१ असोज , काठमाण्डौ।
विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्नसक्ने चेतावनी दिएको छ ।
डब्लुएमओका अनुसार सन् २०२५ विश्वका नदीहरूका लागि तीन दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो । गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ । पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावटसमेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ ।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु विशेष चिन्ताको विषय भएको बताए । उनका अनुसार यस्ता भण्डारले खडेरी वा सुक्खा मौसममा पानीको अभाव तत्काल संकटमा परिणत हुन नदिने ‘बचत खाता’ को काम गर्दै आएका थिए ।
‘अब हामी त्यो बचत खाता खाली गर्दैछौँ, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौँ’, उनले भने । सन् २०२५ मा विश्वका सबै क्षेत्रमा हिमनदीले लगातार चौथो वर्ष उल्लेख्य मात्रामा बरफ गुमाएका छन् । सन् २०२३ देखि २०२५ सम्म हिमनदीहरूले करिब एक हजार चार सय गिगाटन पानीबराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ ।
विश्वभर अनुगमन गरिएका करिब दुई तिहाइ कुवामा सन् २०२५ मा ऐतिहासिक अवस्थाभन्दा फरक स्थिति देखिएको साउलोले बताए । यसबीच एल निनोको सम्भावित प्रभावले पानीसम्बन्धी जोखिम अझ बढाउन सक्ने उनले चेतावनी दिए ।
करिब चार दशकयताकै शक्तिशाली एल निनो विकसित हुने अपेक्षा गरिएको भन्दै उनले यसका कारण केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्ने बताए । डब्लुएमओका अनुसार एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनेको थियो ।
सन् २०२५ पछिल्लो ३५ वर्षमा नदीहरूका लागि सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो । लगातार सातौँ वर्ष विश्वभर सामान्य नदी प्रवाह भएका जलाधारको सङ्ख्या अल्पमतमा रह्यो । प्रतिवेदनअनुसार करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य प्रवाह देखिएको थियो भने सोही अनुपातमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी प्रवाह थियो ।
डब्लुएमओले पानी चक्रको अवस्था बुझ्न र जोखिमको पूर्वानुमान गर्न थप गुणस्तरीय तथ्यांक तथा देशहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ । साउलोले पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्यांक, मापदण्ड र पूर्वचेतावनी प्रणाली आवश्यक रहेको बताए ।
उनले एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्ले अर्को देशमा समेत ठूलो क्षति पु¥याउन सक्ने उल्लेख गर्दै हालै चीन र नेपालमा देखिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । यता गत अगस्ट २६ मा नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी कुनै एउटै प्राकृतिक घटनाको परिणाम नभएको नयाँ वैज्ञानिक अध्ययनले निष्कर्ष निकालेको छ ।
२० भन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिकको टोलीले गरेको विश्लेषणअनुसार भूकम्प, हिमनदीमा आएको परिवर्तन, उच्च पहाडी क्षेत्रमा जमेको हिमचट्टान पग्लिनु र असामान्य रूपमा बढेको तापक्रमजस्ता धेरै प्रक्रियाले पहाडलाई कमजोर बनाउँदै लगेका थिए ।
अन्ततः लाङटाङ लिरुङ हिमालबाट ठूलो परिमाणमा चट्टान तथा हिमचट्टान खस्दा त्यसले अत्यन्त शक्तिशाली बाढीको लहर सिर्जना गरेको वैज्ञानिकहरूको भनाइ छ । यस घटनामा मानवसिर्जित जलवायु परिवर्तनले पनि महत्वपूर्ण भूमिका खेलेको उनीहरूले बताएका छन् ।
यो अध्ययन ‘वल्र्ड वेदर एट्रिब्युसन’ (डब्लुडब्लुए) सँग आबद्ध हिमनदी तथा जलवायु वैज्ञानिकहरूले गरेका हुन् । अध्ययनमा वैज्ञानिक विधि र पहिले प्रकाशित अनुसन्धानलाई आधार मानिएको छ । यद्यपि यस प्रतिवेदनको ‘पियर–रिभ्यु’ (समकक्षी समीक्षा) भने भइसकेको छैन ।
वैज्ञानिकहरूका अनुसार अगस्ट २६ को विपद् सुरु हुनुअघि नै लाङटाङ लिरुङ क्षेत्रमा पहाड कमजोर हुने प्रक्रिया लामो समयदेखि चलिरहेको थियो । सन् २०१५ को अप्रिलमा नेपालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले लाङटाङ क्षेत्रमा ठूलो प्रभाव पारेको थियो ।
उक्त भूकम्पपछि हिमालको दक्षिणी भागबाट चट्टान र बरफसहितको हिमपहिरो गएको थियो । त्यसले पहाडको भिरालो सतहलाई कमजोर बनाएको र त्यसयता सो क्षेत्रमा पहिरो जाने दरसमेत बढेको वैज्ञानिकहरूले उल्लेख गरेका छन् ।
