काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्। भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति नियमित गर्ने कामलाई प्राथमिकता दिँदै उनले भ्रमण रद्द गरेका हुन्।
क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, प्रभावित निजी ऊर्जा उद्यमीलाई सहजीकरण तथा विपद्पछिको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने भएकाले भ्रमण स्थगित गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठलाई सेप्टेम्बर १५ देखि १७ सम्म सियोलमा हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो। भ्रमणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते स्वीकृति दिएको थियो।



