इरानमा १०औँ रात आक्रमणः गृहमन्त्री पाकिस्तानमा, हमासले चुन्यो नयाँ नेता

५ साउन , काठमाण्डौ ।

अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ । युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु भएको द्वन्द्वमा अमेरिकाले लगातार १०औँ रात इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ । इरानको बन्दर अब्बास, सिरिक, केश्म टापु, चाबहार र कोनारक क्षेत्रमा विस्फोट भएका छन् ।

मंगलबार बिहान इरानको दक्षिणपश्चिमी शहर शिराजमा पनि शक्तिशाली विस्फोटको आवाज सुनिएको इरानको सरकारी प्रसारक आईआरआईबीले जनाएको छ । यता, इस्फहान प्रान्तका अधिकारीहरूले इस्फहान क्षेत्रमा कुनै पनि आक्रमण वा विस्फोट नभएको बताएका छन्।

Advertisement

बुसेहर प्रान्तका गभर्नरले भने सुनिएका विस्फोटका आवाज वायु रक्षा प्रणाली सक्रिय हुँदा आएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकी सैनिकको मृत्युको धेरै गुणा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। पछिल्लो एक सातामा कम्तीमा तीन अमेरिकी सैनिक मारिएपछि अमेरिका थप आक्रामक बनेको हो ।

ह्वाइट हाउसले जारी गरेको वक्तव्यअनुसार राष्ट्रपतिले आदेश नदिएसम्म इरानमाथिका सैन्य आक्रमण जारी रहनेछन् । यद्यपि दुवै देशबीच कूटनीतिक संवाद पनि निरन्तर भइरहेको अमेरिकी प्रशासनले जनाएको छ । इरानले पनि मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।

Advertisement

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको रिपोर्टबारे उनलाई सोधिएको प्रश्नको जवाफमा अन्य विवरण नदिई मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गरेका हुन् ।

बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताएका छन् । उनले अमेरिकाले हालै गरेको नागरिक पूर्वाधार माथिको हमलाको निन्दा गर्दै यसलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को उल्लङ्घनको संज्ञा दिए ।

जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उनले भने, “उक्त सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट छ’ र सम्झौताको वाचा तोड्न वाशिङ्टनसँग कुनै बहाना छैन।” उनले तेहरानले ‘प्रतिबद्धता’ अनुसार अघि बढेको बताए । वाशिङ्टनले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको बताए ।

हर्मुज जलमार्गमध्यबारे उनले इरानले उक्त जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै ‘दुरुपयोग’ रोक्ने अडान दोहो¥याए । अमेरिकाले गत हप्ता इरानका दक्षिणी प्रान्तहरूमा पटक–पटक हमला गरेको थियो र यसलाई ‘व्यावसायिक जहाजहरूलाई इरानबाट हुने खतरा कम गर्ने” उद्देश्यले गरिएको बताएको थियो ।

यसैबीच इरानका गृहमन्त्री एस्कान्दर मोमेनी सोमबार पाकिस्तानको राजधानी इस्लामाबाद भ्रमणमा पुगेका छन् । भ्रमणका क्रममा उनले पाकिस्तानका उच्च अधिकारीहरूसँग द्विपक्षीय तथा क्षेत्रीय सुरक्षाका विषयमा उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको पाकिस्तानी गृह मन्त्रालयका एक स्रोतले जनाएको छ ।

एएफपीसँग कुरा गर्दै ती स्रोतले मन्त्री मोमेनीले पाकिस्तानी वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने जानकारी दिएका छन् । यद्यपि, यी छलफल पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव कम गराउन गरिरहेको मध्यस्थता प्रयाससँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् वा छैनन् भन्नेबारे स्पष्ट पारिएको छैन ।

अमेरिका–इरानबीच बढ्दो सैन्य तनावका बीच पाकिस्तानले दुवै देशसँग निरन्तर संवाद कायम राख्दै आएको छ । इस्लामाबादले संयमता अपनाउन, कूटनीतिक वार्तालाई प्राथमिकता दिन तथा क्षेत्रीय अस्थिरता फैलिन नदिन दुवै पक्षलाई आग्रह गर्दै आएको छ ।

साथै, आवश्यक परे मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि आफू तयार रहेको जनाएको छ । यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेशकियानले सोमबार इरान अहिले अमेरिकासँग “पूर्णस्तरको युद्ध” मा रहेको बताएका छन् । उनको यो अभिव्यक्तिले दुई देशबीचको टकराव थप गम्भीर बन्दै गएको संकेत गरेको छ ।

यता बहराइन र कुवेतले सोमवार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । अमेरिका र इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्ला आक्रमणको जानकारी सार्वजनिक गरेका हुन् ।

अमेरिकी ‘फिफ्थ फ्लीट’ तैनाथ रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। कुवेतको सेनाले पनि इरानबाट आक्रमण गरिएको पुष्टि गरेको छ । इरानको रिभोलुसनरी गार्डले भने सोमबार कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दावी गरेको थियो ।

