२४ भदौ , काठमाण्डौ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र विध्वंसबारे निष्पक्ष तथा स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जारी प्रेस वक्तव्यमा प्रचण्डले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्।

उनले जेन–जी आन्दोलन युवाको अभिव्यक्ति स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्धको असन्तुष्टिबाट सुरु भएको उल्लेख गर्दै आन्दोलनलाई हिंसा र विध्वंसमा परिणत गर्ने पक्षको छुट्टै अनुसन्धान हुनुपर्ने बताएका छन्।
दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै घटनामा संलग्न सबैमाथि अनुसन्धान र कारबाही गर्नुपर्ने प्रचण्डले बताएका छन्।
उनले जेन–जी आन्दोलनले खोजेको परिवर्तन अझै पूरा नभएको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताजस्ता उपलब्धि कमजोर पार्ने प्रयासको प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
प्रचण्डले लोकतन्त्रको कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु भएको भन्दै शान्ति, संविधान र लोकतन्त्र पक्षधर शक्ति तथा युवालाई एकताबद्ध हुन अपिल गरेका छन्।




