८ साउन , काठमाण्डौ ।
सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आफ्नो अनशन समाप्त गरेका छन्। नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर विद्यार्थीहरूको मागलाई समर्थन गर्दै उनी अनशनमा बसेका थिए। भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहका साथै लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा उनले अनशन तोडेका हुन्।
वाङचुकले सामाजिक सञ्जाल ’एक्स’ (ट्विटर) मा लेखेका छन्, “यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले पत्र लेखेर मलाई अनशन तोड्न आग्रह गर्नुभएको थियो।“ उनले यो निर्णय विभिन्न सर्तहरूमा गरिएको लामो छलफल र देशमा हुन सक्ने सम्भावित हिंसाको आशंकालाई ध्यानमा राखेर लिइएको बताएका छन्।
उनले यी सर्तहरूबारे चाँडै नै एउटा छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिने स्पष्ट पारेका छन्। यसैबीच, उनले आफ्ना समर्थक र जनतालाई कतै पनि कुनै प्रकारको हिंसा हुन नदिन र सतर्क रहन विशेष अपील गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले राति करिब १२ बजे भिडियो सन्देशमार्फत दोषीमाथि कडा कारबाही गर्ने र यसका लागि मन्त्रिपरिषद्बाट ठूलो निर्णय गरिने घोषणा गरेको केही मिनेटमै वाङचुकले अनसन तोड्ने निर्णय गरेका हुन्।
नड्डाले अस्पतालमै उनलाई जुस पिलाएर अनशन तोडाएका थिए। अनसन अन्त्य गरेपछि सामाजिक सञ्जालमार्फत वाङचुकले विभिन्न राजनीतिक दलका ६५ जना सांसदले आफूलाई भेटेर वा पत्रमार्फत अनसन अन्त्य गर्न आग्रह गरेको जानकारी दिएका छन्। देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै र केही निश्चित सर्तमा सहमति भएपछि आफूले यो निर्णय लिएको उनले बताएका छन्।
सार्वजनिक गरिएको भिडियोमा केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंह गुरुग्रामस्थित मेदान्त अस्पताल पुगेर वाङचुकसँग भेटघाट गरेको देखिन्छ। सरकार र जन्तर–मन्तरमा करिब एक महिनादेखि आन्दोलनरत सीजेपी समर्थकबीच पटक–पटक वार्ता भए पनि यसअघि सहमति हुन सकेको थिएन।
आन्दोलनकारीमाथि दण्डात्मक कारबाही नगर्ने आश्वासनतर्फ सरकार सकारात्मक भएपछि वाङचुकले अनशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ। वाङचुकले जुन २८ देखि अनिश्चितकालीन आमरण अनसन सुरु गरेका थिए। उनले विभिन्न प्रतियोगी परीक्षामा भएको भनिएको प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा जवाफदेहिताको माग गर्दै आन्दोलनरत विद्यार्थी तथा युवालाई समर्थन गरेका थिए।
आन्दोलनका क्रममा उनले शिक्षा प्रणालीमा पारदर्शिता, जिम्मेवारी निर्धारण तथा दोषीमाथि कडा कारबाहीको माग उठाएका थिए। लगातार भोकअडतालका कारण जुलाई १८ मा उनको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि चिकित्सकको सल्लाह र अदालतको निर्देशनअनुसार दिल्ली प्रहरीले उनलाई सफदरजङ अस्पताल भर्ना गरेको थियो।
अस्पताल लैजाँदा वाङचुकले त्यसप्रति असन्तुष्टि पनि जनाएका थिए। पछि दिल्ली उच्च अदालतको अनुमति पाएपछि उनलाई सफदरजङ अस्पतालबाट गुरुग्रामस्थित मेदान्त अस्पताल सारिएको थियो। वाङचुकले सरकार आन्दोलनका मागप्रति गम्भीर बने, संसद्मा छलफलको सुनिश्चितता गरेर शान्तिपूर्ण प्रदर्शनकारीमाथि प्रतिशोधात्मक कारबाही नगरिने विश्वास दिलाइए आफू अनसन अन्त्य गर्न तयार हुने संकेत दिएका थिए।
त्यसपछि सरकार र आन्दोलनकारीबीच वार्ताको प्रक्रिया अघि बढेको थियो। यता, बिहीबार राति प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देश जारी गर्दै भारतका युवाको भविष्य सुरक्षित गर्नु सरकारको सर्वोच्च प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्ले अघिल्लो दिन घोषणा गरिएका उपायभन्दा अझ कडा निर्णय गर्ने संकेत दिएका थिए।
साथै परीक्षा प्रणालीमा हुने धाँधलीमा संलग्न दोषीमाथि कडा कारबाही गरिने, संसद्ले सम्बन्धित कानुन छिट्टै पारित गर्ने तथा पेपर लीकसम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट–ट्र्याक अदालत गठन गरिने घोषणा गरेका थिए। प्रधानमन्त्री मोदीले विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने जो–कोहीलाई कुनै हालतमा नछोडिने चेतावनी दिँदै सम्बन्धित निकायलाई आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको पनि बताएका छन्।
बिहीबार राति ११ः५२ बजे सामाजिक सञ्जाल ’एक्स’ मार्फत २ मिनेट ५६ सेकेन्डको भिडियो सार्वजनिक गर्दै मोदीले भने, ’पेपर लीक कुनै सामान्य विषय होइन। यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि निकै पीडादायी छ। त्यसैले हामीले दोषीहरूलाई कडा सजाय दिन फास्ट ट्रयाक कोर्ट बनाउने निर्णय गरेका छौं।’
