अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, ट्रम्पका कारण कच्चा तेलको मूल्य भने बढ्यो

१२ असोज ८३, सोमबार
Share this
834shares
१२ असोज , काठमाण्डौ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । अमेरिकी बन्डको प्रतिफल बढ्नु, कच्चा तेलको मूल्य उकालो लाग्नु तथा अमेरिकी फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने अपेक्षा बलियो बनेपछि सोमबार बहुमूल्य धातु सुनको बजार दबाबमा परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य ३.११ प्रतिशत अर्थात १३२ डलरले घटेर प्रतिऔंस ४ हजार १४३ डलरमा सीमित बनेको छ । अन्य बहुमूल्य धातुको मूल्यसमेत घटेको छ । चाँदी ४.९४ प्रतिशत अर्थात ३.१७ डलरले घटेर प्रतिऔंस ६२.६४ डलरमा झरेको छ ।
विश्लेषकहरूका अनुसार सुनको मूल्यमा आएको तीव्र गिरावटको प्रमुख कारण अमेरिकी ट्रेजरी बन्डको यिल्डमा भएको वृद्धि हो । बन्ड यिल्ड बढ्दा ब्याज नदिने सुनको तुलनात्मक आकर्षण घट्ने गर्छ। अमेरिकी १० वर्षे ट्रेजरीको यिल्ड ५.१३ प्रतिशत पुगेको छ, जुन सन् २००७ यताकै उच्च हो।
त्यस्तै, ३० वर्षे बन्डको यिल्ड ५.४४ प्रतिशत पुगेको छ, जुन सन् २००४ यताकै उच्च स्तर भएको उनको भनाइ छ । यससँगै अमेरिकी डलर बलियो बन्दै जाँदा डलरमा मूल्य निर्धारण हुने सुनमाथि थप दबाब परेको विश्लेषकहरूको भनाइ छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर बढाउन सक्ने अपेक्षा पनि बजारमा बलियो बनेको छ । कच्चा तेलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिको जोखिम पुनः बढाएको छ । त्यसले फेडलाई ब्याजदर थप कडा बनाउने दबाब बढ्न सक्ने अनुमान लगानीकर्ताले गरेका छन्।
ब्याजदर बढ्ने अपेक्षाले बन्ड यिल्ड र अमेरिकी डलर दुवैलाई बलियो बनाउन सक्ने भएकाले सुनमाथि दबाब परेको हो । अमेरिका–इरान तनाव र हर्मुज जलमार्गसँग सम्बन्धित घटनाक्रमले पनि बजारको जोखिम धारणा प्रभावित गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज पुनः खोल्ने र युद्ध अन्त्य गर्ने प्रस्ताव अस्वीकार गरेको बताएपछि कच्चा तेलको मूल्य पुनः बढेको छ । इरानले भने कूटनीति नै विवाद समाधानको बाटो रहेको बताएको छ । सामान्यतया भूराजनीतिक तनाव बढ्दा सुरक्षित लगानीका रूपमा सुनको माग बढ्ने गर्छ ।
तर यसपटक कच्चा तेलको मूल्य वृद्धिले मुद्रास्फीतिको चिन्ता बढाएर अमेरिकी ब्याजदर थप बढ्न सक्ने अपेक्षा बलियो बनाएको छ । त्यसकारण भूराजनीतिक जोखिमबाट प्राप्त हुन सक्ने सुनको ‘सेफ हेभन’ मागलाई समेत उच्च बन्ड यिल्ड र बलियो डलरले दबाएको विश्लेषण गरिएको छ ।
यता नेपाली बजारमा पनि सोमबार सुन–चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा पाँच हजार रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला चार हजार ६ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय १० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ घटेको हो।
यता सोमबार ब्रेन्ट क्रुडको मूल्य करिब २ प्रतिशतले बढेर प्रतिब्यारेल १०६ डलरभन्दा माथि पुगेको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.२५ प्रतिशतले बढेर प्रतिब्यारmे ९४ डलर पुगेको छ । डोनाल्ड ट्रम्पले इरानले सात दिनभित्र हर्मुज जलमार्ग खोल्ने प्रस्ताव अस्वीकार गरेपछि तेल बजारमा आपूर्ति जोखिमप्रति चिन्ता बढेको हो ।
विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गका रूपमा रहेको होर्मुज जलमार्ग अवरोध आउन सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाएको बताइएको छ । हर्मुज जलमार्गबाट विश्व बजारमा ठूलो परिमाणमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको ढुवानी हुने भएकाले यहाँको गतिविधिले अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव पार्ने गर्छ ।
