२५ भदौ , काठमाण्डौ ।
उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा दिएकी छिन् । पछिल्लो समय खाना पकाउने ग्यास अभावका कारण उनी दबावमा दिइन् । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्। प्रधानमन्त्री बालेन शाहको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार उद्योग मन्त्रीबाट राजीनामा आएको हो।
‘उद्योग मन्त्रीज्यूले राजीनामा दिएको छ,’ उनले भने। आजै नेपाल जेन–जी फ्रन्टले उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा माग गरेको थियो । फ्रन्टले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवलाई पदबाट राजीनामा दिन आग्रह गरेका हो । फ्रन्टले पछिल्लो ४–५ महिनाको अनुभवबाट आफूहरूलाई लाचार र छुद्र नभई जिम्मेवार तथा जवाफदेही मन्त्री आवश्यक रहेको निष्कर्षमा पुगेको जनाएको छ ।

‘अब तपाईं राजीनामा दिनुस् मन्त्री गौरीकुमारीज्यू । यो ४–५ महिनामा हामीले मज्जाले बुझ्यौँ– हामीलाई लाचार र छुद्र मन्त्री चाहिँदैन, जिम्मेवार र जवाफदेही सेवक मन्त्री चाहिन्छ,’ विज्ञप्तिमा भनिएको छ । जेन–जी फ्रन्टले सरकारका मन्त्रीहरूले आफ्नै कमजोरी लुकाउन विभिन्न पक्षलाई दोषारोपण गरेको आरोप लगाएको छ ।
फ्रन्टले कर्मचारी, व्यवसायी, पत्रकार, राष्ट्रियसभा, विपक्षी दल र ३५ वर्षभन्दा माथिका पुस्तादेखि जनतासम्मलाई दोष लगाउने काम मन्त्रीहरूले गरेको दाबी गरेको छ । ‘कर्मचारी, व्यावसायी, पत्रकार, राष्ट्रियसभा, विपक्षी, ३५ वर्ष, जनता सबैलाई दोष लगाएर सरकारका मन्त्रीहरूले भ्याइसके,’ विज्ञप्तिमा भनिएको छ, ‘अब पनि आफ्नै अक्षमतालाई लुकाउन अझै क–कसलाई दोष दिने हो सरकारका मन्त्रीहरूले ? सरकार गठन भएको महिनौँ बितिसक्दा पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको फ्रन्टको आरोप छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उदयपुरे सांसद पारसमणि गेलालले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा मागेका छन् । राजीनामा दिन सुझाउँदै उनले मन्त्री यादव लक्षित पोष्टमा लेखेका छन्, ‘होइन यो मन्त्री पदमा के त्यस्तो छ,जो नि टाँसिन मात्र खोज्छन्,२००७ सालदेखि आजसम्म तेस्तै छ ।’ सांसद गेलालले कर्मचारीलाई दोष दिने,आफू चोखो बन्ने र व्यवसायीलाई तथानाम भन्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
आफूले नसकेको भन्दै राजीनामा दिन खोज्दासमेत रोकिएको मन्त्रीको दाबीप्रति सुझाव दिँदै, ‘आफ्नो अक्षम्यताको दोष अन्यत्र नथोपर्न’ सुझाव दिएका छन्। मन्त्रीहरूले आफ्नो असक्षमताको दोष अरूमाथि थोपर्नु र कुर्सीमा टाँसिनुभन्दा मार्ग प्रशस्त गर्नुपर्ने धारणा उनको छ ।
लेखेका छन्, ‘दोष कर्मचारीलाई दियो, आफू चोखो बनो,व्यवसायीलाई तथानाम भनो अनि मैले सकिन भनेर राजिनामा चाँहि दिन के ले रोकेको छ ? माननीय मन्त्रीज्यूहरु आफ्नो अकर्मन्यताको दोष अन्यत्र नथोपरौं । आफ्नो असक्षमताको दोष अन्यत्र नथोपरौं । आफ्नो असमक्षताको दोष थोपरेर कुर्सीमा टाँसिनुभन्दा मार्ग प्रशस्त गरौं ।’
काठमाडौं उपत्यकामा लामो समयदेखि खाना पकाउने ग्यासको अभाव छ । सरकार र नेपाल आयल निगमले आवश्यक माग भन्दा बढी ग्यास नै भारतबाट आयात भइरहेको दाबी गर्दै अधिक भण्डारण नगर्न पटक पटक आग्रह र चेतावनी दिँदै आएका छन् । तर संघीय राजधानीमा अझै ग्यासको आपूर्ति सहज हुन् सकेको छैन् ।