प्रधानमन्त्रीका अनुसार सम्बन्धित विभागहरूले तयार पारेको मस्यौदामा फास्ट ट्रयाक कोर्ट र कठोर सजायका प्रावधानहरू समावेश छन्। यस मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ। नयाँ कानुनले प्रश्नपत्र बाहिरिने घटनामा संलग्न गिरोहलाई १० वर्षसम्मको जेल र १ करोड भारुसम्मको जरिवाना गर्न सक्ने प्रावधान राख्ने तयारी गरिएको छ।
यो कदम गत मे ३ मा भएको नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनापछि उत्पन्न आक्रोशलाई साम्य पार्न चालिएको हो। यस विषयलाई लिएर दिल्लीको जन्तरमन्तरमा ’ककरोच जनता पार्टी’ ले प्रदर्शन गरिरहेको छ भने सामाजिक अभियन्ता सोनम वाङचुकले पनि अनशन बसेर विरोध जनाएका थिए।
सरकारले पेपर लीक प्रकरणलाई गम्भीरतापूर्वक लिँदै शिक्षा मन्त्रालयमा ठूलो प्रशासनिक फेरबदल समेत गरेको छ। बिहीबार १७ जना वरिष्ठ अधिकारीहरूको सरुवा र बढुवा गरिएको छ। प्रधानमन्त्री मोदीको मध्यरातको भिडियो सन्देशलाई विपक्षी नेता राहुल गान्धीले व्यर्थको भिडियो भन्दै आलोचना गरेका छन्।
गान्धीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ’मिस्टर मोदी, विद्यार्थीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। मध्यरातमा यस्ता भिडियो हालेर उनीहरूको बुद्धिको अपमान नगर्नुहोस्। मन्त्रीलाई हटाउनुहोस् र विद्यार्थीहरूसँग माफी माग्नुहोस्।’
नीट–यूजी परीक्षाको प्रश्नपत्र लीक भएको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्। विद्यार्थीहरूको यही माग र आन्दोलनलाई ऐक्यबद्धता जनाउन सोनम वाङचुक विगत २६ दिनदेखि अनशनमा बसेका थिए।
कक्रोच आन्दोलनलाई लिएर ब्यापक जनसमर्थन बढ्दै गएको छ । भारतका अन्य शहरहरमा पनि प्रर्दशन हुँदै आएका छन् । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरी कारबाही भएपछि बलिउडका कलाकारहरूले उनीहरूको समर्थनमा खुलेर आवाज उठाएका छन् ।
फिल्म क्षेत्रका अभिनेता, अभिनेत्री तथा गायकहरूले सामाजिक सञ्जालमार्फत विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् भने केही कलाकार प्रत्यक्ष रूपमा दिल्ली र मुम्बईमा आयोजित प्रदर्शनमा समेत सहभागी भएका छन् । विद्यार्थी आन्दोलनको समर्थनमा सलमान खानले अत्यन्तै शान्तिपूर्ण आन्दोलन ले हिंसात्मक रूप लिनुपरेकोमा निकै दुःख लागेको भन्दै घाइते भएका विद्यार्थी र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति रहेको बताएका छन् ।
उनले विद्यार्थीहरूको आन्दोलनको शैलीको प्रशंसा गर्दै लेखेका छन्, ‘उनीहरूले देखाएको समर्पण, इमानदारी र कडा मेहनत गरेर आफ्नो भविष्य तथा शिक्षित भारत निर्माण गर्ने प्रतिबद्धताको म सम्मान गर्छु । यो आन्दोलन सही बाटोमा अघि बढेको छ र विद्यार्थीहरूले यसलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाएका छन् । उनीहरूको साहस र दृढताले भारतलाई गर्व गराउनेछ ।’
केही कलाकार प्रत्यक्ष रूपमा आन्दोलनमा पनि सहभागी भएका छन् । अभिनेत्री हुमा कुरैशी आफ्ना भाइ तथा अभिनेता साकिब सलीम र अभिनेता रचित सिंहसँग जन्तर–मन्तर पुगेर विद्यार्थीहरूसँग ऐक्यबद्धता जनाइन् । यस्तै वरिष्ठ कलाकार शबाना आजमी, नसिरुद्दिन शाह र प्रकाश राज पनि जन्तर–मन्तर पुगेका थिए ।
उनीहरूले शैक्षिक सुधारको माग गर्दै अनशन बसेका विद्यार्थीहरूलाई समर्थन जनाएका थिए । यस्तै अभिनेता ऋतिक रोशनले पनि विद्यार्थी आन्दोलनको समर्थन गरेका छन् । सोनमको अनशन अन्त्यसँगै ककरोच जनता पार्टी (सीजेपी) र भारत सरकारबिच पनि वार्ताको तयारी भइरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
बिहीबार केन्द्रीय मन्त्री जितेन्द्र सिंहले सीजेपीका प्रतिनिधिहरूलाई वार्ताका लागि आमन्त्रण गर्दै केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाको घर वा कार्यालयमा वार्ता गर्न सकिने प्रस्ताव राखेका हुन्। सरकारले वार्ताका लागि तयार रहेको बताए पनि सीजेपीले भने वार्ताको स्थानप्रति विरोध जनाएको छ।
सीजेपीका प्रवक्ता आशुतोष रांकाले वार्ता कुनै तटस्थ स्थानमा हुनुपर्ने माग गरेका छन्। जन्तरमन्तरमा उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै आशुतोषले भने, ‘जन्तरमन्तरमा आउन उनीहरू धेरै डराइरहेका छन्, त्यसैले मैले न उनीहरूको घर होस् न त जन्तरमन्तर नै होस् भन्ने जस्तो तटस्थ स्थान तोक्न सुझाव दिएको थिएँ।’ प्रदर्शनकारीहरू अझै पनि केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागमा अडिग रहेका छन्।




