काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एमालेले सोमबार प्रेस वक्तव्य जारी गर्दै रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।विपद्को यस घडीमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरिएको एमालेले जनाएको छ ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, राहत सामग्री संकलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनःस्थापनाका लागि एमालेले पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरेको छ ।