यसबाट सबैभन्दा हैरान देखिएकी छिन् उद्योगमन्त्री गौरी कुमारी यादव । ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल भइरहेका बेला उद्योगमन्त्री यादवले व्यवसायीप्रति लक्षित गर्दै पाता फर्काउनु पर्ने अभिब्यक्ति दिएकी थिइन । उनको यही अभिव्यक्तिलाई लिएर एलपी ग्यास उद्योगीहरू असन्तुष्ट बनेका छन् ।
मन्त्रीले उद्योगीहरूलाई ‘पाता कस्ने’ तथा उद्योगको लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका हुन् । ग्यास आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमसँग उद्योगीहरू बजारमा आपूर्ति कसरी नियमित गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए । सोही क्रममा उद्योग समितिको बैठकमा मन्त्री यादवले व्यवसायीप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएको उद्योगीहरूको भनाइ छ ।
व्यवसायीहरूले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधानका लागि सरकार र उद्योगीबीच सहकार्य र समन्वय आवश्यक रहेको अवस्थामा मन्त्रीबाटै धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नभएको बताएका छन् । उनीहरूले मन्त्रीको अभिव्यक्तिले व्यवसायीलाई निरुत्साहित बनाएको समेत बताएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले मन्त्रीको अभिव्यक्तिप्रति व्यवसायीहरूको गम्भीर आपत्ति रहेको बताएका थिए । उनका अनुसार मन्त्रीले प्रयोग गरेको ‘पाता कस्ने’ शब्द फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत जानकारी गराइएको छ ।
‘ग्यास आपूर्तिको समस्या समाधान गर्नुपर्ने बेलामा व्यवसायीलाई धम्की दिने काम भयो । हामीले प्रधानमन्त्री कार्यालयमा समेत टेलिफोन गरेर यस विषयमा जानकारी गराएका छौँ,’ घिमिरेले भने । उनका अनुसार उद्योगीहरू सरकारसँग टकरावमा जान नचाहे पनि व्यवसायीलाई अपमानित गर्ने तथा उद्योग बन्द वा लाइसेन्स खारेज गर्ने चेतावनी दिइएमा त्यसलाई सहज रूपमा स्वीकार गर्न नसकिने अवस्था रहेको छ ।
घिमिरेले मन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए व्यवसायीहरू थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिए । उनका अनुसार अहिलेको प्राथमिकता ग्यास आपूर्ति सहज बनाउनु भए पनि व्यवसायीलाई नै समस्याको मुख्य दोषी देखाएर धम्की दिने शैली स्वीकार्य नहुनेछ । ग्यासको आपूर्ति प्रभावित भएको अवस्थामा उद्योगीहरूले समेत विभिन्न व्यावहारिक समस्या झेलिरहेको बताएका छन् ।
यस्तो परिस्थितिमा सरकारको सम्बन्धित मन्त्रालय, नेपाल आयल निगम र व्यवसायीबीच समन्वय गरेर आपूर्ति व्यवस्थालाई नियमित बनाउनुको सट्टा आरोप–प्रत्यारोपको अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ । उद्योगमन्त्री यादवले संसदीय समिति बैठकमा हिजो ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरेर सरकारलाई असहयोग गरेको आरोप लगाउँदै हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने ठोकुवा गरेकी थिइन् ।