तर, भूकम्प मात्रै पछिल्लो दुर्घटनाको एउटै कारण भने थिएन । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भइरहेका दीर्घकालीन परिवर्तनको पनि अध्ययन गरेका छन् । अध्ययनअनुसार जलवायु परिवर्तनका कारण हिमालयमा वायुमण्डलको शून्य डिग्री सेल्सियसको रेखा प्रत्येक दशकमा ३२० फिटभन्दा बढीले माथि सर्दै गएको छ ।
तापक्रम बढ्दै जाँदा नेपालका उच्च हिमाली क्षेत्रमा रहेको ‘पर्माफ्रस्ट’ अर्थात् लामो समयदेखि जमेर रहेको बरफ, चट्टान, बालुवा र माटोको मिश्रण पनि पग्लिन थालेको छ । ‘पर्माफ्रस्ट’ले पहाडका चट्टान तथा माटोलाई एक प्रकारले जोडेर राख्ने काम गर्छ ।
तर यो पग्लिएपछि चट्टानको मजबुती घट्छ र पानी पहाडभित्रका चिरा तथा दरारमा प्रवेश गर्न थाल्छ । यसले पहाडको भिरालोपनालाई थप अस्थिर बनाउने जोखिम हुन्छ । युट्रेच्ट विश्वविद्यालयका पर्वतीय जलविज्ञ वाल्टर इम्मरजिलका अनुसार ‘पर्माफ्रस्ट’ पग्लिँदा चट्टानको शक्ति घट्नुका साथै पहाडका भित्री भागमा पानी प्रवेश गर्ने अवस्था बढ्छ ।
वैज्ञानिकहरूले लाङटाङ–लिरुङ हिमनदीमा आएको परिवर्तनलाई पनि अर्को महत्वपूर्ण कारण मानेका छन् । पछिल्ला दशकमा उक्त हिमनदी उल्लेख्य रूपमा पातलिँदै र खुम्चिँदै गएको छ । विशेषगरी सन् २०१० पछि यसको परिवर्तन तीव्र भएको अध्ययनले देखाएको छ ।
हिमनदी पग्लिँदा निस्कने पानी चट्टानका प्राकृतिक दरारमा प्रवेश गर्छ । लामो समयसम्म यस्तो प्रक्रिया दोहोरिँदा चट्टान कमजोर बन्ने र भिरालो जमिन अस्थिर हुने सम्भावना बढ्छ । यसरी हेर्दा पछिल्लो घटना अचानक भएको जस्तो देखिए पनि त्यसका लागि पहाडमा लामो समयदेखि विभिन्न ‘पूर्वतयारी’ जस्ता प्राकृतिक तथा जलवायुसम्बन्धी प्रक्रिया चलिरहेका थिए ।
वैज्ञानिकहरूले पहाड भत्किनुअघिको मौसमको समेत अध्ययन गरेका छन् । गत वर्ष अक्टोबर र नोभेम्बरमा त्यस क्षेत्रमा असाधारण रूपमा धेरै हिमपात भएको थियो । त्यसपछि यस वर्षको जुलाई र अगस्टमा स्थानीय रूपमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रेकर्ड भयो ।
अत्यधिक हिमपातपछि असामान्य गर्मी हुँदा ठूलो मात्रामा बरफ पग्लिएको हुन सक्छ । त्यसबाट उत्पन्न पानीले पहाडका चिरामा प्रवेश गरेर पहिले नै कमजोर बनेको सतहलाई थप अस्थिर बनाएको वैज्ञानिकहरूको अनुमान छ ।
अध्ययनअनुसार जलवायु परिवर्तनका कारण उक्त क्षेत्रमा जुलाई र अगस्टको तापक्रम पहिलेको तुलनामा करिब १.५ डिग्री सेल्सियस बढी तातो भएको छ । त्यस्तै, उक्त क्षेत्रको वार्षिक औसत तापक्रम करिब २ डिग्री सेल्सियसले बढेको पाइएको छ ।
यो विश्वको औसत तापक्रम वृद्धिभन्दा निकै बढी हो । यद्यपि विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमपात र वर्षाको मात्रा कति परिवर्तन भयो भन्ने विषयमा वैज्ञानिकहरूले स्पष्ट सम्बन्ध स्थापित गर्न सकेका छैनन् । हिमालयको अत्यन्त जटिल भौगोलिक अवस्थाका कारण पर्याप्त मौसमसम्बन्धी तथ्यांक संकलन र निगरानी गर्न कठिन हुनु नै यसको मुख्य कारण हो ।
पर्वतीय जलविज्ञ इम्मरजिलले यसलाई हिमालयमा भएको ‘अभूतपूर्व विपद्’ भनेका छन् । वैज्ञानिकहरूको निष्कर्षअनुसार यो घटना आकार, गति र जटिलताका हिसाबले यस क्षेत्रले विगतमा सामना गरेका घटनाभन्दा निकै फरक थियो ।
यही कारणले हाल अस्तित्वमा रहेका कुनै पनि पूर्वसूचना प्रणालीले यस्तो घटनाका लागि पर्याप्त समयअगावै चेतावनी दिन नसक्ने निष्कर्ष उनीहरूले निकालेका छन् । जलवायु वैज्ञानिक तथा इम्पेरियल कलेज लन्डनकी प्राध्यापक फ्रिडरिके ओटोका अनुसार विपद्को पूर्वतयारीमा जलवायु परिवर्तनको भूमिकालाई बेवास्ता गर्न मिल्दैन ।
मानव गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जन तीव्र रूपमा घटाउन नसकिए यस्ता ठूला विपद्का घटना भविष्यमा अझ बढ्न सक्ने उनको भनाइ छ । ओटो भन्छिन्, ‘यो हामीले अड्कल काटेर सामना गर्न सक्ने क्षमताको सीमाभन्दा पूर्णतः बाहिरको घटनामध्ये एक हो ।’
विश्वले जीवाश्म इन्धनबाट हुने प्रदूषणलाई तीव्र रूपमा घटाउन नसकेमा यस्तै स्तरका अझ धेरै विपद् अनिवार्य रूपमा देख्नुपर्ने उनको चेतावनी छ ।




