काठमाडौं- टाइफुन डल्फिनको प्रभावका कारण चीनको सांघाईका विमानस्थलबाट सोमबार सञ्चालन हुने करिब ४० प्रतिशत उडान रद्द भएका छन् । पूर्वी चीनमा आइतबार साँझ प्रवेश गरेको डल्फिन उत्तरतर्फ अघि बढिरहेसँगै सांघाईमा भारी वर्षा जारी छ । सांघाई सरकारले सोमबार बिहान जारी गरेको सूचनाअनुसार पुडोङ विमानस्थलबाट ६४२ र हङछियाओ विमानस्थलबाट ३०१ उडान रद्द भएका छन् । यात्रुहरूलाई आफ्नो सम्बन्धित विमान कम्पनीसँग उडानसम्बन्धी पछिल्लो जानकारी लिन आग्रह गरिएको छ ।
भारी वर्षाका कारण प्रभावित रेल सेवा पनि सोमबार बिहानदेखि केही हदसम्म पुनः सञ्चालनमा आउन थालेका छन् । झेजियाङ प्रान्तको राजधानी हाङझाउतर्फ जाने रेल सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ । तर, भारी वर्षाका कारण सांघाईका चारवटा मेट्रो लाइन पूर्ण रूपमा बन्द गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
सांघाईको बाढी नियन्त्रण मुख्यालयले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । शहरका केही क्षेत्रमा ३० सेन्टिमिटर सम्म पानी जम्न सक्ने चेतावनी दिइएको छ ।

भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै शहरका विभिन्न जिल्लामा चार तहको चेतावनी प्रणालीअन्तर्गत दोस्रो र तेस्रो उच्च तहका सुन्तला र पहेँलो वर्षा चेतावनी जारी गरिएको छ ।
आइतबार दिउँसो सांघाईका धेरै सडक तथा लोकप्रिय व्यापारिक केन्द्रहरूमा पानी जमेको थियो । स्थानीय सञ्चारमाध्यम ‘द पेपर’ले बाढीका कारण स्थानीय बासिन्दाले भोग्नुपरेका समस्याबारे समाचार प्रकाशित गरेको छ ।