बहराइनको राजधानी मनामामा रहेका एएफपीका संवाददाताका अनुसार साइरन बजेसँगै विस्फोटका आवाज सुनिएका थिए । बहराइनस्थित अमेरिकी दूतावासले इरानले मध्यमनामाका केही स्थानलाई लक्षित गर्न सक्ने सम्भावित जोखिमबारे सूचना प्राप्त भएको जनाएको छ ।

दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकलाई सतर्क रहन, स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा दूतावासबाट जारी सुरक्षा सूचनामाथि ध्यान दिन आग्रह गरेको छ। अमेरिकी सैन्य उपस्थितिका कारण कुवेत र बहराइन इरानी आक्रमणको मुख्य निशानामा परिरहेका छन् ।

बहराइनले इरानमाथि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ। कुवेतले पनि पानी तथा विद्युत् उत्पादन केन्द्र र तेलसम्बन्धी पूर्वाधारमा इरानी आक्रमण भएको जनाएको छ । यसबीच आईआरजीसीले भने बहराइन र कुवेतमा रहेका अमेरिकी सेनाविरुद्ध ठुलो मात्रामा क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरिएको दाबी गरेको छ ।

बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले सोमबार विज्ञप्तिमा भनेको छ, ‘हाम्रो नौसेनाले अपरेसन नस्र–२ को २३औँ लहरअन्तर्गत तीन चरणमा अमेरिकी सेनालाई भारी क्षति गराइएको छ।’ आक्रमण बहराइनको अल–सखिर हवाई अड्डामा अमेरिकी एकाइका लागि ड्रोन मर्मत केन्द्रलाई निसाना बनाइएको बताइएको छ।

साथै बहराइनको सलमान बन्दरगाह र कुवेतको आरिफजान बेसमा टीएफ ५९ जहाज तयारी सुविधामा पनि हमला गरिएको दाबी गरिएको छ । यसैबिच अमेरिकी केन्द्रीय कमान्डले इरानमा आक्रमण गरिएको भन्दै तस्बिरहरु जारी गरेको छ । आक्रमण इरानका सैन्य कमान्ड केन्द्र, वायु रक्षा र तटीय निगरानी आधारमा गरिएको दाबी गरिएको छ ।

इरानले पनि उर्मिया, तब्रिज र बुसेहरमा आक्रमण गरिएको पुष्टि गरेको छ। रिपोर्टअनुसार तब्रिजमा एक व्यक्तिको मृत्यु भएको छ भने उर्मिया र तब्रिजमा धेरै जना घाइते भएका छन्। यसैबिच इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिकाले युद्ध रोक्ने कुरा गर्दा पनि यस क्षेत्रमा निरन्तर सैन्य उपकरण र हतियार पठाइरहेको छ।’ गालिबाफले अगाडि लेखेका छन्, ‘इरानले अमेरिकी रणनीतिलाई पूर्ण रूपमा बुझेको छ र तदनुसार तयारी गरेको छ।’

यता इरानको प्रोक्सी समूह मानिने प्यालेस्टिनी समूह हमासले आफ्ना वरिष्ठ राजनीतिक नेता खलील अल–हयालाई नयाँ प्रमुख नियुक्त गरेको छ । रोयटर्सका अनुसार हमासले समूहका सबैभन्दा अनुभवी व्यक्तिहरूमध्ये एकलाई सर्वोच्च पदमा पु¥याएको हो ।

हमासको राजनीतिक नेतृत्वमा लामो समयदेखि सक्रिय अल–हयाले इजरायलसँगको युद्धविराम वार्ता र विशेष गरी इरान लगायत क्षेत्रीय सहयोगीहरूसँगको सम्बन्ध व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । सन् १९६० मा गाजा क्षेत्रमा जन्मिएका अल–हया सन् १९८७ मा हमासको स्थापना हुनुअघि सन् १९८० को दशकको सुरुवातमै मुस्लिम ब्रदरहुडमा आबद्ध भएका थिए ।

दशकौँको अवधिमा सङ्गठनभित्र आफ्नो पकड मजबुत बनाउँदै लगेका उनले पूर्वनेताहरू इस्माइल हानिया र याह्या सिन्वारसँग नजिक भएर काम गरेका थिए । अल–हया हमासको कूटनीतिक प्रयासको केन्द्रमा रहँदै आएका छन्। उनले सन् २०१४ को गाजा द्वन्द्व अन्त्य गर्ने वार्ताका साथै जारी युद्ध रोक्नका लागि भएका पछिल्ला प्रयासहरू लगायत इजरायलसँगका युद्धविराम वार्ताहरूमा मध्यस्थता गर्न सहयोग गरेका थिए ।

हमासको मुख्य समर्थक इरानसँग नजिकको सम्बन्ध रहेका उनले अरब र इस्लामिक विश्वका लागि समूहको मुख्य प्रतिनिधिको रूपमा समेत काम गरिसकेका छन् । यसैबिच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको कफार तेब्नित क्षेत्रमा ठूलो परिमाणमा संरचना ध्वस्त पारेको छ।

साथै नाबाटिये अल–फाउका क्षेत्रमा तोपबाट गोलाबारी पनि गरिएको बताइएको छ । युद्ध थप चर्किँदै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न दुवै पक्षसँग आग्रह गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top