’थ्री इडियट्स’का बास्तविक नायक १८ दिनदेखि भोकै ! अब के होला ?

३० असार , काठमाण्डौ ।

कक्रोच पार्टी—नाम सुन्नासाथ तपाईंलाई लाग्न सक्छ, यो युवाहरुको एक लहडमा सुरु भएको मजाक हो । तर होइन । यही अनौठो नामको आन्दोलनले अहिले भारत सरकारलाई दबाब दिइरहेको छ । नाम सुन्दा राजनीतिक दल जस्तो लागे पनि यो कुनै निर्वाचन लड्ने पार्टी होइन ।

यो सामाजिक व्यंग्यमार्फत सरकारलाई प्रश्न गर्ने अभियान हो । संस्थापक अभिजित डिप्केका अनुसार, कक्रोेचलाई संसारकै सबैभन्दा बाँच्न सक्ने जीव मानिन्छ । जस्तोसुकै परिस्थिति आए पनि बाँचिरहने । त्यस्तै, सामान्य नागरिकले पनि अन्यायविरुद्ध निरन्तर आवाज उठाइरहनुपर्छ भन्ने सन्देश दिन ’कक्रोच जनता पार्टी’ नाम राखिएको हा ।

Advertisement

यही अभियानले अहिले भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै आन्दोलन गरिरहेको छ । अझ रोचक कुरा, यस आन्दोलनको नेतृत्वमा साथ दिन पुगेका छन् ’थ्री इडियट्स’ चलचित्रका वास्तविक प्रेरणास्रोत, चर्चित शिक्षा अभियन्ता सोनम वाङ्चुक । तर अहिले उनी आन्दोलनको प्रतीक मात्र होइनन्, जीवन र मृत्युको दोसाँधमा उभिएका छन् ।

यति बेला सबैको ध्यान अहिले जन्तर–मन्तरतर्फ केन्द्रित भएको छ । जारी आन्दोलनले नयाँ मोड लिएको छ । शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका सोनम वाङ्चुकको अनशन मगंलबार १७ औँ दिनमा पुगेको छ । शिक्षा सुधारको माग गर्दै दिल्लीको जन्तर–मन्तरमा अनिश्चितकालीन आमरण अनशनमा बसेका शिक्षा अभियन्ता सोनमको स्वास्थ्य अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको छ ।

Advertisement

दुई साताभन्दा बढी समयदेखि अन्न नखाएका वांगचुकको तौल ८ दशमलव २ किलोग्रामले घटेको छ । चिकित्सकहरूले स्वास्थ्यमा गम्भीर असर देखिन थालेको बताएका छन् । तर, यति धेरै स्वास्थ्य बिग्रँदा पनि वांगचुक आफ्नो अडानबाट पछि हटेका छैनन् ।

उनी स्पष्ट रूपमा भन्छन—मैले सुरु गरेको यो अभियानलाई यसको तार्किक निष्कर्षसम्म पु¥याएर मात्र रोकिन्छु । उता, भारतका चर्चित लेखक, कलाकार र अर्थशास्त्रीहरूले भने वांगचुकलाई अनशन अन्त्य गर्न अपिल गरेका छन् । आखिर किन स्वास्थ्य जोखिम हुँदाहुँदै पनि वांगचुक पछि हट्न तयार छैनन ? र किन देशभरका हजारौं विद्यार्थी यो आन्दोलनलाई समर्थन गरिरहेका छन ? अब यसको चर्चा गरौं ।

वांगचुकले जुन २९ देखि आमरण अनशन सुरु गरेका हुन् । सोमबार सार्वजनिक गरिएको स्वास्थ्य बुलेटिनअनुसार उनको तौल ८ दशमलव २ किलोग्रामले घटेको छ । रक्तचाप १०७÷७० मा झरेको छ भने रगतमा चिनीको मात्रा पनि सामान्यभन्दा कम भएर ६७ पुगेको छ ।

डाक्टरहरूले लामो समयसम्म अन्न नखाँदा शरीरका महत्वपूर्ण अंगहरूमा असर पर्न सक्ने चेतावनी दिएका छन् । समर्थकहरू पनि दिनदिनै बढ्दो स्वास्थ्य समस्यालाई लिएर चिन्तित छन् । सामाजिक सञ्जालमा हजारौं मानिसहरूले वांगचुकको स्वास्थ्य अवस्थालाई लिएर अनशन तोड्न आग्रह गरिरहेका छन् ।

धेरैले आन्दोलनलाई अर्को तरिकाले अघि बढाउन सुझाव दिएका छन् । तर, वांगचुकको जवाफ भने स्पष्ट छ । उनले आफूले सुरु गरेको आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि नभई लाखौं विद्यार्थीको भविष्यका लागि भएको बताएका छन् । आफू महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रेरित भएको र भोक हडताल नै सरकारलाई झकझक्याउने सबैभन्दा प्रभावकारी माध्यम भएको विश्वास गर्छन् ।

सोनम वाङ्चुक कुनै सामान्य अभियन्ता होइनन् । उनी लद्दाखका चर्चित इन्जिनियर, शिक्षा सुधारक र वातावरणविद् हुन् । जलवायु परिवर्तनका कारण पानीको अभाव झेलिरहेका किसानका लागि उनले “आइस स्तूप“ अर्थात् कृत्रिम हिमनदीको अवधारणा विकास गरेका थिए । यसले हिउँदमा पानी सञ्चय गरेर वसन्तमा खेतीका लागि उपलब्ध गराउँछ ।

