त्रिशूलीमा भेटिएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, अहिलेसम्म कति जुट्यो सहायता ?

१३ भदौ ८३, शनिबार
Share this
721shares

१३ भदौ , काठमाण्डौ ।

Advertisement

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावितहरूको उद्धार आज चौथो दिन पनि निरन्तर चलिरहेको छ । तर अझै पनि हजारौं जना हराइरहेका छन् । यद्यपि आज बिहान ८ बजेसम्ममा नेपाली सेनाका हेलिकप्टरबाट २ हजार ४६५ जनाको उद्धार भएको छ ।

बाढीबाट प्रभावित टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरूबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक मात्रै १६३ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ । जसमा ११३ भारतीय, ४ जर्मन, २६ चिनियाँ, २ अमेरिकन, २ इटालियन, १ ओमान, १५ कोरियन नागरिक छन् ।

Advertisement

टनेलबाट उद्धार गरिएका १९१ जनासहित २२६५ जना र स्थल उद्धार २०० जना गरी जम्मा २ हजार ४६५ जनाको उद्धार गरिएको हो । नेपाली सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्रहरू त्रिशूली र धुन्चेमा गरी हालसम्म १७ सय ६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ६ हजार ७ सयभन्दा धेरै फौज खटिएका छन् । समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको सेनाले जनाएको छ ।

Advertisement

विभिन्न राहत सामग्रीहरू काठमाडौँबाट त्रिशूलीसम्म स्थल मार्गबाट ढुवानी गरी हवाई साधनमार्फत पीडितस्मम पठाइएको छ । यहाँहरुलाई जानकारी गराउँ, अहिलेसम्म ३६ सय के.जी. त्रिशूली थ्री ए टनेल इलाकामा, ५ सय के.जी. मैलुङमा, २२० के.जी. बेत्रावतीमा ढुवानी गरिएको छ ।

नेपाली सेनाको ८४ जनासहित सशस्त्र र नेपाल प्रहरी गरी १४६ जनाको टोली त्रिशूली थ्री ए टनेल इलाकामा भाद्र १२ गतेदेखि उद्धार कार्यमा खटिइरहेका छन् । दर्शकबृन्द दुःखका साथ यो संख्या हामी यहाँहरुलाई जानकारी गराइरहेका छौं कि हालसम्म फेला परेका शवको संख्याः ६१६ पुगेको छ ।

सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १५८ शव फेला परेको हो । अन्य रसुवा, नुवाकोट, धादिङ, गोरखा तनहुँ र नवलपरासी पश्चिममा शव फेला परेका जनाइएको छ । र दुर्भाग्यवश यो संख्या अझै ठूलो हुनसक्ने ठानिएको छ ।

किनभने अझै पनि धेरै शवहरु संकलन गर्न बाँकी रहेको प्रभावित क्षेत्रका स्थानीयहरुले बताएका छन् । कयौं ठाउँमा यत्रतत्र शवहरु छरिएको जसलाई हाल छोपेरमात्रै राखिएको भन्ने खालका भनाइहरु यतिकै पनि सामाजिक संजालहरुमा स्थानीयहरुले राखिरहेका छन् ।

कयौं विद्यार्थीहरुसहित स्कुल नै लेदोमा पुरिएको भन्ने पनि अपुस्ट खबर छ । मानिसहरु आफ्नो हराएका परिवारका सदस्यहरु खोज्न भौतारिरहेका छन् । कयौं बच्चाहरु भेटिएका छन, जसको परिवारसंग सम्पर्क हुन सकिरहेको छैन । यता यो विपतमा परि हालसम्म घाइते तथा अन्य उद्धार गरिएको संख्याः ४,४५१ रहेको छ ।

भने सम्पर्कविहीनको संख्याः १,९२४ भनिएको छ, जुन योभन्दा पनि बढी हुनसक्ने ठानिएको छ । सम्पर्कविहीन प्रहरी कर्मचारीमात्रै ः २७ जना छन् । उनीहरु पहिलो दिनदेखि नै हराइरहेका थिए । कयौं बैंकका कर्मचारीहरु, अन्य कार्यालयका कर्मचारी, यात्रामा निस्किएका कयौं यात्रुहरु बससहित वेपत्ता भएका छन् । जसको खोजीकार्य जारी छ ।

यसकार्यका लागि अर्थात उद्धारमा १५ हजार ४३१ सुरक्षाकर्मी परिचालित छन् । यस्तै विभिन्न अस्पतालमा उपचाररत घाइतेको संख्या १०१ रहेको छ । यसैबीच बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको सशस्त्रका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको पनि डिएसपी थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालका अनुसार घटनामा केही व्यक्ति पक्राउ परेका छन् । धादिङ–१ की रास्वपा सांसद आशिका तामाङले बैंकको सेफ फोडेर पैसाँ बाडिएको भनेर लगातार सामाजिक सञ्जालबाट आवाज उठाउँदै आएकी थिइन् । ्

