देशभर बाढी–पहिरोको कहर, घान्द्रुकमा ३०० पर्यटक अलपत्र

२८ असार ८३, सोमबार

२९ असार, काठमाण्डौ ।

देशका विभिन्न भागमा निरन्तरको वर्षाले निम्त्याएको बाढीपहिरोले जनधनमा क्षति पुर्याइरहेको छ । विभिन्न स्थानमा सडक अवरुद्ध र केही स्थानमा पर्यटकहरु अलपत्र परेका छन् । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो ।

Advertisement

सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् । घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिएका छन् ।

साना साधनका लागि वैकल्पिक सडकको खोजी गरिरहेको उनले बताए । मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरुलाई घान्द्रुकबाट–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

केही दिनदेखि अविरल वर्षाका कारण कास्की अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित कुम्रुङ खोलामा पनि भीषण बाढीपहिरो आएको थियो । बाढीले घुर्जुङ तर्ने झोलुङ्गे पुल, अन्नपूर्ण आधार शिविर जाने मुख्य पदमार्ग र स्याउलीबजार क्षेत्रमा ठूलो क्षति पुगेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले जानकारी दिएको छ ।

घान्द्रुकको बनठाँटीमा रहेका दुइटा होटलमा समेत बाढीपहिरोले क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिका कारण उक्त क्षेत्रमा गएका पर्यटक तथा गाइड–पोर्टर समेत अप्ठ्यारोमा परेको टान गण्डकीले जनाएको छ । उता कालिकोटमा पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६, का लालबहादुर साउद र मन्दिर साउन रहेका छन् । सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोही वडाको भुवारिपाटा भन्ने ठाउँमा रहेको पानी घटना उनीहरू सोमबार पिठो पिस्न गएका थिए । एक्कासि माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा स्थानीय र मेहलमुडी प्रहरी चौकीको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताइन् । यस्तै निरन्तरको वर्षामा पनि मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमै रहेको छ । सडक डिभिजन कार्यालय, भरतपुरले आज एक सूचना जारी गर्दै उक्त सडक खण्डमा सवारी चलिरहेको जानकारी दिएको हो ।

सो क्षेत्रमा अहिले लगातार पानी परिरहेको छ । वर्षायामको समय भएकाले यस सडक खण्डमा पहिरो खस्ने जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । पहिरोको उच्च जोखिम रहने यस सडक खण्डमा यात्रा गर्नुअघि अनिवार्य रूपमा सडक खुला रहे÷नरहेको पछिल्लो अपडेट लिन सुझाएको छ ।

काठमाडौं उपत्यकाबाट हेटौंडा जोड्ने दुइटा सडक खण्डमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ। अविरल वर्षापछि सडकका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाब बढेका कारण मकवानपुर प्रशासनले काठमाडौं र ललितपुरबाट हेटौंडा जोड्ने सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विज्ञप्ती जारी गर्दै सडक यातायात उच्च जोखिमपूर्ण बनेकाले दुई सडकखण्डमा सवारी सञ्चालनमा अस्थायी रोक लगाएको छ। प्रशासनका अनुसार हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडक अन्तर्गत चौघडा क्षेत्रमा आज साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालनमा रोकिएको छ।

हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक अन्तर्गत चेकिटोल, हेटौँडा क्षेत्रमा असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी सञ्चालन रोक लगाइएको छ। उता, काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार मध्यान्ह एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

यस्तै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डअन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ । पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

सडक खुलाउने प्रयास भइरहेको उनले बताए । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको डीएसपी त्वातीले जानकारी दिए । करिडोरको वैकल्पिक बाटो नहुँदा सडक नखुलाइँदासम्म यात्रु त्यहीँ रहनुपर्ने बाध्यता छ ।

गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ । स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ । यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ । पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएकोछ । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड९लाइफलाइन० मानिएको मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षा र जमिन भासिने क्रम नरोकिँदा इलाम सदरमुकाम सहितका माथिल्ला क्षेत्रहरू जिल्लाकै अन्य भूभाग र तराईबाट विच्छेद भई ‘टापु’ सरह बनेका छन् । सडकको समयमै स्तरोन्नति तथा निर्माण कार्य पूरा नहुनु र यस वर्ष फागुन महिनादेखि नै लगातार वर्षा भइरहेका कारण असारको सुरुवातदेखि नै राजदुवाली पहिरोले उग्र रूप लिएको हो ।

राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङ सहित मेची पहाडका लाखौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । यसैविच, अविरल वर्षाले कोशी नदीमा निरन्तर बढेको पानीको बहावले खतराको सतह पार गरेको छ । आज सोमबार बिहान ६ बजेतिर १ लाख ३१ हजार २ सय क्यूसेक मापन गरिएको पानीको बहाव दिउँसो १ लाख ५८ हजार क्यूसेक नाघेको छ ।

मध्यान्ह १२ बजेको मापनअनुसार पानीको बहाव १ लाख ५८ हजार २ सय १० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिएका छन् । उनकाअनुसार हाल कोशी ब्यारेजमा ५६ मध्ये १८ ढोका खुल्ला गरिएको छ । कोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ ।

उता, जल तथा मौसम विज्ञान विभागले भने आगामी ३ दिनसम्म सप्तरीसहित आसपासका जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ भने नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको जोखिम छ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी ९पूर्व०, नवलपरासी (पश्चिम) पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बाढीको जोखिम क्षेत्रका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाको आग्रह छ ।

निरन्तर वर्षा भइरहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुनसक्ने महाशाखाले चेतावनी दिएको छ ।सम्बन्धित जिल्लाका पालिका, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्वतयारी तथा सम्भावित विपद्का घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top