२६ साउन , काठमाण्डौ ।
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन । जस्ले गर्दा सम्भावित मानवीय क्षति जोगाउन बागमती प्रदेशका रणनीतिक महत्त्वका वीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
नेपाल प्रहरीद्वारा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन र यात्रा गर्नुपूर्व सडकको अवस्था अनिवार्य रूपमा बुझ्न सर्वसाधारण तथा यातायात व्यवसायीहरूलाई विशेष आग्रह गरिएको छ।

पछिल्लो केही दिनयता देशका विभिन्न भूभागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण जनजीवन प्रभावित बन्नुका साथै यातायात सेवा पनि अवरुद्ध भएको छ । नेपाल प्रहरीको हालैको पछिल्लो तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो मुख्य सडक खण्डहरू बन्द रहेका छन्, जसले गर्दा लामो तथा छोटो दूरीका यात्रुहरू अलपत्र परेका छन् ।
प्राप्त विवरण अनुसार, राजधानीलाई पूर्व र तराईका जिल्लाहरूसँग जोड्ने प्रमुख मार्ग वीपी राजमार्ग र कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले रात्रिकालीन समयमा सवारी साधन सञ्चालन गर्न निषेध गरेको छ।
प्रहरीले दिएको जानकारी अनुसार वीपी राजमार्गको काभ्रे खण्डमा प्रत्येक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । यसैगरी, कान्ति लोकपथको मकवानपुर तथा ललितपुर क्षेत्रमा पनि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने छैन।
सडक अवरोधका अन्य घटनाहरूमा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकका लिपिङ, कोदारी र चारकिलो क्षेत्रमा गएको भीषण पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प भएको छ। यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि अवरुद्ध रहँदै आएको छ।
यसैक्रममा, देशका विभिन्न प्रदेशहरूमा पनि मौसमजन्य विपद्का कारण सडक सञ्जालहरू नराम्ररी प्रभावित भएका छन्। कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग, जुन झापादेखि ताप्लेजुङ जोड्ने मुख्य धमनी हो, त्यो अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यद्यपि, राहतको कुरा भनौं वा आंशिक सञ्चालनको अवस्थामा, भोजपुरस्थित मध्यपहाडी लोकमार्ग भने बाढीको प्रभावका बीच हाल एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ । अर्कोतर्फ, गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग लगातारको पहिरोका कारण पूर्ण रूपमा ठप्प रहेको छ भने सोही प्रदेश अन्तर्गत बागलुङको कालीगण्डकी करिडोर भने मर्मत पश्चात् एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रहरूमा पनि सडक अवरोधले ठूलो सास्ती दिएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको बाजुरास्थित कर्णाली करिडोर अन्तर्गतको कालीकोट–हुम्ला सडक खण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्, जसले गर्दा यी क्षेत्रहरूको यातायात सम्पर्क प्रायः विच्छेद जस्तै बनेको छ।
आपत्कालीन अवस्था र विपद्का घटनाहरूलाई नजिकबाट नियालिरहेको नेपाल प्रहरीले यात्रा गर्नैपर्ने अवस्थामा सडकको आधिकारिक अवस्था बुझेर मात्र निस्कन र विशेष गरी जोखिमपूर्ण भिरालो तथा नदी किनारका खण्डहरूमा उच्च सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।
यता जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि आज पहाडी तथा हिमाली भूभागका स–साना नदी र खोलाहरूमा भने आकस्मिक बाढीको खतरा औँल्याइएको छ । महाशाखाले सोमबार देशका ३२ जिल्ला भई बहने स–साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।
पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनका साना नदीमा जलसतह बढ्न सक्नेछ ।
यसैगरी गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटीका आसपास भई बहने खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमानलाई दृष्टिगत गर्दै महाशाखाले आगामी दुई दिनसम्म पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधबार र बिहीबार खासगरी कोशी र गण्डकी प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना छ। तसर्थ, जोखिम क्षेत्रका नदी र खोला किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।