यसैबीच जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाएको छ । भोटेकोसी र त्रिशूली नदीमा हाल जलसतह सामान्य छ । तर, माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम कायमै छ ।

त्यसैले नदी किनारमा आवतजावत नगर्न र पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ । महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको र त्यो फुट्ने जोखिम रहेको जानकारी दिए ।

“नदी थुनिएर बनेको ताल बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ । ताल फुटेमा फेरि पानीसँगै ढुंगा, माटो तथा गेग्य्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ,” उनले भने, “भोटेकोसीमा बाढी आएपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको खतरा बढेमा पूर्वसूचना जारी गर्नेछौँ ।”

महाशाखाले उक्त जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार तथा अरू जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

यसैबीच रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय सरकारले गरेको थियो ।

विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन् ।

यसैगरी धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका विपद् संकटग्रस्त घोषणा गरिएको छ भने तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका रहेका छन् ।

नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ । विपद् संटग्रस्त क्षेत्र घोषणा भएपछि ती क्षेत्रहरूमा राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन कानुनी रूपमा सरकारलाई सहज हुनेछ।

यता झन्डै दुई हजार मानिस अझै बेपत्ता रहेका विवरणमाझ अन्तर्राष्ट्रिय सहायता संस्थाहरू र विभिन्न सरकारहरूले आपत्कालीन सहायता प्रयासलाई तीव्र बनाएका छन् । युरोपेली सङ्घलगायत क्यानडा र अमेरिकासहितका देशहरूले नेपालमा सहायता सामग्री वा आर्थिक सहयोग पठाउने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका एक प्रवक्ताका अनुसार दशौँ हजार घरपरिवारलाई खाद्यान्न र आपत्कालीन रूपमा खानेपानीको आवश्यकता परेको छ । यसबीच थप वर्षा हुने सम्भावना रहेकाले उद्धार तथा खोजी कार्यमा थप कठिनाइ आउन सक्ने बताइएको छ ।

नुवाकोट र रसुवाको विभिन्न स्थानबाट बिहीवार ठूलो सङ्ख्यामा उद्धार गरेर ल्याइएकाहरूलाई जिल्लाको विभिन्न स्थानमा राखिएको सरकारी अधिकारीहरूले बताएका छन् । नुवाकोटको बट्टार कभर्ड हल, विदुरमा रहेको सेफ हाउस, कोलोनीलगायत स्थानमा खासगरी रसुवाबाट उद्धार गरेर ल्याइएकालाई राखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार नुवाकोट र रसुवाको विभिन्न स्थानबाट पेसा व्यवसायको सिलसिलामा आएकाहरू केही भने परिवारको सम्पर्कमा पुगेपछि घर फर्किएका छन् । यसबीच आफन्त नभेटिँदा मानिसहरु तनाव र अत्यास छन् र हालसम्म केही देश, व्यक्ति तथा संस्थाले सहयोग गरिसकेको अवस्था छ भने केहीले सहयोगको प्रतिबद्धता स्वरुप रकम घोषणा गरिसकेका छन् ।

अर्थमन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ। यो रकम अनुदान हुने जनाइएको छ । विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरुप १६७ मिलियन अमेरिकी डलरको घोषणा गरेको छ।

यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ। यसैबीच अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेको छ भने अष्ट्रेलियाको सरकारले १ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेका छन्।

त्यसैगरी एशियाली विकास बैंकले प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग रकम उपलब्ध गराउने भएको छ। साथै, भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता वापत शनिबारसम्म सहयोग उपलब्ध गराउने छन्।

अर्थमन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रका लागि चीन सरकारले ३० बेलीबिज्र सहयोग गर्ने घोषणा गरेको छ। साथै चीनले दुई हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ पनि सहयोग गर्नेछ।
स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्रयाङ संयुक्त राष्ट्र संघको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घले भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने जनाएको छ ।

रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ। आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए।

आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भने, ‘आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्त जारी रहन्छ।’

अर्थमन्त्रालयका अनुसार बाढी प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खाद्यान्न, अस्थायी आवासका सामग्री, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सामग्रीसहित आवश्यक उपकरण उपलब्ध गराइरहेका छन्।

यसमध्ये अक्सफामले २०० थान सरसफाइ सामग्रीका प्याकेट र एक हजार थान पानी शुद्धीकरणका लागि एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। अक्सफामले रसुवा, धादिङ र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग गर्ने जनाएको छ।

