१६ भदौ , काठमाण्डौ ।
रसुवाको भोटेकोशी–त्रिशूली बाढीपछि जारी खोजी तथा उद्धारका बीच यतिबेला देश भित्र र बाहिरबाट समेत सबैभन्दा चासोको विषय बनेको छ , जलविद्युत आयोजनाका सुरुङहरुमा फसेका भनिएका मानिसहरुको सकुशल उद्धार ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुशार विपदमा परी ९ सय ८७ जनाको शव फेला गरेकोछ भने अझै ३ हजार ९ सय १६ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ८३ जना सुरक्षाकर्मी (नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी), भन्सार र अध्यागमनका कर्मचारी रहेका छन् ।

यसमा सबैभन्दा बढी जलविद्युत आयोजनाका ६३९ कामदार अहिलेसम्म बेपत्ता छन् । जलविद्युत आयोजना मध्ये सबैभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा खोजतलासीको काम जारी छ।
आज पनि बिहानैदेखि कर्मचारी र प्राविधिकलाई फिल्डमा खटाइएको कम्पनीले जनाएको छ । सुरूङभित्रको अवस्था निकै अप्ठ्यारो रहेको र आवश्यक सामग्री जुटाउने काम भइरहेको कम्पनीका लगानी प्रतिनिधि गिरिराज अधिकारीले बताएका छन्।
सुरूङबाट पानी निकाल्न सकिङ पम्पलगायत सामग्री खोजिएको छ। सामग्री जुटेपछि हेलिकप्टरबाट घटनास्थल पठाउने तयारी छ। आयोजनाका परामर्शदाता, ठेकेदार कम्पनी र कर्मचारी गरी ५७३ जना अझै सम्पर्कविहीन छन्।
त्यसमध्ये करिब ३०० जना सुरूङभित्र काम गर्ने थिए। बाढी आएको दिन आयोजनामा १ हजार ४ सयभन्दा बढी मानिस काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। हालसम्म उद्धार र सम्पर्कमा आएकाको संख्या ८७३ पुगेको छ।
कम्पनीले अहिले आवश्यक सामग्री जुटाएर काम अघि बढाउन थालेको बताएको छ। आफन्तले भने उद्धारमा भएको ढिलाइप्रति गुनासो गरेका छन्।आयोजनाका लगानी प्रतिनिधि गिरिराज अधिकारीका अनुसार बाढीपछि सुरूङ क्षेत्रमा पानीसँगै माटो र ढुंगा थुप्रिएकाले काम गर्न निकै कठिन छ।
उनका अनुसार सोमबारदेखि काम सुरू गरिएको र मंगलबार पनि बिहानैदेखि प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटिएका छन्। घटनास्थलमा सरकारी टोली पनि पुगेको छ। सेना र प्रहरीले खोजतलासीमा काम गरिरहेका छन्।
तर सुरूङको अवस्था र भौगोलिक कठिनाइका कारण काम सहज नभएको अधिकारीको भनाइ छ। अहिले कम्पनीले आवश्यक सामग्री जुटाउने र सुरूङभित्रको अवस्था पत्ता लगाउने कामलाई प्राथमिकता दिएको छ। सरकारी टोली पनि घटनास्थलमा छ।
आफन्तहरू भने सम्पर्कविहीन रहेका सबैको अवस्था तत्काल पत्ता लगाउन माग गरिरहेका छन्। खोजतलास कार्यलाई तीव्रता दिन कम्पनीले नेपाल माउन्टेनियरिङको विशेष ’सर्च टिम’ (खोज टोली) खटाएको छ। यस टोलीको नेतृत्व टिम नेतृत्व माउन्टेन गाइड जेनजेन लामाले गरिरहेका छन्।
सोमबारदेखि निरन्तर २४ घण्टा प्रत्यक्ष रूपमा घटनास्थल (स्पट) मै खटिएर खोजतलास र निरीक्षण कार्यमा जुटिरहेका कम्पनीले जनाएको छ। कम्पनीका अनुसार खटाइएको यो टोली मुख्यतया पहाड, हिमाल र कठिन भौगोलिक अवस्थामा बाटो बनाउने तथा खोजतलास गर्ने कार्यमा विशेष दक्षता र अनुभव प्राप्त टोली हो।
अर्काेतर्फ भोटेकोशी–त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार चुनौतीपूर्ण बनेको उद्धारमा संलग्नहरूले बताएका छन्। नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवद्र्धित ६० मेगावाट क्षमताको आयोजनाको सुरुङमा ३५ देखि ४० जना श्रमिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ।
बाढीको सातौं दिन पुग्दा पाँच दिनदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना तथा विज्ञसहितको टोली निरन्तर खटिएको छ। उद्धार टोलीले सुरुङको स्थान पत्ता लगाए पनि भित्रसम्म पुग्न भने सकेको छैन।
