६ साउन , काठमाण्डौ ।
नेपाली राजनीतिमा एउटा चर्चित भनाइ छ— “नेपाली कांग्रेस भित्रको शत्रु अरू कोही होइन, कांग्रेस आफैँ हो।” आज साउन ६ गते । जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस । जुन नेताले नेपाली कांग्रेसलाई प्रजातन्त्रको खम्बा बनाए, जसको विचार र सिद्धान्तमा टेकेर यो देशमा ठूला–ठूला क्रान्तिहरू भए, आज तिनै बिपीलाई सम्झिने क्रममा नेपाली कांग्रेस एक ढिँका हुनुपर्नेमा दुई चिरा परेको छ ।
संस्थापन पक्ष एकातिर, इतर पक्ष अर्कोतिर । एउटै पार्टी, एउटै सिद्धान्त, तर कार्यक्रम दुई ठाउँमा । एकातिर सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष ‘ग्रिन रन’ र ‘जरा अभियान’ समापनमा व्यस्त छ भने, अर्कोतिर प्रज्ञा भवनमा इतर पक्ष शक्ति प्रदर्शन र राष्ट्रिय भेलाको तयारीमा जुटेको छ ।
पार्टी भित्र प्रष्ट कित्ताकाटकै बीच लामो समयदेखि विदेशमा उपचाररत पूर्वसभापति शेरबहादुर देउवाले स्वदेश फर्किने पूर्वसन्ध्यामा जारी गरेको कडा वक्तव्यले राजनीतिक माहोल अझ तताइदिएको छ । आज हामी विश्लेषण गर्नेछौँ , विदेशबाट देउवाले दिएको सन्देशको भित्री राजनीतिक अर्थ, चुनदेवीको समानान्तर अखडा र इतर पक्षको ५ बुँदे बटमलाइनसहित समायोजनको गाँठोका विषयमा ।
साउन ६ गते बिपी कोइरालाको निधन भएको दिन । कांग्रेसले हरेक वर्ष यो दिनलाई श्रद्धाञ्जली र वैचारिक बहसको रूपमा मनाउँदै आएको थियो । तर यो पटक दृश्य फरक छ । केन्द्रदेखि देशभरीका १६५ वटै निर्वाचन क्षेत्रसम्म दुवै समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।
पहिलो,संस्थापन पक्ष संस्थापन पक्षले बिपी स्मृति दिवसलाई नयाँ शैली र अभियानका रूपमा मनाएको छ । सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा ललितपुरको युएन पार्कदेखि जावलाखेलसम्म ग्रिन रन प्रतियोगिता, ग्रिन रन टेबुल र जलवायु संकट झल्काउने ’लाइभ पेन्टिङ’ जस्ता आधुनिक कार्यक्रम गरिए ।
यसका साथै, संस्थापन पक्षले पार्टीको जरा अभियानको औपचारिक समापन पनि आजै ७७ वटै जिल्लामा सम्पन्न गरेको छ । महामन्त्री प्रदीप पौडेलले साउन ३ गतेभित्रै क्रियाशील सदस्यता वितरण सकेर ६ गते व्यापक सहभागितामा जरा अभियान सम्पन्न गर्न सर्कुलर जारी गरेका थिए ।
संस्थापन पक्षले यस कार्यक्रमलाई भव्य बनाएर आफ्नो पकड बलियो रहेको सन्देश दिन खोजेको छ । दोस्रो, इतर पक्ष (देउवा–शेखर–निधि समूह) । विहान गगन र विश्व लगायत ग्रिन रनमा दौड लगाइरहदा शेखर कोइराला भने अस्पतालमा विरामीहरुलाई जुस र फलफूल वितरण गरिरहेका थिए ।
वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा नेता डा. कोइरालाले पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य सक्तीहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य रहेको बताए । इतर पक्षले प्रज्ञा भवनमा आज अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी इतर पक्षको छ । साउनभित्रै राष्ट्रिय भेला सम्पन्न गर्ने तयारी छ । इतर पक्षले पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्कने मिति पारेर राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ । डा. शेखर कोइरालाले मंगलबार दिउँसो मात्रै यो कार्यक्रममा जाने निर्णय सार्वजनिक भएपछि इतर पक्षलाई थप बल पुर्याएको छ ।
