भोटेकोशी बाढीको १३ औं दिन : यसरी भइरहेको छ खोज, उद्धार

२२ भदौ ८३, सोमबार
Share this
723shares

२२ भदौ , काठमाण्डौ।

Advertisement

भोटेकोशी बाढी विपद्को १३ औँ दिन पनि खोज, उद्धार र राहत कार्य जारी छ । यसैसम्बन्धी थप अपडेटका साथमा हामी उपस्थित भएका छौं । बाढीबाट ठूलो जनधनको क्षति, ठूलो सङ्ख्यामा नागरिक विस्थापन हुनुका साथै रसुवा, नुवाकोट, धादिङ र नदीको बहाव क्षेत्रअन्तर्गतका अन्य जिल्लाका घर, भवन, सडक, पुल, जलविद्युत् संरचना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति भएको छ ।

सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन् । साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन् ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोज तथा उद्धार कार्यमा परिचालित छन् । विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत खोजी कार्यलाई निरन्तरता दिइएको छ ।

त्रिशूली–३ ‘ए’ को सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एक्साभेटर पु¥याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म खोजी गरिएको प्राधिकरणले जनाएको छ । अपर त्रिशूली–१ मा टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी छ ।

Advertisement

अपर त्रिशूली–१ को अडिट–३ बाट इन्फ्रारेड (आईआर) तथा थर्मल ड्रोनमार्फत गरिएको खोजीमा जीवित व्यक्तिको संकेत नदेखिएपछि चिनियाँ टोली फर्किएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि नेपाली सेनाका ग्राउन्ड फोर्स र पेट्रोल टोली विभिन्न स्थानमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहितका केनाइन टोली पनि खोजीमा खटिएका छन्। नेपाल प्रहरीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको अवस्था अवलोकन, निरीक्षण तथा विवरण संकलन गरिरहेको छ ।
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले विपत्का बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले उदाहरणीय काम गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले बाढीपछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद दिएका हुन् । प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ ।

स्थलमार्ग र हेलिकोप्टरमार्फत उद्धार गर्नुका साथै कतिपय घाइतेलाई सुरक्षाकर्मीले आफ्नै काँधमा बोकेरसमेत अस्पताल पु¥याएको उनले बताएका छन् । शव व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा संक्रामक रोग फैलिन नदिन तथा शिविरमा रहेका प्रभावितलाई हौसला प्रदान गर्न सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल तथा भग्नावशेषमा खोजी तथा उद्धारमा निरन्तर खटिरहेको उनले बताएका छन् । बाढीका कारण आफन्त सम्पर्कविहीन भएपछि आफ्ना मान्छे खोजिदिन आग्रह गर्नेहरूको संख्या ठूलो रहेको भन्दै प्रधानमन्त्री शाहले सुरक्षाकर्मीले प्रभावितहरूको पीडा गहिरोसँग बुझेको बताएका छन् ।

उनले सुरक्षाकर्मीले आफ्नो थकान र तनावसमेत भुलेर अहोरात्र खोजी तथा उद्धारमा खटिरहेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेका छन् । प्रधानमन्त्रीले सुरक्षाकर्मीमाथि गरेको सम्बोधनमा लेखेका छन्, नुवाकोटको विदुर ६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ९२३ जना कैदीबन्दीहरूलाई राखिएको थियो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी दायाँबायाँ क्षति पु¥याउँदै अघि बढ्यो।

यसबारे थाह पाएपछि कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कमान्डरहरूसहित ५२ जना सुरक्षाकर्मीहरूले अलिकति पनि हिम्मत र धैर्य गुमाउनुभएन। उहाँहरूले २ भवनहरूमा राखिएका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सार्नुभयो।

त्यो बेलासम्म त्रिशूलीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खाल ढाल्दै केहीबेर अघिसम्म कैदीबन्दीहरू राखिएको भवनहरूको पहिलो तलासम्म लेदोसहित बाढी पसिसकेको थियो। सुरक्षाकर्मीहरूका लागि त्यति मात्रै चुनौती थिएन।

बाढीको मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीहरूलाई उहाँहरूले पुनः नियन्त्रणमा लिनुभयो। भाग्न नपाएका कैदीबन्दीहरूले गरेको आक्रमणबाट हाम्रा केही सुरक्षाकर्मीहरू घाइते हुनुभयो। उहाँहरूले वरपरका स्थानीय बासिन्दाको समेत ज्यान रक्षा गर्नुभयो।

आज पनि उहाँहरू बस्ने ब्यारेक र कार्यालय लेदोमै छ, पहुँचमार्ग अस्तित्वमै छैन। खानेपानीको व्यवस्था बिथोलिएको छ। खेतको आलीलाई बाटो बनाउँदै आफैँ टाढाबाट पानी बोकेर कैदीबन्दीहरूलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटीमा उभिने हाम्रा सुरक्षाकर्मीहरूको यो साहस अद्भुत छ।

उनले थप लेखेका छन्, यो त एक उदाहरण हो। यो विपद्मा हाम्रा सुरक्षाकर्मीहरूले कैयौँ उदारहणीय काम गर्नु भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३ सय ९१ मानिसहरूलाई उद्धार गरिएको छ।

स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेर समेत घाइतेहरूलाई तत्काल अस्पताल पु¥याउनुभयो। शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ। कठिन भूगोल छ। प्रतिकूल मौसम छ।

तर, हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ। तपाईंहरूले प्रभावितहरूको पीडा गहिरोसँग बुझ्नुभएको छ। बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरूसँग आग्रह गर्ने मानिसहरूको संख्या ठूलो छ। त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ।

हामीलाई थाहा छ तपाईंहरू पनि साथीहरू गुमाएको पीडामा हुुनुहुन्छ। बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ। सकिनसकी शव उठाइरहनुभएको छ। होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ।

अझै पनि बाढी आउन सक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ। तपाईंहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ। नेपाली सेनाका बारेमा प्रधानमन्त्रीले थप भनेका छन्, नेपाली सेनाः बाढी आएलगत्तै सैनिक मुख्यालयको योजना अनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ।

रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’,चिकित्सकसहितको‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रको कठिन भूगोलहरूमा अन्य सुरक्षा निकायहरूको सहयोग लिएर उद्धार कार्यको अगुवाइ गरिरहेको छ। विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार कार्यको नेतृत्व गरिरहेको छ।

यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टीम’ परिचालन भइरहेको छ। साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा सेना आफैले आफ्ना इन्जिनियरहरू परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना सेना खटिरहनुभएको छ। यस्तै नेपाल प्रहरीका बारेमा प्रधानमन्त्रीले भनेका छन’, बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय छ। तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन्।

घाइतेहरूलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउने काम भइरहेको छ। शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ। जोखिमपूर्ण क्षेत्रहरूमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ। त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मिहिनेत गरिरहेको छ।

हाल बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ प्रहरी खटिरहनु भएको छ। सशस्त्र प्रहरी बल, नेपालबारे प्रधानमन्त्रीले लेखेका छन्, कठिन भूगोल र उर्लँदो भोटेकोशी—त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ।

त्यसको लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमान्डपोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो। ड्रोन स्क्वाड परिचालन गरिरहेको छ। केनाइन टोली पनि सँगसँगै खटाएको छ। प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ। प्रभावित क्षेत्रको नेपाल चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी खटिरहनुभएको छ।

प्रधानमन्त्रीले अन्त्यमा , भनेका छन्, तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरूले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरू प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन। संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं। संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरूलाई पनि हामी विशेष धन्यवाद दिन्छौं।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top