उद्धारको नेतृत्व गरिरहेका सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार राति करिब ३ बजे सुरुङको ‘क्राउन ब्लास्ट’ गरेर हेर्दा सुरुङको माथिल्लो भागसम्मै पानी भरिएको पाइएको थियो। पानीका कारण सम्भावित स्थानसम्म पुग्न कठिन भएको उनले बताए। सुरुङभित्र थुप्रिएको पानी, लेदो र गेग्रान हटाउने काम भइरहेको छ।
करिब ४० मिटर चौडाइ र ४० मिटर उचाइबराबरको ढुंगा, माटो तथा लेदो थुप्रिएको र त्यसलाई हटाउन आवश्यक ठूला उपकरण घटनास्थलमा पु¥याउन कठिन भएको उद्धार टोलीले जनाएको छ। ठूला एक्स्काभेटर हेलिकप्टरबाट लैजान सम्भव नभएकाले उपलब्ध पुराना उपकरणबाटै काम भइरहेको छ।
सुरुङभित्रको पानी पम्पिङ गरी निकाल्ने तथा आवश्यक स्थानमा ब्लास्टिङ गर्दै बाटो खोल्ने प्रयास जारी छ। रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको उद्धारमा सरकार निरन्तर असफल भएको छ ।
उक्त उद्धारमा सरकारकै निकायबीच समन्वय देखिएको छैन। अर्कोतिर डोजरहितका उपकरणको पनि अभाव छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा फसेकालाई उद्धार गर्न प्राविधिक र इन्जिनियर खटिएका छन् ।
आवश्यक स्काभेटर, ब्रेकर, जेनेरेटर र पानी तान्ने पम्पलगायत उपकरण पर्याप्त उपलब्ध हुन सकेको छैन। उद्धारमा खटिएका नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर प्रणय मगरले बाहिर प्रचार गरिएको सूचना र फिल्डको वास्तविकताबीच ठूलो अन्तर रहेको बताएका छन्।
बाहिर ‘तीनवटा स्काभेटर दिनरात चलिरहेको’ सूचना प्रवाह भए पनि फिल्डमा एउटा मात्र चलेको उनले बताएका छन् । उद्धारको पहिलो दिनदेखि नै तीनदेखि चारवटा स्काभेटर र एउटा ब्रेकर आवश्यक रहेको जानकारी गराए पनि नआएको उनले बताएका छन् ।
आवश्यक संख्यामा उपकरण उपलब्ध हुन नसक्दा उद्धार प्रभावित भएको उनले बताएका छन्। पर्याप्त उपकरण र आवश्यक जनशक्ति तत्काल उपलब्ध भए पाँच दिनदेखि सुरुङमा फसेका सहकर्मीलाई उद्धार गर्न सकिने उनी बताउँछन् ।
इन्जिनियर मगरले सोमबार राति फेसबुकमार्फत मन्त्री तथा सांसदलाई प्राविधिकको सुझावअनुसार उद्धार अभियान चलाउन आग्रह गरेका छन्। ‘हेलो माननीयज्यूहरू, मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस्। यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नुहुन्न भने प्राविधिक नै नबोलाउनुस्, आफ्नो तरिकाले काम गर्नुस्,’ उनले भनेका छन्।
ज्यानको बाजी लगाएर सुरुङमा फसेका आफ्ना साथीको उद्धारमा खटिएका मगरले उपकरण तत्काल उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेका छन्। ज्यानको बाजी लगाएर सुरुङमा फसेका आफ्ना साथीको उद्धारमा खटिएका मगरले उपकरण तत्काल उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेका छन्।
‘जे आवश्यक छ, ती सामानहरू प्लिज, प्लिज, प्लिज साइटमा उपलब्ध गराइदिनुस् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्,’ उनले भनेका छन्। सोमबार रातिसम्म पनि सुरुङभित्र प्रवेश गर्ने बाटो खुलेन अनुसार सोमबार राति ११ बजेसम्म पनि सुरुङभित्र जान सक्ने गरी आवश्यक ‘एक्सेस’ बनाउन सकिएन।
सुरुङको मुखबाट प्रवेश गर्ने अवस्था कठिन भएपछि वैकल्पिक बाटोबाट उद्धार प्रयास भइरहेको छ। मगरका अनुसार सुरुङभित्र बाक्लो रिबहरू राखिएका छन्। ती रिबमा टाइरडसमेत अत्यन्त बाक्लो भएकाले मानिस छिर्न मिल्ने ‘होल’ बनाउन रिबार काट्ने काम भइरहेको छ।
