१६ भदौ , काठमाण्डौ ।
श्रम संस्कृति पार्टीको केन्द्रीय समितिको बैठक धरानमा जारी छ। तर, बैठकमा सुदन समूहका नेताहरूलाई भने सहभागी हुन दिइएको छैन।
सुदन समूहका एक पदाधिकारीका अनुसार पार्टीले सबै केन्द्रीय सदस्यलाई बैठकमा बोलाए पनि पहिलो दिनको बैठकमा आफूहरूलाई सहभागी नगराइएको हो।

‘हामीलाई एकतापछिको पहिलो बैठकमा बोलाइएको थियो। तर, अहिले भित्र जान दिइएन,’ ती पदाधिकारीले भने, ‘तपाईंहरूसँगको बैठक भोलि भनिएको छ। उचित कारण पनि भनिएको छैन।’
पूर्वमाओवादी नेता सुदन किराँती नेतृत्वको समूह गत वैशाख १५ गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेको थियो। किराँतीले आफ्ना समूहका नेताहरूसहित पार्टी प्रवेश गरेका थिए। पार्टीमा अध्यक्ष हर्क साम्पाङपछि किराँती दोस्रो वरीयतामा थिए।
उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो। तर, पार्टी एकता भएको करिब चार महिनापछि बसेको केन्द्रीय समितिको बैठकमा किराँती पक्षका नेताहरूलाई बोलाएर पनि बैठकमा सहभागी नगराइएपछि हर्क र सुदनबीचको खटपट उत्कर्षमा पुगेको बुझिएको छ।
सुदन पक्षका नेताहरूले भने आफूहरूलाई अपमान गरिएको भन्दै गुनासो गरेका छन्।




