२७ असार , काठमाण्डौ ।
एसीसी उन्नाईस वर्षमूनीको महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो ।
नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् । जितका लागि १३१ रनको लक्ष्य पछ्याएको कतार भने १२ ओभरमै २५ रनमा अलआउट भयो । रचना चौधरीले र रिया शर्माले समान ३ तथा मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए । नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ ।
यता नेपाली पुरुष क्रिकेट टोलीले आगामी डिसेम्बरमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० सिरिज खेल्ने भएको छ । तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन् । सिरिजअन्तर्गत पहिलो टी–२० खेल डिसेम्बर ९ मा हुनेछ । दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा खेलिनेछ ।
स्कटल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सम्मेलनका क्रममा भएको उच्चस्तरीय भेटवार्तापछि सिरिज निश्चित भएको हो । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित सैकियाबीच भएको छलफलले सिरिज आयोजनाको बाटो खोलेको बताइएको छ ।
भारतको ‘ए’ टोलीसँगको यो सिरिज नेपाली राष्ट्रिय टोलीका खेलाडीका लागि उच्चस्तरीय प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर बन्ने बताईएको छ । यसैबीच विश्वकप लिग २ को २०२३–२७ अन्तर्गतको २० औं राउन्डमा नेपालले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग २–२ खेल खेल्नेछ ।
विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थान बनाउन नेपालमाथि जित्नैपर्ने दबाब छ । नेपालको विश्वकप लिग २ को यस चक्रको अन्तिम राउन्डको खेल भने अक्टोबरमा ओमानमा हुनेछ । सन २०२३ देखि २०२७ सम्मको लिग २ का यस चक्रमा सहभागी ८ राष्ट्रले समान ३६–३६ खेल खेल्ने छन् ।
हरेकले खेल्ने ३६ खेललाई ९ राउन्डमा विभाजन गरिएको छ । जसमा १ राउन्डमा ४ खेल समावेश हुन्छ । एक टोलीले ६ राउन्ड (२४ खेल) विदेशी तथा ३राउन्ड (१२ खेल) भने घरेलु भूमिमा खेल्ने नियम छ । नेपालले आफ्नो घरेलु भूमिमा खेल्ने १२ खेल खेलिसकेको छ । जसमा ७ खेलमा जित तथा ५ खेलमा हार बेहोरेको छ ।
२४ अंक आउने घरेलु खेलमा नेपालले मात्र १४ अंक मात्र पायो । विदेशी भूमिमा हुने २ राउन्डको खेल बाँकी रहँदा नेपालले खेलेको १६ खेलमा ४ जित र २ नतिजाविहीन खेलेर १० अंकमात्र पाएको छ । सात राउन्डको २८ खेल खेलिसक्दा नेपाल २४अंकका साथ पाँचौं स्थानमा छ ।
अमेरिका ४ खेल खेल्न बाँकी रहँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । ग्लोबल छनोटमा स्थान बनाउन अब तीन स्थान खाली छ । यसका लागि नेपाललगायत क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानबीच प्रतिस्पर्धा छ । स्कटल्यान्ड ३२ खेलमा ३८ अंकका साथ छनोटबाट निकै नजिक छ ।
नेदरल्यान्ड्स २८ खेलमा ३२अंकका साथ छनोटका लागि बलियो दाबेदार छ । ओमान २८ खेलमा ३१ अंकका साथ बलियो सम्भावनामा छ। नेपाल र क्यानडा समान २८ खेलमा २४–२४ अंकका साथ पाँचौं र छैटौं स्थानमा छ । नामिबिया २८ खेलमा २२ अंकका साथ सातौं स्थानमा छ ।
ग्लोबल छनोटमा स्थान बनाउन सुरुमा त नेपाललाई बाँकी रहेका आठै खेलमा शतप्रतिशत जित चाहिन्छ । नेपालले आफ्नो सबै खेल जितेरमात्र पुग्दैन स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजा पनि आफ्नो अनुकूलमा आउनुपर्ने हुन्छ । नेपालको अबका खेल नेपालको अब दुइ राउन्ड बाँकी रहेको छ ।
नेपालले अर्को साताबाट नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग २–२ खेल खेल्नेछ । यस त्रिकोणात्मक शृङ्खलापछि नेपाल र नामिबियाको लिग २ को यात्राबारे लगभग पक्का हुनेछ । त्यसपछि आगामी अक्टोबरमा अन्तिम राउन्डको खेलका लागि नेपालले ओमान भ्रमण गर्नेछ ।
ओमानमा नेपालले घरेलु टोली र क्यानडासँग खेल्नेछ । यस लिग २ को चक्रमा नेदरल्यान्ड्स र नेपाल ४ पटक खेलेका छन् । जसमा ३ खेलमा नेपाल विजयी हुँदा १ खेलमात्र नेदरल्यान्ड्सले जितेको छ । यस चक्रको पहिलो शृङ्खलाका क्रममा नेपालले नेदरल्यान्ड्सलाई घरेलु भूमिमा एक खेलमा हराउँदा एक खेलमा हार बेहोरेको थियो ।
गत वर्ष स्कटल्यान्डमा भएको शृङ्खलाका दुवै भेटमा नेपालले नेदरल्यान्ड्समाथि जित हात पारेको थियो । समग्रमा भने एकदिवसीय अन्तर्राष्ट्रियमा भने नेदरल्यान्ड्ससँग ७ खेल खेल्दै ४ जित र ३ हार बेहोरेको छ । नेपालले नामिबियासँग भने यस राउण्डको लिग २ मा मात्र २ पटक खेलेकोमा दुवै खेलमा हार बेहोरेको छ ।
नेपालले घरेलु भूमिमा नामिबियासँग हार बेहोरेको थियो । समग्र एकदिवसीय अन्तराष्ट्रियमा नेपालले नामिबियाविरुद्ध ८ भेटमा ५ मा हार र २ मा जित निकालेको छ । नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो भ्रमणको नेदरल्यान्ड्सको गरेको थियो । त्यसक्रममा खेलिएको ऐतिहासिक शृङ्खलामा नेपालले २ एकदिवसीय खेल खेल्दै शृङ्खला १–१ को बराबरीमा सकेको थियो ।




