२५ साउन , काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
पछिल्लो समय प्रधानमन्त्री शाह र लामिछानेबीच दूरी बढेको चर्चा भइरहेका बेला भएको भेटलाई सम्बन्धमा देखिएको तिक्तता कम गर्ने प्रयासका रूपमा हेरिएको छ । उच्चस्रोतका अनुसार भेटमा पार्टी र सरकारबीचको समन्वय, सरकारको कामकारबाहीबारे छलफल भएको थियो ।

हालै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्दै आफूले सहयोग नपाएको संकेत गर्दै एक्लो परेको आशय व्यक्त गरेका थिए । सत्तारुढ रास्वपाकै सांसदहरूले सरकारको कामकारबाही र जनजीविकाका सवालमा संसदमा आलोचना गर्दै आएका छन् ।
उनीहरुले सरकारको कारकारबाहीबारे प्रश्च उठाइरहेका छन् । त्यसप्रति प्रधानमन्त्री शाह पक्ष असन्तुष्ट रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार भेटमा सरकारलाई थप प्रभावकारी बनाउने, मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गर्ने लगायतको विषयमा छलफल भएको थियो ।
उनीहरुबीचको भेटमा केही राजनीतिक नियुक्तिका साथै प्रधानमन्त्री शाहले गर्ने भनिएको भारत भ्रमण र सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको बुझिएको छ । दुवै नेताबीचको छलफलमा प्रधानमन्त्रीको सचिवालयका कुनै सदस्य सहभागी नभएको बताइएको छ ।
उच्च स्रोतका अनुसार राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ । ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ,’ बालुवाटार स्रोतले भन्यो ।
बालेन प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपल्ट बालुवाटार निवास गएका हुन् । बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्रायः कुनै पनि भेटघाट गर्दैनन् । पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन’ भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।
प्रधानमन्त्री बालेनले सही समय आउन ढिला होला, तर गलत नहुने स्पष्ट पारेका थिए । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ दल रास्वपाकै सांसदहरूले नै विरोध जनाउन थालेपछि बालेनको अभिव्यक्तिलाई लिएर विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।
बालेनले लेखेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।’
गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अभूतपूर्व नतिजा ल्याएर शक्तिशाली सरकारका प्रधानमन्त्री बनेका बालेनले एक्लै लड्नु परेको कुरा उजागर गरेपछि उनलाई पछिल्लो समय पार्टीभित्रैबाट असहयोग भएको हो कि भन्ने शङ्का उब्जिएको छ ।
तर सभापति रविले शनिबार मात्रै लिकबाट सरकार बाहिर गए हस्तक्षेप गर्ने तर सरकारको मुल्यांकन गर्ने समय नभएको भन्दै आफूले डोहोर्याएर सरकारलाई गन्तब्यमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
‘सरकारले आफ्नो बाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ’, उनले भनेका थिए, ‘तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ । सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ ।’
त्यसअघि सरकारले काम गरिराखेको भन्दै प्रधानमन्त्री शाहले शनिबार बिहानै अर्को स्टाटस लेखेर विभिन्न आशङ्कालाई निवारण गर्ने प्रयास गरेका थिए । वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका राष्ट्रिय उद्योग फेरि सञ्चालनमा ल्याएको, सार्वजनिक संस्थानहरूलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको विषयलाई सरकारले इमानदार प्रयासका रूपमा उनले उल्लेख गरेका थिए ।
कानुन कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको दाबी थियो । त्यसअघि बालेनको भनाइलाई लिएर रास्वपाका पूर्वप्रवक्ता मनिष झाले परिवर्तनका लागि महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जबाफ फर्काएका छन् ।
झाले शुक्रबार संसदमा सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै नियतमा कुनै शङ्का नभए पनि काम गर्ने ढङ्ग नपुगेको बताएका थिए । ‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ । जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’
पछिल्लो समय सुकुमबासी व्यवस्थापन , कोशी, मधेस प्रदेशमा फैलिएको साम्प्रदायिक दङ्गा नियन्त्रण गर्न समयमै पहल नगरेको, आम नागरिकका दैनिक जीवनसँग ‘सर्भिस डेलिभरी’ बाचापत्र अनुसार नभएको, संसद्मा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएको , सीमा सम्बन्धी अभिव्यक्ति लगायत विषयमा सरकार आलोचित भएको छ ।
यसै विषयमा केन्द्रित भएर सभापति रवि र प्रधानमन्त्री बालेनबिच छलफल भएको बताइएको छ। हिजो मात्रै रास्वपाले महिनामा एक पटक मन्त्री पार्टी कार्यालयमा उपस्थित भएर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था मिलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका मन्त्रीहरूले महिनामा कम्तिमा एक पटक अनिवार्य रूपमा नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने निर्णय गरेको छ।
सहमहामन्त्री एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौ महिनादेखि मन्त्रीहरूले पार्टी कार्यालयमा भेटघाट सुरू गर्ने जनाएका हुन्। शाहले जारी गरेको विज्ञप्तिमा पहिलो चरणमा अपराह्न ५ बजेदेखि ६ बजेसम्म नागरिकका लागि खुला रहने उल्लेख छ।
दोस्रो चरणमा साँझ ६ बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधि सभाका सांसदहरुको संयुक्त बैठक बस्नेछ। नागरिक, सरकारका मन्त्री र सांसदबीचको समन्वय चुस्त बनाउने उद्देश्यले भेटवार्ता सुरू गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।
साथै यसले मन्त्रीहरूलाई नागरिकसँग जबाफदेहि बनाउने जनाइएको छ। सहमहामन्त्री शाहले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीले भदौदेखि ’नागरिक, नीति र नेतृत्व’ कार्यक्रम अन्तर्गत मन्त्रीहरूले पार्टी केन्द्रीय कार्यालयमा गएर सर्वसाधारण र पार्टी कार्यकर्ताका कुरा सुन्ने जानकारी दिएका छन् ।
’लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो । यसै यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ’नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दै छ,’ सहमहामन्त्री शाहले भनेका छन्, ’यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु हुनेछ । जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ ।’




