एक वर्षमा प्रेस स्वतन्त्रतासम्बन्धी १०१ घटना, धम्की र आक्रमण बढ्याे

२७ साउन ८३, बुधबार

काठमाडौँ- नेपालमा एक वर्षको अवधिमा प्रेस स्वतन्त्रतासम्बन्धी १०१ वटा घटना भएको पाइएको छ। प्रेस काउन्सिल नेपालले गरेको स्वअनुगमनअनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्म प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेपका १०१ घटना अभिलेखन गरिएको हो।

Advertisement

काउन्सिलका अनुसार उक्त अवधिमा सबैभन्दा बढी धम्कीका ३६ घटना भएका छन्। यस्तै, आक्रमणका २७, पेसागत असुरक्षाका १३, कब्जा/अवरोधका १०, दुर्व्यवहारका ५ तथा गिरफ्तारी, गालीगलौज र नीतिगत बन्देजका ३/३ घटना भएका छन्। शङ्कास्पद मृत्युको एक घटना पनि अभिलेखन गरिएको काउन्सिलले जनाएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी घटना बागमती प्रदेशमा ४७ वटा भएका छन्। मधेसमा १८, कोशीमा १२, सुदूरपश्चिममा ९, गण्डकीमा ८, लुम्बिनीमा ५ र कर्णाली प्रदेशमा २ वटा घटना भएको काउन्सिलको तथ्यांक छ।

Advertisement

लैङ्गिक आधारमा हेर्दा घटनाबाट ११९ जना पत्रकार पीडित भएको पाइएको छ। तीमध्ये ११३ जना पुरुष र ६ जना महिला पत्रकार छन्। एउटै घटनामा एकभन्दा बढी व्यक्ति पीडित भएका कारण पीडितको संख्या घटना संख्याभन्दा बढी देखिएको काउन्सिलले स्पष्ट पारेको छ।यस अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगका चार घटना पनि अभिलेखन गरिएको छ। तीमध्ये बागमतीमा दुई तथा मधेस र कोशीमा एक/एक घटना भएको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन काउन्सिलले अनुगमन, उजुरी सुनुवाइ तथा आवश्यक कारबाही गर्दै आएको छ। काउन्सिलले प्रेस स्वतन्त्रतासम्बन्धी कार्यक्रम तथा छलफल, सञ्चारमाध्यमको स्थलगत अध्ययन/अनुगमन र श्रमजीवी पत्रकारका उजुरी तथा निवेदनमाथि सुनुवाइसमेत गर्दै आएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top