६ साउन , काठमाण्डौ ।
देशैभर मनसुन सक्रिय रहँदा विपतका घटनाहरु पनि बढीरहेका छन् । बाढी, पहिरो, चट्याङ्ग, डुबानले मानविय तथा भौतिक क्षति भइरहेको छ । यसैक्रममा दोलखामा सुतिरहेको ठाउँमा पहिरो खस्दा एक किसान बेपत्ता भएका छन् । गएराति गौरीशंकर गाउँपालिका–९ मा पहिरो जाँदा स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन् ।
बुधबार बिहान करिब अढाई बजे सिर्पिङ खोला जलविद्युत् आयोजनाको ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ । यस्तै आयोजनाका कर्मचारी बस्ने घरसमेत पहिरोले पूर्ण रूपमा क्षति भएको छ ।
बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी, विपद् तथा मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । सो स्थानमा जोखिमपूर्ण अवस्थामा रहेका अन्य चार जनाको भने उद्यार गरिएको छ ।
पहिरोका कारण जोखिममा परेका नजिकैको जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारीलाई उद्धार टोलीले सकुशल उद्धार गरेको हो । उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । गौरिशंकर गाउँपालिका वडा नं ९ का अध्यक्ष ङिमगेली शेर्पाका अनुसार बाढीका कारण सिप्रिङ खोला जलबिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केका थिए ।
बाढीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमासमेत क्षति गरेको र खोलाले दुवैतर्फको जमिन कटान गरेको स्थानीयको भनाइ छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् ।
यस्तै सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । आज भने एक जना वेपत्ता भएका हुन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्रमणका एक÷एक र भूकम्पका दुई वटा घटना भएका छन् ।
विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ । सात स्थानमा सडक अवरोध भएको थियो । वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । बाढी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ ।
यता लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात प्रभावित भएको छ । केही स्थानमा सडक पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ ।
बाढीको जोखिमका कारण केही राजमार्गमा रातको समयमा सवारी चलाउन रोक समेत लगाइएको छ । कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (राजदुवाली खण्ड) पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, पाँचथरको राँके–रवि–भेडेटार सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ । भोजपुर र खोटाङमा भने मध्य पहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी मात्र सुचारु रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै मुख्य राजमार्गहरूमा समय तोकेर सवारी रोकिएको छ । विपी राजमार्गको काभ्रे खण्डमा बाढीको सम्भावनाका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। यस्तै, कान्ति लोकपथको मकवानपुर खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्गको जिरोकिलो र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध पारेको छ भने रसुवाको पासाङ ल्हामु सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा छ । गण्डकी प्रदेशको बागलुङमा कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कर्णाली प्रदेशको जाजरकोटमा पनि भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) पहिरोले गर्दा पूर्ण रूपमा बन्द भएको छ । पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहे पनि मौसम प्रतिकूल हुँदा समस्या भइरहेको छ । प्रहरीले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षमा सम्पर्क गरेर सडकको अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरेको छ ।
यसबीच आज पनि कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ ।
गए राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भागको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।




