बेपत्ताको खोजीमा कुन टनेलमा के भइरहेको छ? बालेन दिए जानकारी

२३ भदौ ८३, मंगलबार
Share this
695shares

२३ भदौ , काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते लाङटाङ हिमाल क्षेत्रबाट आएको हिमपहिरोपछि भोटेकोशी नदीमा आएको लेदोसहितको आकस्मिक बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा खोज तथा उद्धार कार्य जारी रहेको भन्दै अहिलेसम्म भइरहेका प्रयास र जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारका लागि भइरहेका प्रयास बारे जानकारी दिएका छन् ।

बाढीको २ हप्ता पुगिसकेको अवस्थामा पनि आयोजनाका सुरुङहरुमा खोजी र उद्धार कार्यजारी छ। प्रधानमन्त्रीले सामाजिक संजालमार्फत भनेका छन् , बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो भौतिक क्षति हुनुका साथै कैयौँ मानिस सम्पर्कविहीन भएका थिए।

Advertisement

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित मित्रराष्ट्रका विशेषज्ञ टोलीको सहकार्यमा प्रभावित आयोजनाहरूमा सुरुङ तथा पुरिएका संरचनामा खोजी भइरहेको छ। प्रधानमन्त्रीले प्रभावित आयोजनामा भइरहेको खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने बताएका हुन्।

उनका अनुसार रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा खोज तथा उद्धारका लागि सुरक्षा निकाय तथा विशेषज्ञ टोली परिचालन गरिएको छ। प्रधानमन्त्रीका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा बाढीले हेडवक्र्सका संरचनासहित पावरहाउस बाहिर र भूमिगत पावरहाउसका अधिकांश सामग्रीमा क्षति पु¥याएको छ।

Advertisement

बाढी आएको दिनदेखि नै खोजीको प्रयास गरिए पनि भौगोलिक अवस्थाका कारण हेलिकप्टरसमेत अवतरण गर्न नसकेपछि उद्धार सामग्री पु¥याउन कठिन भएको थियो। आयोजनाबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र करिब २७५ मिटर पुगे पनि त्यहाँ मानिस फेला पार्न सकेन।

अहिले हेलिकप्टरबाट मिनी एस्काभेटरसमेत पु¥याएर खोजीलाई निरन्तरता दिइएको छ। लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएको दिनदेखि नै खोजी सुरु गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङ प्रवेशद्वारबाट दलदल हटाउँदै करिब ६० मिटरभित्र प्रवेश गरेको थियो।

ठूला चट्टानका कारण थप अघि बढ्न समस्या भएपछि भदौ १६ गते नेपाली सेना र आयोजनाका कर्मचारीको टोली परिचालन गरिएको थियो। ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल बनाएर प्रवेश गर्दा दुई शव फेला परेका थिए। सो क्षेत्रमा थप खोजी जारी छ। चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पनि बाढी आएको दिन नै नेपाली सेनाको टोली पुगेको थियो।

तर, सुरुङभित्र जमेको दलदलका कारण तत्काल प्रवेश गर्न सकेको थिएन। भारतबाट आएको विशेषज्ञ टोलीसहित भदौ १३ गते रेकी गरेपछि भदौ १४ गतेदेखि संयुक्त रूपमा खोजी सुरु गरिएको थियो। सुरुङको प्रवेशविन्दुबाट दलदल हटाउँदै करिब ९० मिटरभित्र पुगेपछि दुई शव फेला परेका थिए।

खोजी कार्यका लागि ‘बबक्याट’सहित एस्काभेटर प्रयोग भइरहेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि बाढी आएको दिनदेखि नै खोजी थालिएको थियो। चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ गते रेकी गरेपछि नेपाली सेना र चिनियाँ टोलीले संयुक्त रूपमा खोजी अघि बढाएका थिए।

सुरुङभित्र करिब २०० मिटर पुगेपछि पानी जमेको ताल भेटिएको थियो। त्यस क्षेत्रमा थर्मल ड्रोन प्रयोग गरेर खोजी गरिएको थियो। त्यसपछि कोरियाली विशेषज्ञ टोलीसहित खोजीलाई निरन्तरता दिँदा एक शव फेला परेको थियो। भदौ २० गते थप एक जनाको उद्धार गर्नुका साथै दुई शव फेला पारिएको जानकारी दिइएको छ।

नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सुरुङको प्रवेशविन्दु नै पहिचान गर्न कठिन भएपछि नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले रेकी गरेको थियो।
भदौ १३ गतेदेखि उद्धार कार्य अघि बढाइएको र त्यसका लागि ६ वटा एस्काभेटर प्रयोग गरिएको थियो।

करिब २५ मिटर उत्खनन गरेपछि विद्युत् तारका लागि बनाइएको सुरुङ फेला परेको थियो। त्यही सुरुङबाट उद्धार टोली भित्र प्रवेश गरेको थियो। सुरुङ खोल्न काठमाडौं–तराई÷मधेस द्रुतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ तथा नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर ल्याइएको थियो।

आवश्यक ड्रिलिङ उपकरणसमेत हेलिकप्टरमार्फत आयोजनास्थलमा पु¥याइएको थियो। भदौ १९ गते दुई जनाको उद्धार गरिएको र एक शव फेला परेको बताइएको छ। अहिले थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेरामार्फत थप खोजी भइरहेको छ। त्रिशूली–३ ‘बी’ आयोजनामा पनि बाढी आएको दिनदेखि नै खोजीको प्रयास भइरहेको थियो।

