५ साउन , काठमाण्डौ ।
देशभर मनसुन सक्रिय भएसँगै वर्षा, बाढी र पहिरोको जोखिम बढ्दै गएको छ। मौसमविद्ले आजपनि केही प्रदेशमा भारी वर्षाको चेतावनी दिएका छन् भने सरकारले सबै निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा बैतडीको गोकुलेश्वरमा मापन भएको छ।
यता, बाजुरामा वर्षा र दुर्गम सडकका कारण उद्धारमा ढिलाइ हुँदा जिप दुर्घटनाका दुई घाइतेले ज्यान गुमाएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी र हिमाली भू–भागमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल लागेको छ ।
मधेश प्रदेश र कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ । कर्णाली प्रदेशका केही स्थानमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन तथा विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो समय सबैभन्दा बढी वर्षा बैतडीको गोकुलेश्वरमा भएको छ । गोकुलेश्वरमा ३७.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “गएको तीन घण्टामा सबैभन्दा बढी वर्षा बैतडीको गोकुलेश्वरमा ३७.२ मिलिमिटर भएको छ,“ विभागले जारी गरेको सूचनामा भनिएको छ ।
विभागका अनुसार, हाल कोसी, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको छ । यसैबीच मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा रहने निर्णय गरेको छ।
बैठकले मनसुनजन्य विपद् वा महामारीजस्ता सङ्कटको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय कायम गर्दै पूर्वतयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो। निर्णयअनुसार विपद्को समयमा जनशक्ति, बजेट, राहत सामग्री तथा प्राविधिक सहयोगको परिचालन तहगत निकायबीच समन्वयात्मक रूपमा गरिनेछ।
यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम रहेकाले त्यसको न्यूनीकरणका लागि विपद् प्रतिकार्य तथा पूर्वतयारीलाई तीव्र बनाइएको जनाएको छ।
प्राधिकरणले मनसुनका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सम्भावित बाढी, पहिरो, डुबानलगायतका विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वयलाई तीव्र बनाइएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सरोकारवाला सबै निकायबीच प्रभावकारी समन्वयका साथ तयारी अघि बढाइएको बताए ।
यसैबीच बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा उद्धारमा ढिलाइ भएपछि दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको घुमाउरो उकालोबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।
जिप हिमाली गाउँपालिका–२ नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए। दुर्घटनामा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेश्वर बोहराका अनुसार दुर्घटनाको जानकारी करिब दिउँसो १२ बजे प्राप्त भएपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको थियो। तर दुर्गम भूगोल, कच्ची सडक र यातायातको कठिनाइका कारण एम्बुलेन्स घटनास्थल पुग्न करिब तीन घण्टा लागेको थियो।
घाइतेहरूलाई उद्धार गरी कोल्टी आधारभूत अस्पताल पु¥याउँदासम्म साँझ करिब ७ः३० बजिसकेको थियो। दुर्घटनादेखि अस्पताल पुग्न झन्डै आठ घण्टा लागेकाले समयमै उपचार नपाउँदा दुई जनाको ज्यान गएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार नजिकै स्वास्थ्य संस्था र सहज सडक पहुँच भएको भए मृतकहरूको ज्यान जोगिन सक्ने अवस्था थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा चालकले उकालो चढ्ने क्रममा एक्कासि ब्रेकले काम नगरेपछि जिप नियन्त्रणबाहिर गई सडकबाट तल खसेको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




