काठमाडौं । अवकाशको चार दिन मात्र बाँकी रहेका जिल्ला न्यायाधीश हिमलाल बेलबासेलाई न्याय परिषदले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। बेलबासे असोज ४ गते ६३ वर्ष पुगेर अनिवार्य अवकाशमा जाँदै छन्। मंगलबार बसेको परिषद् बैठकले उनीसहित उच्च अदालतका तीन र जिल्ला अदालतका एक न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो।
वरिष्ठतामा १३औँ स्थानमा रहेका बेलबासे २०५२ सालमा न्याय सेवामा प्रवेश गरेका थिए भने २०७० सालमा जिल्ला न्यायाधीश बनेका थिए। जिल्ला न्यायाधीशका रूपमा १३ वर्ष काम गरिसकेका उनलाई अवकाशको मुखमा उच्च अदालतमा सिफारिस गरिएपछि न्याय क्षेत्रमा प्रश्न उठेको छ। बेलबासेले गत जेठ ८ गते रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सहकारी ठगी अभियोग कायम राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउन आदेश दिएका थिए। सोही आदेशसँग उनको नियुक्तिलाई जोडेर पनि प्रश्न उठाइएको छ।
न्याय परिषद्ले भने बेलबासेलाई सिफारिस गर्नुको आधार र कारण सार्वजनिक गरेको छैन। परिषद्का सचिव रामप्रसाद भट्टराईले निर्णयका आधार गोप्य हुने भएकाले थप जानकारी दिन नमिल्ने बताएका छन्।