‘हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन,’ उनले भनिन्, ‘धेरैमा दुईवटा भए पुग्छ। सबै खारेज गर्नुपर्छ।’ उद्योग समितिको बैठकमा निजी ग्यास उद्योगीहरूले सरकार र नेपाल आयल निगमलाई नटेरेको उनको आरोप छ ।
उनले अहिलेको सरकार बलियो हुँदाहुँदै पनि कर्मचारीतन्त्रकै कारण आफूले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो गरिन्। कर्मचारीको सहयोगबिना मन्त्री वा सरकारले मात्रै सुधार गर्न नसक्ने उनको भनाइ थियो। ‘मलाई कर्मचारीहरूले यति दुःख दिएका छन् कि म केही पनि गर्न सक्दिनँ, त्यस्तो अवस्थामा पु¥याएको छ,’ उनले भनिन्।
‘यहाँ उद्योगधन्दा खोल्ने वातावरण छैन, किनभने उद्योगीहरूको हिसाबले यहाँ बनाइएको छ, सबै नियम–कानुन त्यसरी छ,’ उनले भनिन्। आफूले उद्योग क्षेत्रका विद्यमान व्यवस्था परिवर्तन गर्न खोज्दा उद्योगीबाटै विरोधको सामना गर्नुपरेको पनि मन्त्री यादवले बताइन्। आफूलाई उद्योगीहरूले ‘टार्गेट’ बनाएको दाबी गर्दै उनले सुधारका प्रयासमा कर्मचारीको सहयोग अपरिहार्य रहेको बताइन्।
उनले कर्मचारीतन्त्रमा रहेको दक्षता र क्षमतालाई सही दिशामा परिचालन गर्न सके मुलुकले ठूलो फड्को मार्न सक्ने धारणा राखिन्। ‘तपाईंलाई साथ दिँदैन त्यहाँ। एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न। यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ,’ उनले भनिन्।
यता कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो ।
नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको छ । जसमध्ये एचपी एक हजार २१३ सिलिन्डर, नेपाल ग्यास एक हजार ६७८ सिलिन्डर, गीता १४० सिलिन्डर र सागर एक हजार ५१२ सिलिन्डर छन् । यस्तै, नोबेल ग्यास उद्योग धनुषाबाट सागर उद्योगका पाँच हजार ६१८ सिलिन्डर भरी काठमाडौँ पठाइको नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिए ।
ग्यास वन (एनएल) उद्योग बाराबाट सीताश्री उद्योगको एक हजार ६०९ सिलिन्डर, जगदम्बा ग्यास उद्योग बाराबाट मेट्रो एसटिसी र सूर्य उद्योगका दुई हजार १२१ सिलिन्डर, लियो ग्यास उद्योग बाराबाट उग्रचण्डी र श्रीमाया गरी तीन हजार १८१ सिलिन्डर, अम्बर ग्यास उद्योग बाराबाट सिद्धार्थ र मेट्रो एसटिसी गरी एक हजार ९२ सिलिन्डर भरी काठमाडौँ पठाइएको छ ।
उनका अनुसार सुपर ग्यास उद्योग पर्साबाट हिमाल कम्पनीको ६६३ सिलिन्डर, मनोज ग्यास उद्योग पर्साबाट उग्रचण्डी र मेट्रो एसटिसी गरी एक हजार ३७ सिलिन्डर, सहारा ग्यास उद्योग मकवानपुरबाट एभरेष्ट र सुगम गरी सात हजार ८७७ सिलिन्डर,। नेपाल ग्यास उद्योग गण्डकी चितवनबाट एपी, नेपाल र गीता उद्योगका सात हजार ३४८ सिलिन्डर भरेर उपत्यका पठाइएको हो ।
साइबाबा ग्यास उद्योग चितवनबाट श्रीकृष्ण र साइबाबा उद्योगका पाँच हजार ३३७ सिलिन्डर, बाबा ग्यास उद्योग चितवनबाट श्री ग्यासका आठ हजार ७१६ सिलिन्डर भरेर काठमाडौँ पठाइएको उनले जानकारी दिए। यस्तै, नवलपुरमा रहेको जानकी ग्यास उद्योगले श्रीराम र ओम उद्योगका दुई हजार ६४२ सिलिन्डर र नवलपरासीमा रहेको चण्डेश्वरी ग्यास उद्योगले सागर उद्योगका एक हजार ६८५ सिलिन्डर भरेर काठमाडौँ पठाएका छन् ।
उपत्यकामा ग्यासको अभाव नहोस् भनेर बुलेट जान नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डर भरेर पठाउन थालिएको हो ।




