२९ असार, काठमाण्डौ ।
सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा गाडी पार्किङ गरिएपछि विहानैदेखि यसले एक किसिमको आतंक नै सृजना गरेको छ। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा , काग्रेस सभापति गगन थापाको घरको गेट र अनामनगरका भाटभटेनी अगागि बेवारिसे गाडीहरु भेटिएका छन् । गाडी प्रहरीले क्रेन लगाएर हटाएको छ भने गाडीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको र केही गाडीको पहिचान खुलेको छ।
कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ । अनलाइन खबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ ।


कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ । यस्तै हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा.१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको यातायात व्यवस्था विभागका एक जना अधिकृतले बताए ।
सो अटो मोटिभ्सको ठेगाना धुम्बाराही काठमाडौँ उल्लेख छ । अग्नि इनकर्पोरेट डी प्रालि सवारी साधनको अधिकृत विक्रेता कम्पनी हो । उक्त कम्पनीले कोही व्यक्तिलाई बिक्री गरेको र त्यसको किस्ता भुक्तानी पूरा नहुँदासम्म उक्त कम्पनीकै नाममा देखिएको अनुसन्धानरत प्रहरीले जनाएका छन् ।

यातायात व्यवस्था कार्यालयको ढड्डामा गाडी धनीको सम्पर्क नम्बर छैन । उक्त गाडीका ऋणी, अर्थात् अग्नि इनकर्पोरेट डी प्रालिसँग गाडी खरिद गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अन्य गाडी धनीको पहिचानका लागि बागमती प्रदेश सरकारअन्तर्गत रहेका यातायात कार्यालयबाट विवरण लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
तर, सोमबार बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयको सर्भर डाउन भएका कारण हालसम्म यकिन विवरण प्राप्त भएको छैन । अनलाइनखबरका कर्मचारीले दिएको जानकारी अनुसार बिहान करिब ७ बजेतिरै अज्ञात व्यक्तिले बुद्धनगरस्थित कार्यालयको गेटैमा कार पार्क गरेर हिँडेका थिए । उक्त कारले गर्दा अन्य गाडी कार्यालयभित्र छिराउन सकिएको थिएन ।

यस्तै अनामनगरको भागभटेनी अघि पनि यस्तै बेवारिसे गाडी पार्किङ गरिएको थियो । यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ । उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् ।

यता नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गटेमै शंकास्पद रुपमा गाडी पार्किड गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको दाबी गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै ‘आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद गाडी पार्किङ गरी पत्रकारलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको पाइएको’ बताएको हो ।

महासंघले तत्काल गाडीको अवरोध हटाई संचारकर्मी र संचारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेको छ । महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुरÞ्याउने यो रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

अवरोध हटाउन महासंघले सुरक्षा निकायसँग समन्वय गरिरहेको महासचिव रामप्रसाद दाहालले बताएका छन् । उता नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूलगेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई आतङ्कित पारिएको भन्दै आपत्ति जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले यो कार्यले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार गरेको जनाएका छन् । उनले भनेका छन्, ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतङ्कित पारिएको छ ।’

उनले भनेका छन्, ‘स्वतन्त्र रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चार गृह र पत्रकारलाई भयभीत बनाउने र काममा अवरोध पु¥याउने यो निन्दनीय र रहस्यमय घटनाको भत्र्सना गर्दछौ ।’ उनले नेपाल पत्रकार महासङ्घले अघि सारेका मागहरूलाई एमालेले पूर्ण समर्थन गर्ने जनाएका छन्।