देशभरीका १६५ वटै निर्वाचन क्षेत्रमा यसै गरी समानान्तर कार्यक्रम गरेर पार्टीभित्र आफूहरूको उपस्थिति कत्तिको बलियो छ भन्ने देखाउन खोजेको छ । बिपी स्मृति दिवसकै अवसर पारेर स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जारी गरेको वक्तव्यले यतिबेला राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ ।
देउवाले देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै वर्तमान शासन प्रणाली र सरकारको राजनीतिक प्रतिशोधप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । गत भदौ २४ गतेको आन्दोलनका क्रममा देउवा र उनकी श्रीमती आरजु राणा देउवामाथि निर्घात कुटपिट भएको थियो ।
त्यसपछि स्वदेशमा उपचार गराएर उनीहरू फागुन २१ को आमनिर्वाचनअघि १३ फागुनमा सिंगापुर गएका थिए र पछि २०८२ चैत ७ गते हङकङ पुगेको दाबी गरिन्छ । देउवाले भनेका छन्— “म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु।”
उनले ६ दशकअघि साधारण कार्यकर्ताबाट सुरु भएको आफ्नो यात्रामा जेल, प्रतिबन्ध र अनेकौँ दमनको सामना गरे पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाएको स्मरण गराएका छन्।
देउवाले अहिले देशलाई प्रतिशोध नभई सहकार्य चाहिएको उल्लेख गर्दै भनेका छन् — “इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ।”
इतर पक्षले देउवा स्वदेश फर्किने मितिसँग मिलाएर नै साउनभित्रै राष्ट्रिय भेला बोलाउने तयारी गरिरहेको सन्दर्भमा देउवाको यो वक्तव्यलाई संस्थापन पक्ष र वर्तमान सरकार दुवैका लागि रणनीतिक दबाबका रूपमा हेरिएको छ । आखिर कांग्रेसमा यो हदसम्मको विवाद कसरी आयो? यसको जरो पहिल्याउन भने गएको पुस महिनामा पुग्नुपर्छ ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन । त्यसपछि गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति आयो । तर देउवा पक्षले त्यसलाई स्वीकार गरेन र बूढानीलकण्ठ नजिकै चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि सुरु गर्यो । अहिले आएर त्यो समानान्तर गतिविधि पार्टी विभाजनकै डिलमा पुगेको छ ।
इतर पक्षका नेता विमलेन्द्र निधिले त स्पष्ट रूपमा भनेका छन् — “पार्टी एक बनाउने कि अलग बनाउने, त्यसको साँचो संस्थापन पक्षकै हातमा छ।” निधिको भनाइ अनुसार, इतर पक्षले अघि सारेको ५ बुँदे प्रस्ताव उनीहरूको बटमलाइन हो । यदि साउन अन्तिमसम्म सहमति भएन भने इतर पक्षले छुट्टै १५औँ महाधिवेशनको तयारी गर्ने वा नयाँ पार्टी गठन गर्नेसम्मको कडा चेतावनी दिएको छ ।
पुनर्गठनपछि बन्ने केन्द्रीय कार्यसमितिको पहिलो बैठकले १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउनुपर्ने, शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा महामन्त्री गगन थापा स्वयं संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यहरूलाई स्वतः १५औँ महाधिवेशनमा सहभागी गराउनुपर्ने र सबैभन्दा पेचिलो माग— १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमिति समायोजन गर्नुपर्ने इतर पक्षको मुख्य मागहरू हुन् ।
संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरे र सभापति गगन थापाका भनाइहरूलाई हेर्ने हो भने, संस्थापन पक्ष इतर पक्षलाई समेट्न निकै लचिलो बनेको देखिन्छ । महाधिवेशन समितिहरूमा स्थान दिन संस्थापन पक्ष तयार छ । क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा पनि संस्थापन लचिलो छ ।
१५औँ महाधिवेशनको मिति हेरफेर गर्ने प्रस्तावमा पनि संस्थापन पक्ष सकारात्मक नै देखिएको छ । हालै महामन्त्री गुरुराज घिमिरेको पुस्तक ‘बुद्ध, बिपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ विमोचन कार्यक्रममा बोल्दै सभापति गगन थापाले भनेका थिए —“हामी आशा र अपेक्षा गर्छौँ, पार्टीका मूर्धन्य नेताहरूबाट प्रत्यक्ष रूपमा दीक्षित भएर आउनुभएका नेताहरूले समयको यो आह्वानलाई बुझ्नुहुन्छ। कांग्रेसलाई नयाँ बनाउने र नवीकरण गर्ने यो अभियानमा एक ठाउँ जुटेर लैजाने वातावरण बन्छ भन्ने हाम्रो अपेक्षा छ।”
त्यसो भए विवाद कहाँ छ त? विवादको मुख्य गाँठो हो— कार्यसमिति समायोजन । इतर पक्ष १४औँ महाधिवेशनको पुरानो कार्यसमिति र विशेष महाधिवेशनको नयाँ कार्यसमितिलाई मिलाएर समायोजित कार्यसमिति बनाउनुपर्ने अडानमा छ । तर संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरे भन्छन् —“कार्यसमिति नै समायोजन गर्ने विषय विधानले नै दिँदैन। विधानभन्दा बाहिर गएर समायोजन गर्न सकिँदैन, तर अन्य विषयमा भने हामी सकारात्मक छौँ।”
अर्थात्, संस्थापन पक्ष विधानको परिधिभित्र रहेर लचिलो हुन तयार छ, तर इतर पक्ष भने विशेष महाधिवेशनको वैधानिकतामाथि नै प्रश्न उठाउँदै समायोजनको माग गरिरहेको छ । यही समायोजनको गाँठो नफुकिएका कारण आज बिपी स्मृति दिवस जस्तो ऐतिहासिक दिनमा पनि दुवै पक्ष फरक–फरक मञ्चमा उभिन पुगेका हुन् ।
अब प्रश्न उठ्छ— साउन महिनाभित्र कांग्रेसको यो विवादले कस्तो रूप लेला? के कांग्रेस फेरि २०५९ सालमा जस्तै विभाजनको तीतो यथार्थ भोग्न बाध्य होला? इतर पक्षले पूर्वसभापति शेरबहादुर देउवा विदेशबाट नेपाल फर्कने मिति पारेर साउनभित्रै राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ ।
यदि साउन अन्तिमको यो भेलाअघि नै कार्यसमिति समायोजनको विकल्पमा कुनै मध्यमार्गी बाटो पहिल्याउन सकियो भने, कांग्रेस विभाजनबाट जोगिन सक्छ । संस्थापन पक्ष सदस्यता र समितिहरूमा लचिलो भइसकेकाले नेतृत्वले कार्यसमितिमा कस्तो व्यावहारिक समाधान निकाल्छ, त्यसमै एकता निर्भर छ ।
यसका साथै, यदि साउन अन्तिमसम्म पनि सहमति जुटेन भने, विमलेन्द्र निधिले भने अनुशार नै इतर पक्षले छुट्टै १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नेछ । एउटै पार्टीभित्र दुईवटा महाधिवेशन हुनु भनेको व्यावहारिक रूपमा पार्टी फुट्नु नै हो । यसले निर्वाचन आयोग र अदालतसम्म मुद्दा पुर्याउनेछ ।