अक्सफामले आपत्कालीन रूपमा प्रयोग हुने अस्थायी आवास र भान्साका सामग्रीसहित करिब एक करोड ६० लाख बराबरको गैरखाद्य सामग्री समेत पूर्वतयारी अवस्थामा राखेको जनाएको छ। डिसिए नेपालले धादिङमा १०० जोर गमबुट, २० थान पिक्याक्स, २० थान बेल्चा, ५० बक्स पञ्जा र छ बक्स मास्क उपलब्ध गराएको छ।

संस्थाले धादिङ र नुवाकोटमा परिवारका लागि टेन्ट, सौर्य बत्ती तथा खाद्यान्नको व्यवस्था गरिरहेको छ। पाँच सय परिवारका लागि खाद्यान्न खरिद प्रक्रिया अघि बढाइएको तथा शव व्यवस्थापनका लागि शव राख्ने झोलालगायत आपत्कालीन उद्धार सामग्री उपलब्ध गराउने उल्लेख छ।

सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० थान गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ। संस्थासँग थप ८०० थान गैरखाद्य राहत सामग्री उपलब्ध रहेको र एक हजार घरधुरीलाई लक्षित गरी राहत वितरणको योजना बनाइएको छ।

ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि ५.५ किलोभोल्ट एम्पियर क्षमताका दुई वटा जेनेरेटर उपलब्ध गराएको छ। त्यसैगरी बीबीसी मिडिया एक्सनले रसुवाको रेडियो लाङटाङ तथा नुवाकोटका रेडियो चिम्टेश्वर र रेडियो त्रिशूलीका लागि ३.५ किलोवाट क्षमताका तीन वटा जेनेरेटर उपलब्ध गराएको छ।

बीबीसी मिडिया एक्सनका कर्मचारीले नुवाकोटमै पुगेर जेनेरेटर हस्तान्तरण गर्नुका साथै स्थानीय सञ्चारमाध्यमलाई नियमित प्रसारण सुरु गर्न सहयोग गरेका छन्। विपद् जोखिमसम्बन्धी सञ्चारका लागि आवश्यक थप सहयोगबारे पनि संस्थाले अवस्थाको अनुगमन गरिरहेको जनाएको छ।

एड्रा नेपालले रसुवा, धादिङ र नुवाकोटमा अस्थायी आवासका सामग्री तथा खाद्य राहतमा सहयोग गर्ने भएको छ। हेलेन केलर इन्टरनेसनलले रसुवा, धादिङ र नुवाकोटमा आपत्कालीन पोषण सहयोग गर्ने जनाएको छ। इस्लामिक रिलिफ नेपालले रसुवा र नुवाकोटका प्रभावितका लागि अस्थायी आवाससम्बन्धी गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ।

यसअन्तर्गत त्रिपाल, पी–फोम म्याट, डोरी र कम्बललगायतका सामग्री छन्। प्लान इन्टरनेसनल नेपालले रसुवा र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छता, गैरखाद्य सामग्री, अस्थायी आवास सामग्री तथा भान्साका सामग्री उपलब्ध गराउने भएको छ।

पिपुल इन निडले रसुवामा पहिलो चरणमा १४० थान गैरखाद्य सामग्री, १४० थान मर्यादा सामग्री र २७ वटा टेन्ट उपलब्ध गराएको छ। मर्सी कप्र्सले नुवाकोटका लागि २०० थान गैरखाद्य राहत सामग्री मौज्दातमा राखेको जनाएको छ। संस्थाले गैरखाद्य सामग्रीसँगै खानेपानी तथा सरसफाइ र मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा समेत काम गर्ने जनाएको छ।

युनाइटेड मिसन टु नेपाल ले धादिङमा खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ। यसअन्तर्गत भान्साका सामग्री, त्रिपाल र कम्बल लगायतका सामग्री छन्। ह्यान्डिक्याप इन्टरनेसनलले नुवाकोट र रसुवामा घाइतेको व्यवस्थापन, भौतिक पुनःस्थापना तथा सहायक उपकरण उपलब्ध गराउने काम गरिरहेको छ।

संस्थाले ११० थान गैरखाद्य सामग्री र विभिन्न प्रकारका १०० थान सहायक उपकरण उपलब्ध गराएको छ। केयर नेपालले रसुवा र नुवाकोटमा आपत्कालीन राहतका लागि आपत्कालीन राहत प्याकेजअन्तर्गत खाद्यान्न, आश्रय तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ।

यसमा भान्साका सामग्री, ओछ्यान तथा अन्य बिछ्यौना सामग्री, अस्थायी आवास सामग्री, पारिवारिक टेन्ट, सरसफाइ सामग्री र शिशु सामग्री लगायत छन्। साथै महिला तथा बालबालिकाका लागि सुरक्षित तथा मैत्रीपूर्ण स्थान स्थापना गर्ने योजना पनि छ।

