१५ भदौ, काठमाण्डौ।
रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि राति पनि काम गरिएको छ । उद्धार टोलीले सुरुङसम्म पुग्ने बाटो खोल्दै बाक्लो कंक्रिट स्ल्याब फुटाएर सुरुङभित्र प्रवेश गर्ने तयारी अघि बढाएको छ।
आयोजनाको पछिल्लो अपडेटअनुसार सुरुङको करिब ४०० मिलिमिटर बाक्लो ‘क्राउन स्ल्याब’ फुटाउन ब्लास्टिङ गरिएको छ। यसअघि डीटीएच मेसिन प्रयोग गरेर केबल टनेलसम्म प्वाल पूर्ण रूपमा छेडिएको र त्यसबाट भित्रको अवस्था निरीक्षण गरिएको बताइएको छ।

प्वालबाट सुरुङभित्र कम्प्रेसरमार्फत हावा र अक्सिजन पठाइएको तथा प्रकाशको व्यवस्था गरिएको छ । उद्धारमा संलग्न टोलीले यसबाट सुरुङभित्र रहेका व्यक्तिले हावा पाउन सक्ने र उनीहरू सुरक्षित रहेको आशा गरिएको जनाएको छ। आइतबार उद्धार टोली टनेल पोर्टसम्म पुगिसकेको थियो। पोर्टको मुखमा जम्मा भएको माटो, लेदो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ।
पोर्ट सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ। उद्धारकर्मीले सुरुङभित्र प्रवेश गरेपछि त्यहाँको वास्तविक अवस्था प्रत्यक्ष निरीक्षण गर्नेछन्। उनीहरूसँग क्यामरा पनि पठाउने तयारी गरिएको छ, जसबाट सुरुङभित्रको अवस्था बाहिरबाट समेत निगरानी गर्न सकिनेछ।
उद्धार टोलीका अनुसार पोर्टबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको वास्तविक स्थान, अवस्था र सुरक्षाबारे थप स्पष्ट जानकारी प्राप्त हुनेछ।भारतबाट आएको टनेल उद्धार विशेषज्ञ टोलीले नेपाली सेनाको टोलीसँग समन्वय गरी चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ।
भारतीय टोलीले नेपाली सेनासँग समन्वयमा आगामी दिनमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ। रसुवामा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा फसेका करिब ५ सय व्यक्तिको ५ दिन बितिसक्दा पनि उद्धार हुन सकेको छैन ।
प्रतिकूल मौसम, लेदो र क्षतिग्रस्त संरचनाका कारण उद्धारमा कठिनाइ भए पनि नेपाली सेना तथा प्राविधिक टोलीले रातदिन काम गरिरहेको सरकारले जनाएको छ। सुरूङमा थुनिएका मजदुर र इन्जिनियरका परिवारले दबाब बढाउँदै लगेका छन्।
यता प्रधानमन्त्री बालेन्द्र शाहले रसुवासहित बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सुरक्षाकर्मीसँगै चीन, भारत र दक्षिण कोरियाका विशेषज्ञ टोली परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत बाढीपछिको उद्धार अवस्थाबारे जानकारी दिँदै विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य तीव्र पारिएको बताएका हुन्। उनका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनाको क्षेत्रमा दुई दिनमा २५० जनाको उद्धार गरिएको छ।
चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी सुरुङभित्र खोजी गरिरहेको छ। चिनियाँ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरे पनि अहिलेसम्म मानिस फेला नपरेको प्रधानमन्त्रीले बताएका छन्।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा पनि नेपाली सेनाका इन्जिनियरले ब्लास्टिङमार्फत सुरुङ खोल्ने प्रयास गरिरहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ तथा तालिमप्राप्त कुकुरसहित करिब ९० जनाको संयुक्त टोली उद्धारमा खटिएको छ।
प्रधानमन्त्रीका अनुसार उद्धार टोलीले सुरुङको मुख्य भागसम्म पुगेर करिब २–३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले उद्धारकर्मी सुरुङभित्र झरेर आवाज दिए पनि कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो बनाउने कामलाई सँगसँगै अघि बढाइएको छ।
यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको टोली उद्धारमा खटिएको छ भने चिनियाँ विशेषज्ञले पनि नेपाली सेनासँग समन्वय गरिरहेका छन्। रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरेको छ।
पम्प र एस्काभेटर प्रयोग गरेर उद्धार कार्य अघि बढाइएको प्रधानमन्त्रीले बताएका छन्। लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धार जारी छ। मैलुङ खोलामा दक्षिण कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी गरेको छ।
प्रधानमन्त्री शाहले विभिन्न आयोजनामा नेपाली सुरक्षाकर्मी र विदेशी विशेषज्ञ टोलीबीच समन्वय गरेर उद्धार अभियान अघि बढिरहेको बताएका छन्। अर्काेतर्फ बाढीका कारण नुवाकोटमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था पाँच दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवारका सदस्यहरू आक्रोशित बनेका छन् ।
फसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन् । आफन्तहरुले ‘हाम्रा मान्छे जीवित छन् भने उद्धार गर, छैनन् भने लाश देऊ,’ भन्दै कम्पनीका प्रतिनिधिसँग आक्रोश पोखेका छन् ।
माथिल्लो त्रिशूली–१ को प्रवद्र्धक एनडब्लुईडीसी हो । एनडब्लुईडीसीले दक्षिण कोरियाको कोरिया साउथ–इस्ट पावर कर्पोरेसन, केआईएनडी, आईएफसी लगायतका साझेदार कम्पनीसँग मिलेर आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र मात्रै ५७६ जना कामदार फसेका छन् ।
त्यस्तै मैलुङमा रहेको साइट कार्यालयमा रहेका केही व्यक्ति पनि सम्पर्कविहीन छन् । साइट कार्यालयमा रहेका व्यक्तिहरूको अवस्था अज्ञात रहँदा उनीहरूका आफन्त आक्रोशित बनेका हुन् । उक्त साइट कार्यालयमा ७५ जना रहेका थिए । उनीहरूमध्ये कतिपयको अवस्था अज्ञात रहेको छ ।
यसैबीच रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ९ जना व्यक्तिको उद्धार भएको छ । सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय डंगौरा तथा बाजुराका प्रकाशबहादुर धामी र उमेश धामीको उद्धार भएको हो ।
उनीहरू रुबीभ्याली हुँदै सशस्त्र प्रहरीको बीओपीमा पुगेका थिए । लगत्तै सशस्त्रले उद्धार गरेको हो । बाढीका कारण काभ्रेपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयले हालसम्म जिल्लाका ४१ जना सम्पर्कविहीन अवस्थामा रहेको सूचीसहितको नामावली अद्यावधिक गरेको छ । प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा र्पुयाइएको छ ।
राहत तथा उद्धारका लागि आज मात्रै थप ७२ सहित हालसम्म ३९४ उडान भइसकेका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको शाहले बताएका छन् ।
विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ ।




