काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। मङ्गलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले त्यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेजको संरक्षण गर्नु अपरिहार्य रहेको बताए ।
राष्ट्रिय अभिलेखालयमा सुरक्षित ऐतिहासिक दस्तावेजहरू नेपालको अमूल्य सम्पत्ति भएकाले तिनलाई भावी पुस्ताका लागि सुरक्षित रूपमा संरक्षण गर्नुपर्ने उनको भनाइ थियो। ‘यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्तावेजलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि धन्यवाद,’ अर्थमन्त्री वाग्लेले अभिलेखालयका कर्मचारीलाई भने- ‘अध्येता, विद्यार्थी र इतिहासमा रुचि राख्नेहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौँ।’
अवलोकनका क्रममा उनले विभिन्न ऐतिहासिक शासन व्यवस्थाका आर्थिक तथा राजनीतिक गतिविधिसँग सम्बन्धित अभिलेख र सङ्ग्रहबारे जानकारी लिएका थिए ।

सो क्रममा अर्थमन्त्री वाग्लेले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा त्यसबाट सञ्चालित कार्यक्रमको प्रभावकारिताबारे पनि कर्मचारीसँग चासो राखेका थिए । अर्थमन्त्री वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत तथा साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक दस्तावेजको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताइन् ।
सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधारको अभावमा अभिलेखहरूको संरक्षण तथा सुरक्षा गर्न कठिन भइरहेको उनको भनाइ थियो। स्रोतको अभावकै कारण अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी तथा सरकारी निकायलाई समेत पर्याप्त जानकारी गराउन नसकिएको उनले बताइन् । महानिर्देशक प्रधानाङ्गले नयाँ स्थानमा आवश्यक जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि बजेटमार्फत लगानी गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।






