, यो घटनाको निष्कर्ष केवल एउटा प्रतिवेदनमा सीमित हुनु हुँदैन। दोषी पहिचान गरेर कारबाही गर्नु आवश्यक छ, तर त्यत्तिकै आवश्यक छ, यस्ता घटनाको जरा कहाँ छ भन्ने प्रश्नको इमानदार जवाफ खोज्नु। गणेश नेपाली अब फर्केर आउने छैनन्। प्रेमप्रसाद आचार्य पनि फर्केर आएनन्। तर, राज्यले यी दुई मृत्युबाट पनि पाठ सिकेन भने भोलि अर्को कुनै गणेश, अर्को कुनै प्रेमप्रसादले पनि यही बाटो रोज्नुपर्ने अवस्था नआउला भन्ने कुनै आधार रहने छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top