यही योगदानका लागि उनले सन् २०१८ मा प्रतिष्ठित रामोन म्यागसेसे पुरस्कार प्राप्त गरेका थिए । बलिउडको चर्चित चलचित्र ’थ्री इडियट्स’ मा देखाइएको ’फुन्सुख वाङ्डु’ पात्र पनि उनैबाट प्रेरित भएको मानिन्छ । तर अहिले वैज्ञानिक उपलब्धिभन्दा धेरै चर्चा उनको बिग्रँदो स्वास्थ्यको भइरहेको ।

दिल्लीको चर्को गर्मी, ४६ डिग्री सेल्सियससम्म महसुस हुने तापक्रम, लगातारको अनशन र कमजोर बन्दै गएको शरीर…यी सबैका बीच पनि वाङ्चुकले आफ्नो निर्णय परिवर्तन गरेका छैनन् । कक्रोच जनता पार्टीका संस्थापक अभिजित डिप्केका अनुसार वाङ्चुक अहिले केही कदम हिँड्नसमेत सक्ने अवस्थामा छैनन् ।

उभिँदा र बस्दा चक्कर लाग्ने, शौचालयसम्म जान कठिन हुने अवस्था आएको उनले बताएका छन् । चिकित्सकहरूले तत्काल अनशन अन्त्य गर्न सुझाव दिएका छन् । देशभरबाट हजारौँ सन्देश आइरहेका छन्, जसमा मानिसहरूले वाङ्चुकलाई आफ्नो जीवन जोगाउन आग्रह गरिरहेका छन् ।

तर उनको एउटै जवाफ छ— सरकारले शिक्षा प्रणालीमा जवाफदेहिता सुनिश्चित नगरेसम्म म पछि हट्दिनँ । आन्दोलन स्थलमा विद्यार्थी, किसान, शिक्षक, सामाजिक अभियन्ता र सर्वसाधारणको भीड दिनप्रतिदिन बढिरहेको छ । यस आन्दोलनको मुख्य कारण भनेको चाँही भारतको चर्चित मेडिकल प्रवेश परीक्षा ल्भ्भ्त् सम्बन्धी विवाद हो ।

यस वर्ष परीक्षा सम्पन्न भएपछि प्रश्नपत्र चुहिएको आरोप सार्वजनिक भयो । त्यसपछि परीक्षा रद्द गरियो । यस घटनाले लाखौं विद्यार्थी र अभिभावक आक्रोशित बने । आन्दोलनकारीहरूको आरोप छ कि यस्तो ठूलो परीक्षा प्रणालीमा भएको कमजोरीको नैतिक जिम्मेवारी शिक्षा मन्त्रालयले लिनुपर्छ ।

उनीहरूको मुख्य माग भनेको भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुपर्छ भन्ने हो । यही माग राखेर कक्रोच जनता पार्टी, अर्थात् सिजेपि नामको व्यंग्यात्मक सामाजिक अभियानले आन्दोलन सुरु गरेको हो । यस अभियानमा पछि शिक्षा अभियन्ता सोनम वांगचुक पनि जोडिएका हुन् ।

उता भारत सरकार भने आन्दोलनकारीहरूको मागसँग सहमत छैन । शिक्षा मन्त्री प्रधानले आन्दोलनको आलोचना गर्दै यसलाई देशको विकासमा अविश्वास गर्ने समूहहरूको अभियान भएको बताएका छन् । उनले आन्दोलनकारीहरूलाई विघटनकारी शक्तिहरूको बी–टिम भनेर टिप्पणी गरेका छन् ।

सरकारले राजीनामाको माग अस्वीकार गर्दै परीक्षा प्रणाली सुधारका लागि आवश्यक कदम चालिरहेको दाबी गरेको छ । तर आन्दोलनकारीहरू भने त्यसबाट सन्तुष्ट देखिएका छैनन् । वांगचुकका समर्थकहरू दुई धारमा देखिएका छन्। एक समूहले आन्दोलन जारी राख्नुपर्ने बताइरहेको छ ।

उनीहरूको तर्क छ— जबसम्म जिम्मेवार व्यक्तिहरूले उत्तरदायित्व लिँदैनन्, आन्दोलन रोकिनु हुँदैन । अर्को समूह भने वांगचुकको जीवन सबैभन्दा महत्वपूर्ण भएको बताउँछ। उनीहरू भन्छन — आन्दोलन फेरि पनि गर्न सकिन्छ, तर स्वास्थ्य गुमाएपछि त्यसलाई फर्काउन सकिँदैन ।

यही कारण अहिले आन्दोलन स्थलमा पनि भावुक वातावरण देखिएको छ । त्यसो भए अब के हुन्छ त भन्ने सबैको चासोको केन्द्र बनेको । सीजेपिले जुलाई २० मा संसदतर्फ मार्च गर्ने घोषणा गरेको छ । यदि त्यसअघि सरकार र आन्दोलनकारीबीच कुनै सहमति भएन भने आन्दोलन अझै चर्किन सक्ने अनुमान गरिएको छ ।

यता चिकित्सकहरूले भने वांगचुकको स्वास्थ्यमा निरन्तर निगरानी आवश्यक रहेको बताएका छन् । लामो समयसम्म अनशन जारी रहँदा मुटु, मिर्गौला, मस्तिष्क लगायत शरीरका महत्वपूर्ण अंगहरूमा गम्भीर असर पर्न सक्ने जोखिम रहन्छ । यसैले देशभरबाट उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top