भदौ १३ गते चिनियाँ टोलीले रेकी गरे पनि सुरुङभित्रको दलदलका कारण उपकरण लैजान कठिन भएको थियो। हाल नेपाली सेना र आयोजनाका कर्मचारीले दलदल हटाउँदै अडिट सुरुङभित्र करिब १.७ किलोमिटर प्रवेश गरी खोजी गरिरहेका छन्। सो क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको छ।

बाढीका कारण आयोजनाका ६ वटा आवासीय भवन र एउटा कार्यालय भवन पुरिएका छन्। ती संरचनाको खोजीका लागि करिब १५ मिटर गहिराइसम्म उत्खनन गरिएको छ। थप उपकरण आयोजनास्थलमा लैजाने कामसमेत भइरहेको छ। प्रधानमन्त्री शाहले विपद्मा सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि राज्यका सुरक्षा निकाय जोखिम मोलेर निरन्तर खटिरहेको बताएका छन्।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ भने भारत, चीनलगायत मित्रराष्ट्रबाट आएका विशेषज्ञ टोलीले प्राविधिक सहयोग गरिरहेका छन्। शाहले सीमित स्रोत–साधन र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

उनले विपद्को समयमा मानवीय दायित्वलाई प्राथमिकतामा राखेर सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। ’’आयोजना क्षेत्रहरूबाट पनि मानिसहरू सम्पर्कविहीन भएकाले हामीले सुरुवातदेखि हालसम्म खोज तथा उद्धार कार्य जारी राखेका छौँ,’’ प्रधानमन्त्रीले भनेका छन् । उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने उनको भनाइ छ ।

यसैबीच रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य बारे नेपाली सेनाले समेत पछिल्लो विवरण सार्वजनिक गरेको छ । सेनाले सोमबार साँझ ६ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप ४० जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत ३ हजार ७३७ नेपाली र २८३ विदेशी गरी ४ हजार २० जनाको उद्धार गरिएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा ‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ ।

चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त टोलीले ‘स्लिङ अपरेसन’मार्फत स्याफ्रुबेंसीमा लगिएको मिनी एक्स्काभेटर तथा अन्य उपकरण जडान गरी खोज तथा उद्धारमा प्रयोग गरिरहेको छ । टोलीले ६÷६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटोसमेत तयार पारेको छ ।

माथिल्लो त्रिशूली–१ मा विदेशी नागरिकसहितको संयुक्त टोली मुख्य प्रवेश टनेलमा करिब ४०० मिटरभित्र प्रवेश गरी खोजतलास गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ । त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेलमा नेपाली सेनाका ५८ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ ।

त्रिशूली–३ ‘बी’मा नेपाली सेनाका १०० जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले तीनवटा ‘बबक्याट’ प्रयोग गरी आयोजनाको कार्यालय तथा आवासगृह क्षेत्रमा करिब १० फिट गहिराइसम्म खन्दा कुनै भौतिक संरचना फेला नपरेको जनाइएको छ । थप चारवटा एक्स्काभेटर प्रयोग गरी खोजी कार्य भइरहेको समेत सेनाले जानकारी दिएको छ।

यस्तै नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको काम तीव्र रूपमा अघि बढाएको छ । त्यस्तै, इन्द्रेणी चौर र गुम्बा डाँडा जोड्ने तथा नुवाकोटको देवीघाट क्षेत्रमा दुईवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

सेनाले मैलुङदेखि स्याफ्रुबेंसीसम्म प्रभावित क्षेत्रमा पैदल गस्ती गरी खोज तथा उद्धार गरिरहेको छ । त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार ४०४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् ।

उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।
यसैबीच अधिकतम तीन दिनभित्रै चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार सक्नेगरी काम अघि बढेको छ ।

पहुँचमार्ग तथा पैदलमार्ग नभएकाले उद्धारमा कठिनाइ भएकाले त्यसको निर्माणका लागि ब्लास्टिङ सामाग्री त्यहाँ पु¥याएको इन्जिनियर समेत रहेका रास्वपाका सांसद श्रीराम न्यौपानेले बताएका छन् । ’’पहिलो, पैदल आवतजावत गर्न सकिने बाटो निर्माण गर्नु आवश्यक रहेको छ,’’ उनले भनेका छन्,’’यसका लागि ब्लास्टिङ गरी फुट ट्रेल निर्माण गर्न सिफारिस गरिएको थियो। सोहीअनुसार त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट आवश्यक ब्लास्टिङ सामग्रीहरू चिलिमे पुगेको जानकारी प्राप्त भएको छ।”

लेदो हटाउने उपकरण भोलि पुग्ने उनको भनाइ छ । ’’सुरुङभित्र जमेको लेदो तथा अवरोध हटाउन मड पम्प, वाटर पम्पको प्रयोग आवश्यक देखिएको छ । यसका लागि आवश्यक तयारी पूरा भइसकेको छ र उपकरणहरू अहिले बिहानसम्म घटनास्थलमा पुग्ने जानकारी प्राप्त भएको छ,’’ न्यौपानेको भनाइ छ ।

आजसम्म विद्युत् लाइन समेत पु¥याउने तयारी नेपाल विद्युत् प्राधिकरणबाट भइरहेको छ । नेपाली सेना, भारतीय सेना र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको समन्वयात्मक प्रयासबाट करिब २५० मिटरमध्ये हालसम्म करिब १०० मिटर क्षेत्रमा पहुँच बनाउने कार्य सम्पन्न भएको उनको दाबी छ ।

सुरुङ प्रवेशद्वार अगाडि सानो हेलिकप्टर मात्र अवतरण गर्न सक्ने स्थान रहेकोले हाल आवतजावतका लागि हेलिकप्टर नै एकमात्र विकल्प रहेको अवस्था छ । बढीमा तीन दिनभित्र चिलिमेमा उद्धार सक्ने उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top