सुरुङभित्र पानीसमेत रहेकाले त्यसलाई सुकाउन जेनेरेटर र पम्प आवश्यक भएको प्राविधिकहरू बताउँछन् । आवश्यक उपकरण समयमै उपलब्ध हुन नसक्दा उद्धार जटिल बनेको उनीहरूको भनाइ छ।
उद्धारमा खटिएका प्राविधिकले मन्त्री र सांसदले आमसञ्चार तथा सामाजिक सञ्जालमार्फत ‘त्रिशूली थ्री एमा टनेल खोलियो’ र ‘टनेलभित्र अक्सिजन पठाइयो’ लगायत सूचना दिए पनि फिल्डको अवस्था फरक रहेको बताएका छन्।
इन्जिनियर मगरले आफू घटनास्थलमै रहेर जानकारी दिइरहेको भन्दै गलत सूचना नदिन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘मचाहिँ जहाँ काम भइरहेको छ, त्यहीँबाट अपडेट गरिरहेको छु। कुनै अक्सिजन पठाउन सकिएको छैन। कृपया, कसैले गलत न्युज दिएर यो अवस्थामा धोका नदिनुहोला।
उद्धारका लागि आयोजनाको पोर्टलबाट सुरुङभित्र प्रवेश गर्ने ‘एक्सेस’ खोल्न नसकिने अवस्था आएपछि पोर्टलभन्दा करिब १० मिटर पछाडि सुरुङको माथिल्लो भागबाट मानिस पस्न सक्ने प्वाल बनाउने प्रयास भएको थियो। आइतबार पहिलोपटक विस्फोट गरे पनि सफल हुन सकेन।
प्राविधिकका अनुसार मुख्य चुनौती सुरुङसम्म पुग्ने सुरक्षित बाटो र त्यसका लागि आवश्यक उपकरण तथा जनशक्ति तत्काल परिचालन गर्नु छ। रसुवाको भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा सोमबार नेपाली सेनाको नेतृत्वमा उद्धार टोली पुगेको थियो। इन्जिनियर तथा ड्रोनसहित पुगेको टोलीले विद्युत्गृहको सुरुङभित्र प्रवेश गरी खोजी तथा अवलोकन गरेको थियो। सुरुङको अन्तिम भागसम्म मानिसहरू फसेको हुनसक्ने आशंकामा खोजी गरिएको भए पनि ड्रोनमार्फत अवलोकन गर्दा कोही फेला नपरेको रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ।
खोजी कार्यपछि नेपाली सेनाको टोली धुन्चे फर्किएको छ। आयोजनाबाट कम्पनीका ४९ कर्मचारीसहित ९३ जना हराइरहेको विवरण छ। २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा आइतबार प्रभावित भएको उद्धार तथा पहुँचमार्ग खुलाउने काम सोमबार पुनः सुरु गरिएको छ।
नेपाली सेना, पर्वतारोही, भारतीय प्राविधिक टोली तथा आयोजनाका कर्मचारीसहितको टोलीले दिनभर विद्युत्गृहसम्म पुग्ने मार्ग खुलाउने प्रयास गरेको थियो। चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार २५० मिटर लामो सुरुङमा करिब ९० मिटरसम्म पुग्न सकिए पनि त्यसपछि भित्र जान सकिएको छैन।
३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनामा आइतबारदेखि नै हराइरहेकाहरूको खोजी जारी छ। बाढीले आयोजनाका सबैजसो संरचना बगाएका कारण खोज तथा उद्धार कार्य थप कठिन बनेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् ।
त्रिशुली–३ ‘बी’ आयोजना स्थलमा रहेका कर्मचारी, निर्माणमा संलग्न श्रमिक, परामर्शदाता, सुरक्षागार्ड तथा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको हो । कम्पनीका अनुसार सम्पर्कविहीन २ सय १ मध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ सय ९८ अझै सम्पर्कविहीन छन् । कम्पनीमा कार्यरत ९१ जनाको भने उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ
यसैबीच खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ । दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
विपत् प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रहबमोजिम यो टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमानमार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्नेछ। यो टोलीले नेपालमा रहेर करिब १० दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ।