अर्थमन्त्रालयका अनुसार रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा राहत सहयोग केवल खाद्यान्नमा सीमित नभई अस्थायी आवास, खानेपानी शुद्धीकरण, सरसफाइ, स्वास्थ्य तथा पोषण, महिला तथा बालबालिका संरक्षण, सञ्चार सेवा पुनःसञ्चालन, उद्धार उपकरण र अपाङ्गता भएका तथा घाइतेका लागि सहायक उपकरण सम्म विस्तार भएको देखाएको छ।

रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार रातिसम्म प्रधानमन्त्री राहत कोषमा चार अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ।

यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो। यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ) जम्मा भएको कार्यालयले जनाएको छ।

यसबीच बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा ६ करोड ७५ लाख निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ।

प्राधिकरणका अनुसार उक्त रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित स्थानीय वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ। प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ गाउँपालिका, धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुँखैरेनीमा भएको क्षतिका आधारमा उक्त अनुदान वितरण गरिनेछ।

यसबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको भीषण बाढी प्रभावितका लागि खोज, उद्धार तथा राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।बाढीका कारण जनधनको ठूलो क्षति भएको र हाल उद्धार तथा राहतको कार्य निरन्तर भइरहेको जनाउँदै प्राधिकरणले इच्छुक दातालाई सहयोगका लागि आह्वान गरेको हो।

प्राधिकरणले सूचना जारी गर्दै इच्छुक दातृ निकाय, अन्तर्राष्ट्रिय विकास साझेदार, संघसंस्था, नागरिक समाज र निजी क्षेत्रले तोकिए बमोजिमका सामग्री उपलब्ध गराउन सक्ने जनाएको छ । तर तोकिएको सूचीभन्दा बाहेकका सामग्री उपलब्ध गराउनु परेमा त्यसको विवरण प्राधिकरणको इमेलमा पठाएर पूर्वसहमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

हवाईमार्गबाट आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदामघरमा बुझाउनुपर्ने व्यवस्था मिलाइएको छ। स्थलमार्गबाट प्राप्त हुने सामग्री भने काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, नुवाकोटको बट्टारस्थित मैथली ब्यारेक वा रसुवाको धुन्चेस्थित जिल्ला प्रशासन कार्यालयमा बुझाउन सकिने छ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सिधै प्रभावित क्षेत्रमा पनि सामग्री उपलब्ध गराउन सकिने प्राधिकरणले प्रष्ट पारेको छ। बाढी प्रभावितका लागि आवश्यक पर्ने सामग्रीलाई प्राधिकरणले विभिन्न समूहमा वर्गीकरण गरेर सार्वजनिक गरेको छ। बासस्थानका लागि टेन्ट, त्रिपाल, डोरी, ब्ल्याङ्केट, म्याट र स्लिपिङ ब्याग आवश्यक रहेको सूचनामा उल्लेख छ।

भान्साको प्रयोजनका लागि ग्यास सिलिन्डर, चुलो, भाँडाकुँडा, बाल्टी र जग मागिएको छ। सरसफाइतर्फ बालबालिका तथा किशोरीका लागि आवश्यक किट, स्यानिटरी प्याड, साबुन, स्यानिटाइजर, मास्क, पियुस र क्लोरिन ट्याब्लेट जस्ता सामग्रीको सूची सार्वजनिक गरिएको छ।

उज्यालोका लागि टर्चलाइट, पावर बैंक, ब्याट्री, सोलार प्यानल, जेनेरेटर र सोलार बत्ती आवश्यक रहेको प्राधिकरणले औँल्याएको छ। खाद्यान्नअन्तर्गत हाइ इनर्जी बिस्कुट, तयारी खानेकुरा, चामल, दाल, आलु, खानेतेल, नुन, चिउरा, गेडागुडी, सुकेको च्याउ, ड्राइ फ्रुट्स र मसलाजन्य वस्तुलाई राहत सूचीमा समावेश गरिएको छ।

यसैगरी आपत्कालीन यातायात सुचारु गर्न ५० देखि ७० मिटर लम्बाइको बेलीब्रिज समेत आवश्यक रहेको सूचनामा खुलाइएको छ। खोज तथा उद्धारमा प्रयोग हुने विशेष सामग्रीको प्राविधिक विवरण भने प्राधिकरणको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।

राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन प्राधिकरणले विभिन्न संकलन केन्द्रका लागि नौ जना सम्पर्क व्यक्ति र उनीहरूको फोन नम्बरसमेत तोकेको छ। प्राधिकरणले प्रभावित घरपरिवारलाई छिटो र छरितो रूपमा राहत व्यवस्थापन गर्न खोज, उद्धार तथा राहत सामग्रीहरू आवश्यक देखिएको जनाएको छ । हामी निरन्तर अपडेटमा रहने छौं नेपाल टाइम्स हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top