विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

३१ भदौ ८३, बुधबार
Share this
719shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा केन्द्रित सर्वदलीय बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ।

Advertisement

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका शीर्ष नेता तथा प्रतिनिधि सहभागी थिए। सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी थिए।

बैठकले हाल कायम रहेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको छ। संयन्त्रको संयोजकको जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले सम्हाल्नेछन्। संयन्त्रमा सहभागी दलबाट शीर्ष तथा महत्वपूर्ण नेतृत्वको प्रतिनिधित्व रहने जनाइएको छ। त्यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न पहल गर्ने निर्णय भएको छ। भोटेकोशी विपद्बाट सिकेको पाठलाई आधार बनाउँदै भविष्यमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत मार्गचित्र र रणनीतिक कार्यढाँचा प्रदान गर्ने उद्देश्यले समिति गठन गर्न लागिएको हो।

Advertisement

समिति एक साताभित्र गठन गर्न पहल गर्ने निर्णय भएको छ। समितिले विपद्पछिको दिगो पूर्वाधार पुनर्निर्माण, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जलवायु कूटनीतिसम्बन्धी दीर्घकालीन कार्यदिशामा सरकार, संसद् र सरोकारवाला निकायबीच समन्वय गर्नेछ। त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानुनको समीक्षा गर्ने र आवश्यक नयाँ कानुन निर्माणका लागि संसद्मा पहल गर्ने जिम्मेवारीसमेत समितिलाई दिने निर्णय भएको छ।

समितिको गठन तथा आवश्यक व्यवस्थापनका लागि बैठकमा सहभागी सबै राजनीतिक दलका तर्फबाट सभामुख तथा संघीय संसद्समक्ष अनुरोध गर्ने निर्णयसमेत भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top