तेलको मूल्य बढिरहेका बेला राष्ट्रपति ट्रम्पले भने इरानसँगको युद्ध ‘धेरै चाँडै’ अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्। ट्रम्पले युद्ध अन्त्य भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आउने दाबीसमेत गरेका छन्। तर युद्ध कहिले र कसरी अन्त्य हुन्छ भन्ने विषयमा तत्काल स्पष्टता देखिएको छैन ।
हर्मुज जलमार्गमा सम्भावित अवरोधको जोखिमले तेलको आपूर्ति प्रभावित हुन सक्ने चिन्ता लगानीकर्तामा बढाएको छ। त्यसको प्रभाव कच्चा तेलको मूल्यमा देखिएको हो ।  यसैबीच अमेरिकामा नोभेम्बरको सुरुमा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण हुनसक्ने संकेत गरेपछि बिटकोइन र नास्डकले नयाँ साताको सुरुवात सुस्त रूपमा गरेका छन् ।
यूटीसी ०३ः३० मा बिटकोइन १.३ प्रतिशतले घटेर ८३ हजार ३ सय २४ डलरमा कारोबार भइरहेको थियो भने इथर, एक्सआरपी र सोलाना जस्ता प्रमुख वैकल्पिक क्रिप्टोकरेन्सीहरूले पनि यस्तै गिरावट बेहोरेका छन् । वाल स्ट्रिटको प्रविधि–प्रधान नास्डक सूचकांकसँग जोडिएका फ्युचर्स ०.७ प्रतिशतले तल कारोबार भए ।
डब्लूटीआई कच्चा तेलसँग जोडिएका फ्युचर्स करिब १ प्रतिशतले बढेर ९३.२८ डलर पुगे । साथै, ब्रेन्ट कच्चा तेलमा पनि यस्तै वृद्धि देखियो । ट्रम्पले आइतबार इरानसँगको युद्ध निकै चाँडै समाप्त हुने अपेक्षा गरेको बताएका थिए तर मध्यावधि निर्वाचनअघि त्यस देशमाथि थप सैन्य आक्रमण हुन सक्ने सम्भावनालाई उनले नकारेका छैनन् ।
फक्स न्युजका अनुसार, सैन्य कारबाही पुनः सुरु हुन सक्छ कि सक्दैन भनी सोधिएको प्रश्नमा उनले भने, ‘म त्यो भन्न चाहन्नँ । मेरो मतलब, यो सम्भव छ, तर म अहिले त्यसो भन्न चाहन्नँ ।’ अमेरिकाले सैन्य र आर्थिक दुवै दबाबमार्फत युद्ध जित्ने उनले थपे ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देश पुनः सुरु हुने द्वन्द्वका लागि ‘पूर्ण रूपमा तयार’ रहेको बताउँदै सम्भावित ‘प्रलयकारी युद्ध’ (डुम्सडे वार) को समेत सामना गर्न सक्ने चेतावनी दिएका छन् ।
मार्चको सुरुमा युद्ध सुरु भएयता कायमै रहेको यो भूराजनीतिक अनिश्चितताले मुद्रास्फीतिको त्रास बढाएको छ । यसले अमेरिकी ट्रेजरी यिल्डलाई उकालो लगाएको छ । मुद्रास्फीतिको त्रास, फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने अनुमान र ऋणसम्बन्धी चिन्ताका बीच १० वर्षे बन्डको यिल्ड १२७ आधार विन्दुले बढेर ५.२० प्रतिशत पुगेको छ ।
यो सन् २००७ पछिकै उच्च हो । यस वर्षको सुरुमा बिटकोइनमा गिरावट आएको थियो तर यी अनिश्चितताहरूलाई बेवास्ता गर्दै तेस्रो त्रैमासिकमा यसले सशक्त पुनरागमन गरेको छ । विगत तीन महिनामा यसको मूल्य ४२ प्रतिशतले बढेको छ । यसले नास्डक र सुन लगायतका हरेक प्रमुख सम्पत्तिलाई उछिनेको छ ।
विश्लेषकहरू अब यस क्रिप्टोकरेन्सीको आगामी गन्तव्यको संकेत पाउनका लागि आउने तथ्यांकहरूलाई नियालिरहेका छन् । ‘लगानीकर्ताहरूका लागि ८३ हजार ८०० देखि ८४ हजार डलरको क्षेत्र अल्पकालीन समयको महत्त्वपूर्ण समर्थन विन्दु हो । ८५ हजारदेखि ८५ हजार ८०० डलरको क्षेत्र तत्कालको प्रतिरोध क्षेत्र हो । हालको स्तरमा बजार वृद्धिको पछि नलाग्नु नै बुद्धिमानी हुनेछ,’ जानकारहरु भन्छन् ।
जारले ईटीएफ प्रवाह, ट्रेजरी यिल्ड र आगामी अमेरिकी मुद्रास्फीति तथ्यांकप्रति प्रतिक्रिया जनाइरहँदा लिभरेजलाई सीमित राख्नु र किस्ताबन्दीमा प्रवेश गर्नुले उतारचढाव व्यवस्थापन गर्न मद्दत पुर्याउन सक्ने जानकारहरुको भनाइ छ ।
यस साता अमेरिकी पीसीई मुद्रास्फीति, आईएसएम उत्पादन र ननफार्म पेरोलसम्बन्धी तथ्यांकहरू आउँदैछन् जसले फेडको ब्याजदर वृद्धिको सम्भावना र समग्र बजारलाई प्रभावित गर्न सक्छन् ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top